कोई त भने जहाज मा सरर.. कोईको भने पसिना तरर.. सानैमा कतै सुनेको नेपाली गीतमा भने झै चाड पर्वहरूमा कसैले नया गाडी किनेर, कसैले नया ब्राण्डेड फेसन पहिरन त कसैले नया गरगहनाहरू सामाजिक सञ्जालमा प्रदर्शन गरेको धेरै भेटिन्छ । साथ साथै सोचनीय यथार्थ को अर्को पाटो हामीले मनन् गर्नु पर्छ की यस्तै प्रदर्शनको होडबाजी मा हामी फजुल खर्च लाई प्रोत्साहन त गरी रहेका छैनौं ?
अचेल त अझ नया नया प्रदर्शन को बिरूपता देखिन थालेका छन् । आफ्ना शिशु कक्षाका बच्चाहरूको प्राप्ताङ्कको पोष्ट, डि भि परेको, रेष्टुराँमा महँगा पेय पदार्थ सहित को पोष्ट, चिनजान वा आफन्त ठुलो नेता/मन्त्री हुदा संगै खिचेको फोटोसहित को पोष्ट, ईत्यादि को लिष्ट लामै छ । यहा भन्न खोजेको तथ्य सक्नेले खर्च नगर्नु वा शौखहरू पुरा नगर्नु भन्ने होइन तर त्यसको सार्वजनिक प्रदर्शनवादको असर प्रतिको मात्र बिमति को रूपमा बुझिदिनु होला। एकचोटि सोच्नुहोस् त, कति जनामा त हीनताबोध हुन सक्छ की फलाना वा फलानीको जस्तो मैले गर्न सकिन भन्ने ।
हामी सबै बस्ने यो समाजमा हाम्रा बैदिक रीतिथितिअनुसार सुसंस्कृत रूपमा चाडपर्व मनाऔं, आ-आफ्नो गच्छे अनुसार धर्म संस्कार मा रमाऔं । अरूको देखासिकी गरेर आफुमा हीनताबोध हुन नदिऔं । सोचौं त, शुरुवातदेखि नै हाम्रो ग्रहमा बस्ने सबै कोही पनि तपाईं जस्तो छैनन् ! तपाई तपाई जस्तो हुनु कति सुन्दर आश्चर्यको कुरा हो ! कसैमा पनि प्रतिभा, क्षमता, दुःख र अवसरको समान संयोजन हुँदैन । कसैसँग तपाईको जस्तै साथीहरू, परिवार वा परिचितहरू छैनन् । कसैको औंलाको छाप, ऑखाको रेटिना उस्तै हुँदैन । तपाईं आफैंमा अद्वितीय हुनुहुन्छ ! आफूमा भएको यो विशिष्टतालाई स्वीकार गर्नुहोस् र यसको आनन्द लिनुहोस् । तपाईं अरूले अपेक्षा गरेको जस्तो बन्नु पर्दैन । अरूभन्दा फरक हुन नडराउनुहोस् । तपाईजस्तो अर्को कोही छैन र यसलाई एक विशिष्ट उपहार सम्झिनुहोस् ।
तपाईंको मुस्कान कसैले हाँस्न सक्दैन । तपाईंले कसैमाथि पारेको बिभिन्न प्रकारको अद्वितीय प्रभाव अरु कसैले पार्न सक्दैन । तपाईंको आफ्नै शैलीको आनन्द लिनुहोस् र स्विकार्नुहोस् की तपाईं आफू अद्वितीय हुनुहुन्छ ताकि सबैले स्व-स्फुर्त रूपमा भनुन् “वाह ! क्या मज्जाको मान्छे ।
“(दशै, तिहार, छठ, क्रिशमस, ल्होसार , ईद ईत्यादि अनेक चाडपर्वहरूमा हर्षोल्लासका साथ रमाउन चाहने सबै तह र तप्का का सम्पूर्ण सहृदयी आफन्त, शुभेच्छुकजनहरू प्रति शुभकामना सहित समर्पित)