दशैंको रमाईलो क्षण थियो । मूलघरमा हामी सबै साखासन्तान र परिवार उपस्थित भई रमाइ– रमाइ दशैं मनाउने तयारीमा थियौं । आफू परियो सानो मान्छे, धेरैबेरको कुराइपछि टीका थाप्ने पालो आयो । हजुरआमा थाल उठाउँदै र हजुरबा टीका औंलामा च्याप्दै हुनुहुन्थ्यो । टीका लगाउन शुरु भयो । मन्त्र सकिएपछि आशिर्वादको क्रम शुरु । ‘ठूलो, असल मान्छे हुनु । सबैको मान्नेगुन्ने हुनु । दिएर खान पुगोस् तर ढाँटेर,छलेर खान नपरोस् ।’ हजुरआमाले थप्नु भयो,‘शत्रु सबै मित्र बनुन्, बोलीले सबैको मन जित्नु तर धेरै बोल्छस् नेता चाहिं नबन्नु नि ।’ मग्न भएर आशिष थापिरहेको म एकाएक झसङ्ग भएँ। दुबै ओठ एकै ठाउँमा आएर जोडिए। खल्लोपन र खिन्नताले कताकता छोयो। बाँकी आशिष मलाई ख्याल भएन। म त्यही पछिल्लो वाक्यमै स्तब्ध हुन पुगे।
देश र सारा विश्व नै कोरोनाले आक्रान्त बनेको छ । हरेक दिन कुनै न कुनै घरको खाँबो भाँचिने गरेको छ । सिन्दुर मेटिने गरेको छ। साथ छुट्ने गरेको छ । टुहुरा हुनेको संख्या तीव्र छ। यसैबीच एकथरि महाशयहरुलाई भने अर्कै चटारो र तनावले घेरेको छ । महाशयका बस्ने कुर्सीका नट–बल्टु हराएका छन् । कुर्सीका खुट्टा भाँचिन शुरु भएका छन् र खाना खानलाई हात धुन पानी दिँदा ‘त्यो पर्दैन’ भन्दै आफ्नै प्रकारका औडा परेका छन् । समाजले बहिष्कार गरी गाउँ निकाला गरिएका ती छिमेकीले ढुङ्गाको खिचडी खुवाउँछु भन्दै महाशयका ढोकामा भारी बोकेर उभिएका छन् । गाँउका मुखियाका कानसम्म नाम पुग्ने भरियालाई त मुखियाले आफ्नो मान राख्नकै निम्ति भएपनि गाउँबाट पÞmर्काइदिए तर अरु फेरि सीमानामा छन् भन्ने गाउँका गुप्तचरले भनेको सुन्छु । गाउँमा रोग र भोकले गाँसको साथमा हावा समेत पाइन छोडेको छ । महाशयलाई भने ‘शपथ’ भन्ने झोल हो क्यार ! थपीथपी खान,खुवाउन हतारो छ ।
वर्षभरिमा गाउँका नानीहरुको परीक्षा फारम जति पटक खुले त्यो भन्दा दोब्बर पछिल्लो केही महिना यता गाउँले प्रमुखको पद परीक्षाको फारम खुलिसक्यो । फेरि गाउँमा रुढी आएर होला भोट हाल्न जान गाउँलेहरु नसकेर त्यहींमाथि भाइरसको डरले पनि छिमेकीसँग नबोली भोटै नहाली बसेका छन्। उता एकजना गाउँकै बादले भन्ने दाइलाई मुखिया बा र अरु गाउँलेहरु मिलेर पालैपालो उपहारै उपहार दिएर दाइलाई हैरान छ । ल हेर न फेरि, मेरो त यही बानी नै नराम्रो के ! बोल्दाबोल्दै धेरै बोल्छु । त्यत्तिकै त आशिर्वादमा मन्त्रीको कुरो कहाँ जोडिएर आएको हो त ।
म भन्दै र भन्न लागेको थिएँ, त्यो आशिर्वादले मलाई सार्है खिन्न बनाइरहेको छ । मैले र मेरै पालामा नगरे देशले सार्है दुख पाउँछ भनेर औधी चिन्ता गर्ने म लगायत म जस्ता औधी चिन्ताकर्तालाई त्यस्तो आशिर्वादले चस्का नपरोस् पनि कसरी ? जीवनमा आफ्नो प्रगति गरौँ नगरौं तर राजनीतिबाट देशको विकास र देशवासीको सेवा गर्ने रहर पालेका म जस्ता युवाले त्यो आशिर्वाद कहिले पाउने ? हामी सबैलाई थाहा छ कि हजुरबुवा–आमालाई उक्त आशिर्वाद दिनप्रति किन वितृष्णा वा डर छ भनेर । भुकम्प,बाढीपहिरो, सीमा विवाद चुनावको बहानामा अनेकन नाटक र ढोङ । अहिले कोरोनाको कहर लगायतका विविध अवस्थामा साथ र सहयोग चाहिने बेला कुर्सी र पद, भष्ट्राचार र अराजकताकै नालीमा डुबुल्की मार्न रुचाउने महाशयको व्यवहारले गर्दा आज मैले त्यो आशिर्वाद पाइरहेको छैन । खै ! त्यो कुर्सीमा पुगेपछि काम गर्न गाह्रो हो या कुर्सीको चरमानन्दले कामको ख्याल नहुने भएर हो ? कि कुर्सीका खुट्टा कुन बेला भाँचिन्छन् भन्ने डरले त्यसैको स्याहारसुसार र मर्मात सम्भारमा ध्यान दिंदादिंदैं समय नपाएर हो ? जे भएर भएपनि मेरो आशिर्वाद चाहिं नेपथ्यमै रहिरहेको छ।
म त्यो दिनको पर्खाइमा छु, जब मेरा अभिभावकले मलाई हृदयमा आशा,भरोसा, विश्वास र गर्व महसुस गर्दै हरेक पटक टीका लगाइदिंदा यो आशिष दिनुहोस्–‘मन्त्री बनेस् ।’ सँगैमा म यो पनि कल्पना गर्ने गर्छु कि मेरा सन्तानलाई पनि म कोहीको उदाहरण दिदै आशिर्वाद दिन सकुँ– ‘मन्त्री बनेस् ।’
लेखक ढुङ्गाना झापा अर्जुनधार–८ निवासी हुँन, उनि मेरो रेडियोमा कार्यरत छन् ।