Aamsanchar

झापाका पुराना उद्योगी प्रेमप्रसाद ढकालको निधन

Author Image
बुधवार, जेठ १९, २०७८

केही दशक अघिदेखि झापाको सदरमुकाम भद्रपुरबाट सेवा सञ्चालन गरेर सर्वाधिक चर्चा बटुलेको डाँफे यातायात सेवाको सञ्चालकमध्येका एक पुराना उद्योगी प्रेमप्रसाद ढकालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित ढकालको भद्रपुर ६ भानुनगरस्थित आफ्नै निवासमा गएराति १२ः३० बजे निधन भएको हो ।

पूर्वी पहाडी जिल्ला भोजपुरको याकुमा जन्म भई जीवनयापनका लागि झापा आएपछि ०३०–०४० को दशकमा केही नातेदार र साथीहरुका साथमा उद्योग क्षेत्रमा पदार्पण गरेका ढकालले त्यहीबेलादेखि यातायात क्षेत्रका साथै चिया, काठ उद्योगमा पनि लगानी गरेका थिए । झापा हल्दिबारीको डाँफे चिया उद्योगसँगै भारतको पानीटंकीमा बृहत समिल सञ्चालन गरेको ती उद्योगमा आफूहरुले पनि सहलगानी गरेको भद्रपुरका अग्रज उद्योगी एवम् झापा उद्योग संघका कार्यकारिणी सदस्य चण्डीप्रसाद पराजुलीले जानकारी दिए ।

झापाका सफल युवा उद्योगी एवम् समाजसेवी दिपेश ढकालका पुज्य पिता स्व. प्रेमप्रसाद ढकाल रेढक्रस, परिवार नियोजन संघजस्ता सामाजिक संस्थामा आबद्ध रही सामाजिक सेवाकार्यमा पनि सक्रिय थिए ।

स्व. ढकालका श्रीमती रुपादेवी, छोराहरु दिपक र दिपेश, छोरीहरु यसोदा, हरिकला, शशिकला र चन्द्रकला रहेका छन् । जेठा छोरा दिपक लामो समयदेखि वेलायतमा बस्दै आएका छन् ।

स्व. ढकालको बुधबार विहान भद्रपुर ७ स्थित देउनिया घाटमा वैदिक विधि अनुसार अन्त्ेष्टि गरिएको छ । अन्त्येष्टिमा सार्क चेम्बर आफ कमर्स एण्ड इण्डष्ट्रीका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालसमेतको उपस्थिति थियो ।

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर