Aamsanchar

इजरायल पठाइदिने भन्दै रकम ठगी गर्ने समूह सक्रिय

Author Image
बिहिवार, साउन २१, २०७८

इजरायलमा रोजगारीका लागि पठाइदिने बताउँदै आवेदकसँग रकम माग गरिएको घटना सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता अनाधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने भएको छ । इजरायलको रोजगारीका लागि छनोट प्रक्रियामा व्यक्ति तथा निजी क्षेत्रले समेत सम्झौता गरेको जनाउँदै अनधिकृत समूहले आवेदकबाट रकम असुल्न थालेपछि विभागले कारबाही गर्ने भएको हो ।

विभागले इजरायलको रोजगारीका लागि दुई सरकारबीच सम्झौता भई निजी क्षेत्रको संलग्नता नरहने जनाउँदै आइरहेका बेला व्यक्ति र समूहले रकम उठाएको विभागको भनाइ छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायलमा केयरगिभर छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनी आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको विषयप्रति विभाग संवेदनशील भएको बताए ।

रोजगारीका लागि इजरायल पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभागले आवेदन माग गरिरहेका बेला अनधिकृत तरिकाले युवा ठगी गर्न थालेका छन् । “इजरायलका स्याहार केन्द्रहरूमा पठाइने कामदारको छनोट प्रकृयामा कुनै पनि निजी क्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता रहने छैन, केवल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार छनोट गरिनेछ,” महानिर्देशक दवाडीले भने, “अंग्रेजी भाषाको परीक्षाबाट छनोट भएका मध्येलाई अन्तर्वार्तामा बोलाइने छ । अन्तर्वार्ताबाट छनोट भएपछि रोस्टरमा नाम समावेश गरी कामदार छनोटका लागि इजरायल पठाइने छ । कामदार छनोट प्रकृया पूर्णरूपले निष्पक्ष हुनेछ ।”

सरकार र इजरायली सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका केयरगिभर सेन्टरमा पठाइने नेपाली सहयोगी कामदार छनोटका लागि कुनै पनि व्यक्ति तथा निजी संस्थासँग सम्झौता नभएको तथा अनुमति प्रदान नगरिएको जनाउँदै रकम नदिन विभागले अनुरोध गरेको छ । विभागले कोही कसैले यस प्रकारको कृयाकलाप गर्ने प्रयास गरेको पाइए सोको प्रमाणसहित वैदेशिक रोजगार विभाग वा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनसमेत सुझाव दिएको छ । साथै कामदार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक योग्य आवेदकहरूलाई विभागको वेबसाइटमाफर्त तोकिएको म्यादभित्र आवेदन दिन सकिने जनाइएको छ ।

बुधबारसम्म १६ हजारभन्दा बढीले आवेदनका लागि आईडी बनाएका छन् भने २ हजार पाँच सयभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ । विभागका महानिर्देशक दवाडीले छनोट प्रक्रिया पारदर्शी बनाउन अनलाइन आवेदन माग गरिएको बताउँदै दुई देशबाहेक छनोट प्रक्रियामा अरुको सहभागिता हुन नसक्ने बताए । यसैगरी विभागले आवेदन दिएको व्यक्ति एकिन गर्न परीक्षा तथा अन्तर्वार्ताका क्रममा केन्द्रमा तौल र उचाइ परीक्षा गरिने योजना छ । निवेदकले पेस गरेको प्रमाणपत्रको प्रमाणीकरणका लागि अनुमति प्राप्त तालिम प्राप्त संस्थासँग तालिम लिएको रेकर्ड माग गरिने जनाइएको छ । सामाजिक संजालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा पास गराउनेसम्बन्धी अडियो सार्वजनिक भएपछि विभागले प्रष्ट पारेको हो । विभागले एक हप्ताअघि इजरायल जान इच्छुक एक हजार केयर गिभरका लागि आवेदन माग गरेको थियो । विभागले तालिम नै नलिई प्रमाणपत्र बनाउने संस्थाको समेत अनुगमन गर्ने भएको छ ।

आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले यो समाचार लेखेका छन् । 

कारोबारको समाचार लिंक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर