Aamsanchar

६५ वर्षमाथिका ४ लाख अझै खोपको दायरा बाहिर

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

काठमाडौँ । सरकारले विशेष रणनीति नअपनाउँदा कोभिड–१९ विरुद्घको खोप अभियान फितलो बन्दै गएको छ । असोज ११ मा ३ लाख १२ हजार ८ सय ७४ जनाले खोप लगाएकामा पछिल्लो दुई साता दिनमा औसत करिब ४७ हजार जनाले मात्र खोप लगाएका छन् ।

अहिलेको दरले आगामी चैतसम्म लक्षित समुदायको शतप्रतिशतलाई खोपको दायरामा ल्याउने सरकारको लक्ष्य पूरा नहुने विज्ञहरूले चेतावनी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ लाख १ हजार ४ सय ७५ जनाले खोप लगाएका छन् । १४ दिनयता सबैभन्दा कम कात्तिक ७ मा ७ हजार ५ सय ७६ जनाले खोप लगाएका थिए । ‘खोप लगाउने दरमा धेरै गिरावट देखिएको छ,’ खोप विज्ञ डा। श्यामराज उप्रेतीले भने, ‘खोपको महत्त्व बुझेकाहरूले फटाफट खोप लगाए, अरूलाई हामीले यसबारे शिक्षित गर्न सकेनौं ।’ खोपको फाइदा बुझ्न नसकेका वा खोप नलिने मनस्थितिमा रहेका समूहलाई सही ढंगले शिक्षित गर्न जरुरी रहेको उनले बताए ।

कोरोना खोप समन्वय समितिका सदस्य डा। जीडी ठाकुर सर्वसाधारणलाई खोपका लागि तयार पार्न मोबाइलमा रिङटोन बजाउनेबाहेक प्रभावकारी रणनीति सरकारले बनाउन नसकेको बताउँछन् । ‘सुरुमा खोप लिन मान्छे हच्किए तर महत्त्व बुझेपछि शिक्षित, जानकार वा फाइदा बुझ्न सकेकाहरू आफैं अगाडि आएर खोप लिए,’ उनले भने, ‘अब घरदैलोमा गई सर्वसाधारणको विश्वास जितेर कोभिडविरुद्घको खोप लगाउनुपर्छ । गहन रूपमा जनचेतना फैलाउनुपर्छ ।’ उनका अनुसार अमेरिकाजस्ता विकसित मुलुकमा समेत खोप लगाउनका लागि आम जनतालाई विभिन्न उपहार र पुरस्कारमार्फत प्रेरित गर्ने गरिएको बताए ।

बिहीबारसम्म नेपालमा १ करोड ५५ लाख २० हजार ८ सय ८० मात्रा खोप लगाइएको छ । कुल जनसंख्याको २२।६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् भने २८।५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् । मुलुकमा कोभिड खोपका लागि १८ वर्ष वा योभन्दा माथिको लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ । यसमध्ये ४३.४ प्रतिशतले कम्तीमा एक मात्रा खोप र ३४।५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

खोप अभियानअन्तर्गत ६५ वर्षमाथिकालाई खोप लगाउँदा त्यो बेला लक्षित समूह १८ लाखमध्ये १४ लाखले मात्र लगाएका थिए । ‘खोप लगाउन बाँकी रहेका ४ लाख ज्येष्ठ नागरिकले खोप पाए वा पाएनन् थाहा छैन । ४० वर्षदेखि ५५ वर्ष उमेर समूहमा पनि यस्तै हालत छ,’ डा. उप्रेतीले भने ।

खोप लगाउने प्रक्रियालाई सरलीकृत र व्यापक बनाइएको खण्डमा खोप अभियान सघन बन्ने उनी बताउँछन् । ‘खोपको माग र वितरणमा तुरुन्त सुधार गर्नुपर्‍यो,’ उनले भने, ‘जोखिममा भएकाहरूले खोप लिन आउनुपर्ने वातावरण बनाउनुपर्‍यो । आम व्यक्ति स्वस्फूर्त रूपमा खोपका लागि आउने अवस्था राज्यले बनाउनुपर्‍यो ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारी भने आगामी दिनमा खोप लगाउनेको संख्या बढ्दै जाने दाबी गर्छन् । हालसम्म अनुदान र खरिद गरेर १ करोड ९९ लाख ७९ हजार ३ सय ३० मात्रा खोप आइसकेको छ । आएका खोपमध्ये १ करोड ३० लाख २० हजार मात्रा खरिद गरिएको छ भने ६९ लाख ५९ हजार ३ सय ३० मात्रा अनुदान सहयोगमा प्राप्त गरिएको छ । भित्रिएका खोपमा कोभिसिल्ड, जापानी अस्ट्राजेनेका, स्विडिस अस्ट्राजेनेका, भेरोसेल, जानसेन र फाइजर छन् । डा. अधिकारीका अनुसार थप २ करोड ४० लाख ५८ हजार १ सय ४० मात्रा खोप आउने ‘पाइपलाइन’ मा छ ।

कान्तिपुर दैनिकबाट अतुल मिश्रले लेखेको समाचारलाई साभार गरिएको ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)