Aamsanchar

‘सकारात्मक सोच नै मानिसलाई खुसी बनाउने औषधी हो’

Author Image
आइतवार, मंसिर १२, २०७८

जीन्दगी नदीजस्तै हो, निरन्तर बगिरहन्छ। विभिन्न चुनौतीको सामना गर्दै जसरी नदी कहिले चट्टानसँगै ठोक्किदै बग्छ, कहिले माटोसँगै बग्छ त्यसैगरी नै जीन्दगी पनि अघि बढिरहन्छ विभिन्न समस्यासँग जुझ्दै, विभिन्न चुनौतीलाई स्वीकार गर्दै। नदीले जेजसरी भएपनि आफ्नो बाटो आफै बनाएजस्तै जीन्दगीले पनि कुनै न कुनै बाटो त भेटाउँछ नै मानिसले दुःखमा कहिल्यै आत्तिनु हुँदैन्।

यो धड्कन नरोकिन्जेल मुटुसँगसँगै धड्कीरहनुछ, जीन्दगीका पाइला अगाडि बढाइरहनुछ। नदीजस्तै हरेक चुनौतीको सामना गर्दै बग्नुछ निरन्तर अटुट रुपमा। सकारात्मक सोचले जीन्दगी सुन्दर बनाउँछ। अरुलाई सहयोग गर्ने परोपकारी मनहरु सधै खुसी हुन्छन्, स्वार्थी मनहरु त सँधै दुःखी आत्मा हुन्।

जीन्दगीमा अरुको लागि हामी कहिल्यै कुनै पनि काम लाग्दैनौं भने हामी जतिसुकै पढेलेखेको भएपनि, जतिसुकै ठूलो पदमा जागिर खाएपनि त्यस्तो जीन्दगी वास्तवमा मानवरुपी सुन्दर जीन्दगी हुनै सक्दैन्।

मानिसले आफ्नो मात्रै भलाई सोच्ने हैन, अरुको पनि भलाई सोच्नुपर्छ। आफ्नो खुसीमा आफै ताली बजाउन सकिएला तर अरुले आफ्नो खुसीमा ताली बजाइदिदा जति मजा आउँछ एक्लैले ताली बजाउँदा आउँदैन। वास्तवमा अरुको मन जित्न सक्नेले नै संसार जित्न सक्छ। अरुलाई ढाँटेर जिएको जीन्दगी पनि के जीन्दगी, अरुलाई ढाँटेर जिउनेले आफैलाई पनि ढाँटेको हुन्छ।

अरुलाई लुटेर रमाएको जीन्दगीमा कसैको सीमित आवश्यकता पूरा होलान् तर त्यसले उसको आत्मा कहिल्यै सन्तुष्ट हुन सक्दैन। जीन्दगीको मजा त तब आउँछ जब खुलेर जिइन्छ, जब जीन्दगी अरु कसैका लागि पनि जिइन्छ। सकारात्मक सोचले भरिएको जीन्दगी, एक इमान्दार जीन्दगी नै वास्तवमा सुन्दर जीन्दगी हो।

सकारात्मक सोच्ने मान्छेले जिन्दगीमा कहिल्यै विचलित हुनु पर्दैन। उ बांगोटिंगो, घुम्ती मोडको जीन्दगीको गोरेटोमा अल्मलिन सक्छ कतै तर उ एकदिन गन्तव्यमा अवश्य पुग्छ। जीन्दगीको गोरेटोमा मान्छेहरु अक्सर ठक्कर खान्छन् ठक्कर खानुका आ-आफ्नै कारण हुन सक्छन्। तर आफ्नै नकारात्मक सोचका कारणले पनि उसलाई झनै दुखी बनाएको हुन्छ। अन्य अर्थ नलागेमा एउटा थालमा राखिएको भात, दाल, तरकारी, चटनीमध्ये मानौं भात दुख हो जो धेरै हुन्छ, चटनी खुसी हो जो थोरै हुन्छ। भन्नुको मतलब तुलनात्मक रुपमा जीन्दगीमा दुःखको मात्रा सुखभन्दा निकै कम छ। त्यसैले थोरै खुसीलाई चिनेर सेलिब्रेट गर्न सक्नु नै जीन्दगीमा खुसी हुनु हो।

हामीले जीन्दगीका थोरै खुसीलाई चिनेर आफ्नै हिसाबले सेलिब्रेट गर्न सक्नुपर्छ। सही समयमा सही ठाउँमा सही चीजसँग त्यसको भरपुर उपयोग गर्न जानेमा मात्र जीन्दगीमा खुसी मिल्छ। जसरी थोरै मात्र चटनीको साथले गर्दा पूरै भोजन स्वादिलो लाग्छ। त्यसरी नै हामीले ससाना खुसीका क्षणहरुलाई मनाउन सक्यौं भने त्यसले खुसी सिर्जना गर्न मद्धत मिल्छ। कुनै अपवाद बाहेक खुसी हुने र दुखी हुने कारण त हाम्रै हातमै त छ।

सकारात्मक सोच नै मानिसलाई खुसी बनाउने औषधी हो। खुसी पनि हाम्रो सोच, दृष्टिकोण र बानीमा भर पर्ने कुरा न हो। खुसी मनाउने कुरा हो, खुसी सिर्जना गर्ने कुरा हो। हामीले साथीभाइसँग सामान्य कुराकानीका क्रममा पनि कुनै मीठो प्रसंग आउँदा उपस्थित सबैको ओठमा मुस्कान फुल्न सक्छ। त्यसैले साथीभाइसँगको कुराकानीमा पनि मीठो प्रसँग ल्याएर सम्बन्ध पनि मीठो बनाउनुपर्छ। अरुका नमीठा प्रसंग घुसारेर आजकलको व्यस्त जीवनमा संयोगले जुरेको साथीभाइसँगको भेटलाई नमज्जा बनाउनु हुँदैन्। अरुको कुरा काट्नु भनेकै आफ्नै खुट्टा तान्नु हो। आफैलाई पछाडि धकेल्नु हो। अरुको नजरबाट आफू तल खस्नु हो। बरु कुरा गर्नै पर्ने भए साथीभाइसँगको भेटमा कसै अरुको पनि राम्रै कुरा गर्न उचित हुन्छ।

त्यसले आफ्नै शरीरमा पनि सकारात्मक तरंग ल्याउँछ। यसले गर्दा अरुले हामीलाई हेर्ने नजर पनि सकारात्मक बन्छ।आजकल मान्छेहरु पैसा भएपछि सबथोक किन्न सकिन्छ भन्छन् तर सबथोक किन्न सकिदैन। यो त भौतिकवादी मान्छेहरुको सोचाई मात्रै हो, एक भ्रम हो। केही भौतिक चीजहरु किन्न सकिएला तर सबैथोक किन्न सकिदैन पैसाले।

खुसी किन्न सकिदैन पैसाले। तपाई खुसी केलाई मान्नुहुन्छ, त्यो तपाईको विचारमा भर पर्छ। तर वास्तविक खुसी मानिसको भावनामा हुन्छ। भौतिक चीजमा छैन्। पैसा त साधनमात्रै न हो, सबैभन्दा खुसी हुनलाई त मन खुसी हुनुपर्छ। यदि भौतिक प्राप्तीमा नै खुसी मिल्ने भए किन धनी मानिसहरु दुःखी छन् संसारमा।

जीन्दगीलाई सुन्दर र खुसी बनाउने सबैथोक कहाँ किन्न सकिन्छ र१ केही यस्ता चिज पनि छन् जो पैसाले किन्न सकिन्न। त्यो चिज हो माया, स्नेह, सम्मान, इज्जत इत्यादी। संसारमा ती मानिस मात्रै सबैभन्दा बढी खुसी मान्छे हुन्। जसले निश्चल माया, स्नेह, हृदयदेखिकै सम्मान, र छलकपट बिनाको इज्जत पाएका छन्। सम्मानजनक, इज्जतदार, इमान्दार जीन्दगी जिउनुको शान छुट्टै हुन्छ।

आगामी दिन जेजसो होला सामना गरौंला, समयभन्दा अगाडि कसैले केही पाउन सक्दैनन्। जे हुन्छ त्यसको बेला आएपछि मात्रै हुन्छ। मान्छेले आत्तिनु हुँदैन कहिल्यै, जीन्दगी संघर्ष हो, स्वीकार्नै पर्छ, जीन्दगी चुनौती हो सामना गर्नैपर्छ।

जीवनमा आशावादी हुनुपर्छ, हरेक दिनपछि रात पनि हुने गर्छ सधैँ एकैनास समय त कहाँ हुन्छ र१ यद्यपि सफलताका लागि मेहनत भने निरन्तर जारी राख्नै पर्छ। अहिले पढाईलेखाई गरेरपनि बेरोजगार रहेका युवा साथीहरुलाई भन्छु, कृपया नआत्तिनुस, बेरोजगार छु भन्दैमा जीवनको आशा नमार्नुस, हरेस नखानुस, आशावादी हुनुस, सकारात्मक सोच्नुस।

बितेका नराम्रा कुराहरु बिर्सीदिनुस, वर्तमानका महत्वपूर्ण र सान्दर्भिक कुराले मात्रै जीन्दगीमा अर्थ राख्छ। त्यसैले वर्तमान राम्रो बनाउनुस्, भविष्य त्यसै राम्रो बन्नेछ। थोपाथोपा मिली बग्छ खोला, सकारात्मक सोचौँ।

(लेखक रेडियो नेपालका समाचारवाचक हुन्।)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर