Aamsanchar

प्रेस क्लब मेचीनगरको अध्यक्षमा बराल, पत्रकार निरौला र आचार्य पुरस्कृत

Author Image
आइतवार, साउन २२, २०७९

मेचीनगर।  प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन शनिवार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सम्पन्न अधिवेशनको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय सरकार नगरक्षेत्रमा रहेका हरेक सञ्चारमाध्यमको उन्नति र विकासका लागि सक्रिय रहने विश्वास दिलाउनुभयो ।

हरेक गाउँघरमा समाचार रहेपनि त्यहाँ सञ्चारकर्मीको ध्यान नपुगेको भन्दैं हरेक सञ्चारमाध्यम आवाज विहिनहरुको आवाज बन्न नगरप्रमुख बुढाथोकीले आग्रह गर्नुभयो । उपप्रमुख मीना पोखरेल उप्रेतीले पत्रकारीता राज्यको चौथो अंग भएकाले त्यसको मर्यादाप्रति हरेक सञ्चारकर्मीले ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । पत्रकार बन्न तोकिएको मापदण्ड पुरा गर्न आग्रह गदैं उपप्रमुख उप्रेतीले पत्रकारहरुले संख्यामाभन्दा पनि गुणस्तरमा ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।

क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले कार्यक्रमको सभापतित्व गर्दै कार्य समितिकातर्फबाट सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २०७७ साल असोज १० गतेबाट आफ्नो नेतृत्वमा भएको समितिले दुईवर्षको अवधिमा भए गरेका कार्यलाई अध्यक्ष उप्रेती प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । कार्यक्रमको उद्घाटन सत्रमा मेचीनगर वडानम्बर ६ का वडाअध्यक्ष ललितबहादुर तामाङ, अग्रज पत्रकार मोहनकाजी न्यौपाने, क्लबका संस्थापक अध्यक्ष सन्तोस आचार्य, अग्रज पत्रकार जीएन शर्मा,पूर्व अध्यक्ष मुक्ति पौडेल, ज्ञानेन्द्र निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोहि अवसरमा क्लबले प्रदान गर्ने मेचीनगर पत्रकारिता पुरस्कार ज्ञानेन्द्र निरौला र मेचीनगर पत्रकारिता प्रोत्साहन पुरस्कार युवराज आचार्यलाई प्रदान गरियो । मेचीनगर पत्रकारिता पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँ तथा मेचीनगर पत्रकारिता प्रोत्साहन पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान पत्र रहेको छ । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले पुरस्कृत व्यक्तित्वहरुलाई नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने क्लबका अध्यक्ष लक्ष्मी उप्रेती, संस्थापक अध्यक्ष सन्तोष आचार्यले अविर टीका र खादा पहिर्याउनुभएको थियो । पुरस्कृत व्यक्तित्व छनौट समितिका संयोजक तथा संस्थापक अध्यक्ष आचार्यले दुवैजनाको नाम घोषणा गर्नुभएको थियो भने अग्रज पत्रकार जीएन शर्माले उहाँहरुको जीवनीमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव जिआर धितालले गर्नुभएको थियो भने पत्रकारजन्य संघ संगठनका प्रमुख प्रतिनिधि, जनप्रतिनिधिहरुलगायत ठूलो संख्यामा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

अध्यक्षमा डम्वर बराल निर्वाचित

अधिवेशन पश्चात नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा आगामी दुईवर्षे कार्यकालका लागि प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्वर बराल निर्वाचित हुनुभएको छ । प्रेस यूनियन, प्रेस संगठन, समाजवादी प्रेस संगठनकातर्फबाट साझा उम्मेद्वार बन्नु भएका वराल प्रेस चौतारीका अध्यक्षका उम्मेद्वार शिशिर चौलागाईँलाई १ मतले पराजित गदैं अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक सन्तोष आचार्यले जानकारी दिनुभयो । वरालले २४ र चौलागाईँले २३ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार जिआर धिताल २५ मत प्राप्त गर्दै विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी प्रेस चौतारीका खगेन्द्र घिमिरेले २२ मत प्राप्त गर्नुभएको निर्वाचन समिति सदस्य विश्व थापाले बताउनुभयो । सचिवमा गठबन्धनका देबु बानियाँ २८ मतका साथ विजयी बन्नुभयो भने उहाँका प्रतिस्पर्धी प्रेस चौतारीका हेमन्त निरौलाले १९ मतमा चित्त बुझाउनु पर्यो । सहसचिवमा सर्वाधिक मत प्राप्त गदैं गठबन्धनका उम्मेद्वार दिलिप थापा निर्वाचित हुनुभयो । थापाले कुल खसेको मत मध्ये ३० प्राप्त गर्दा अर्का सहसचिवका उम्मेद्वार प्रविन अधिकारीले १७ मत प्राप्त गर्नुभयो ।

समावेशी उपाध्यक्षमा रीता दाहाल र कोषाध्यक्षमा विनिशा शर्मा निर्विरोध हुनुभयो । सदस्यहरुमा सुजन प्रधान, विश्वास दाहाल, नेहाल दर्जी, गगन ढकाल,होमराज राई, विकास देवकोटा निर्विरोध हुनुभएको निर्वाचन समितिले जनाएको छ । कुल ५९ जना मतदातामध्ये ४७ जनाले मतदानमा भाग लिइएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर