Aamsanchar

सिन्धुलीमाडी–बर्दिबास सडकमा घुम्तीपिच्छे पहिरो

Author Image
शनिवार, भदौ १२, २०७८

सिन्धुली । लगातारको वर्षापछि कमलामाई नगरपालिका–११ फाल्चुरीनजिक बिहीबार राति पहिरो खस्यो । पहिरो पन्छाएर शुक्रबार मध्याह्नबाट मात्रै एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

बीपी राजमार्गको दोस्रो खण्ड सिन्धुलीमाडी–बर्दिबास सडकमा घुम्तीपिच्छे पहिरो खसेको छ । स्थानीय सन्तोष कार्कीका अनुसार सिन्धुलीमाडीदेखि माइस्थानसम्मको ७ किलोमिटर क्षेत्रमा ठूला मात्रै तीन दर्जनभन्दा बढी पहिरो थपिएका छन् । ‘गडौली खोला कटेर बुका लाग्नासाथ पहिरो नझरेको ठाउँ भेट्न मुस्किल पर्छ,’ उनले भने, ‘माइस्थान मन्दिरसम्म सानाठूला गरी ७० वटा पहिरो खसेका छन् । लगातार ५–७ घण्टा पानी परेपछि पहिरो खस्न सुरु भइहाल्छ ।’ ग्वाङखोलाको किनारैकिनार सडक रहेकोले पहिरो खस्नासाथ डाइभर्सन बनाएर सवारी सञ्चालन गर्न सकिने अवस्था पनि छैन ।

बीपी राजमार्गअन्तर्गत ३७ किलोमिटर सडक खण्डको पुल र कजवे जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको हो । बाँकी संरचना नेपाल सरकारले नै बनाएको हो । पहिरो खस्ने, खहरेका कारण गेग्रान थुप्रिने र कालोपत्र नटिक्ने यो खण्डको विशेषता जस्तै भएको अर्का स्थानीय दिनेश रमौली बताउँछन् । भन्छन्, ‘हिउँदमा समेत पहिरो जान्छ । सडकमा खाल्डैखाल्डा छन् । खहरेको निकास हुने भागमा गेग्रान थुप्रिएको छ । थोरै पानी पर्दा पनि सडक अवरुद्ध भइहाल्छ ।’

कमलामाई–४ का कृष्णबहादुर कार्कीले सडक निर्माण गर्दा पहिरो नियन्त्रणको उपाय नअपनाइएकाले अहिले हिउँद–बर्खा दुवै याममा समस्या हुने गरेको बताए । कमलामाई–८ र ९ को भिमान क्षेत्रका खहरे उर्लिंदा लच्कामा ढुंगासहितको गेग्रान थुपार्दा पटक–पटक राजमार्ग अवरुद्ध हुने गरेको छ ।

यो समस्या मध्यपहाडी ९पुष्पलाल० राजमार्गमा पनि छ । गोलन्जोर गाउँपालिकाको हैबार, कालीआँप, कुखुरेटार, कुँडुले र सुम्नामबेसीमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ । ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्ड अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरू खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट काठमाडौं आवतजावत गर्ने सवारीसाधन सडकमै अलपत्र परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर