Aamsanchar

 सहारा नेपाल साकोसले राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने 

Author Image
शनिवार, चैत ११, २०७९

चारपाने । सदस्य संख्या, पुँजी तथा सदस्य संरक्षण, समुदाय प्रतिको चासो लगायतका हिसाबले यस वर्ष देशकै पहिलो र उत्कृष्ट सहकारी रहेको दावी गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवसको दिन हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सहारा नेपाल साकोसको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा म्याराथन प्रतियोगिता आयोजना गरिन लागेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक प्रशान्त भण्डारीले बताए ।

आगामी चैत्र २१ गते आयोजना हुने प्रतियोगिताका लागि २१।०९ किलो मिटर दुरीको रुट निर्धारण गरिएको छ । बिहान ७ बजे देखि सुरुहुने प्रतियोगिता चारपाने स्थित संस्थाको केन्द्रिय कार्यालयबाट सुरु भएर चारपाने चोक, प्रभुराम चोक, साङ्गवेद स्कुल, ओम चोक, कुशल चोक, अर्जुनधारा धाम, वरपीपल चोक, मिलडाँडा, प्रगति टोल, भाङबारी, तामाङ चोक, रातेखाल, बिरिङ खोला कज्वे, पानीकल, लक्ष्मीपुर हुदै सहारा साकोसको शिक्षा सदनमा आएर टुङ्गिने छ ।
राष्ट्रिय स्तरको खुल्ला प्रतियोगिता भएकाले १८ वर्ष भन्दा माथिका खेलाडीहरूले प्रतियोगितामा सहभागी बन्न पाउने बताईएको छ । प्रतियोगितामा हाल सम्म कायम भएका राष्ट्रिय रेकड हरुलाई तोडन र राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीको रुपमा आफूलाई स्थापित गर्न सकिने भएकाले सहारा म्याराथन प्रतियोगिता खेलाडीहरूको लागि महत्वपूर्ण प्रतियोगिता  रहने संयोजक भण्डारीले बताए । उनले भने ‘प्रतियोगिता सञ्चालनको लागि जिल्ला खेलकुद विकास समितिको समन्वय रहेको छ, राष्ट्रिय प्रशिक्षकहरू प्रतियोगिता व्यवस्थापन समितिमा रहेका छन्, प्रतियोगितामा देशभरीका गरेर पाँचसय भन्दा धेरै खेलाडीहरूले सहभागी जनाउने छन ।’

प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रोलाई ३१ हजार र तेस्रो हुनेलाई २१ हजार नगद पुरस्कार दिइने आयोजकले बताएको छ । त्यसै गरी प्रतियोगितामा चौथो देखि दशौँ स्थान स्थान हाशिल गर्ने खेलाडी हरूलाई जनही ५ हजारका दरले सान्त्वना नगद पुरस्कारको व्यवस्था गरिएको सहारा साकोसका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

दिवसकै दिन संस्थाले नगद डिपोजिट गर्ने मेसिन पनि शुभारम्भ गर्ने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकहरूको हितका लागि  स्वास्थ्य हेरचाह कार्यक्रम पनि सुरु गर्ने भएको छ । स्वास्थ्य सेवामा ज्येष्ठ नागरिकहरूले भोग्दै आएको विभिन्न समस्याहरूको हल गर्न सुलभ मूल्यमा स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउने जमर्को गरेको हो । स्वास्थ्य सामग्री हरुमा घरमै प्रयोग गर्न मिल्ने मेडिकल वेड, सौच गर्ने पट, बैशाखी, छडी लगायतका उपकरणहरु रहने छ । पहिलो चरणमा संस्थाले १० सेट स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा प्रथम उपाध्यक्ष छबिलाल खतिवडा, द्धितीय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्ष पवित्रा सुब्बालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका तालिम अधिकृत मात्रिका सुवेदीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर