Aamsanchar

नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन

Author Image
शनिवार, कार्तिक १३, २०७८

कञ्चनपुर । नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन भएको छ । कोरोना संक्रमणको महामारी सुरु भएयता उक्त बस सेवा झन्डै डेढ वर्षदेखि बन्द थियो । भारतको उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट शुक्रबार बिहान यात्रुसहित महेन्द्रनगर आइपुगेको छ । यात्रु, चालक र सहचालक सबैलाई स्वास्थ्य जाँचको मापदण्ड पूरा गरेर भित्र्याइएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्तले बताए ।

नेपाल–भारत मैत्री सेवाअन्तर्गत दिल्लीबाट महेन्द्रनगर आएको बस शुक्रबार गड्डाचौकी नाकामा ।
नेपालीको हकमा नाकामै रहेको सुविधाअनुसार एन्टिजेन परीक्षण गराउनुपर्छ । भारतीयले ७२ घण्टाभित्रको पीसीआर परीक्षणसँगै दुवै डोज खोप लगाएको हुनुपर्ने कागज देखाउनुपर्छ । यसैगरी भारतीय सवारीसाधन भन्सार तिरेरमात्रै नेपाल प्रवेश गर्न पाउँछन् । ‘भारतीय गाडीहरू चल्न थाले, अब हामीले पनि यताबाट एकरदुई दिनमै दिल्ली र देहरादुनका लागि बस सञ्चालन गर्छौं,’ अध्यक्ष पन्तले भने, ‘लामो समयको प्रयासपछि सेवा पुनः सुरु भएको छ, यसलाई निरन्तरता दिनेतर्फ लाग्छौं ।’

कोरोना संक्रमणअघि महेन्द्रनगरबाट दिल्ली र देहरादुनसम्म नौवटा बस नियमित चलिरहेका थिए । २०७६ चैत १० देखि मैत्री सेवा बन्द भएको थियो । पहिलो लहरको संक्रमण फैलिँदा नाका बन्द भएसँगै बस सेवा बन्द भएको हो । त्यतिबेला महेन्द्रनगरदेखि दिल्लीसम्म ६ र महेन्द्रनगरदेखि देहरादुनसम्म ३ बस दैनिक चल्ने गरेका थिए । महाकाली र पवनदूत यातायात प्रालिहरूले भारतको उत्तराखण्ड परिवहन निगम र उत्तर प्रदेश परिवहन निगमसंँग नेपाल–भारत बस सेवा सञ्चालन गर्ने सम्झौता गरेका छन् ।

पछिल्लो पटक असोज १० को मन्त्रिपरिषद् निर्णयअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेर बस सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष पन्तले बताए । भारतीय बसहरू भन्सार शुल्क तिरेर नेपाल प्रवेश गर्ने भए पनि नेपाली बसको हकमा भने भारतीय दूतावासबाटै रुट परमिट लिएर सञ्चालन हुनेछन् । भारतीय दूतावासबाट रुट परमिटको प्रक्रिया अघि बढेकाले छिट्टै बस सञ्चालन हुने अध्यक्ष पन्तले बताए । कोरोना संक्रमणका कारण सेवा बन्द हुँदा उक्त रुटमा चल्ने बसहरू थन्किएका छन् ।

‘डेढ वर्षदेखि बसहरूमा खिया लागेको छ,’ यातायात व्यवसायी नवीन भट्टले भने, ‘अब मर्मत र सरसफाइमा लागेका छौं ।’ दिल्ली र देहरादुन चल्ने एक दर्जन बस कोरोना संक्रमण सुरु भएदेखि ठप्प छन् । ‘मैत्री बस चल्ने भएपछि नेपालीसँगै अरू पर्यटकका लागि पनि सजिलो हुनेछ,’ यातायात व्यवसायी भट्टले भने, ‘सीमावर्ती क्षेत्रमा यातायातका सवारीसाधनमा हुने लुटपाट तथा बढी भाडा लिने घटना पनि कम हुनेछन् ।’ महेन्द्रनगरदेखि बनबासासम्म साना खालका सवारीसाधनमा यात्रुले चर्को भाडा तिर्नुपरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर