चिनीयाँ समाजमा लाओत्सु र बुद्धले भन्दा बढी प्रभाव छोड्न सफल मान्छे हुन्– कन्फ्युसियस । उनी यति महान् कसरी भए त ? भन्ने जिज्ञासा सहजै जाग्दो हो । मोटामोटी रूपमा कोट्याउँदा ३ कुरा भेटिन्छन् ।
१, उनका बुबा ७० वर्ष भएपछि तरणी श्रीमतीबाट उनी जन्मेका थिए ।
२, उनी हरदम अध्ययन अनुसन्धानमा व्यस्त रहन्थे ।
३, उनी सङ्गीतमा डुबेर तनाव मुक्त हुन्थे ।
पछिल्लो समयमा महान् व्यक्तित्वको बारेमा वैज्ञानिकहरूले के पत्ता लगाउन भ्याए भने– सबै जसो महापुरुषहरू बाबु ४० वर्ष कटेपछि र आमा २५ वर्ष कटेपछि जन्मेका हुन् । भन्नु पर्दैन, बाबाआमा जति प्रौढ हुँदै जान्छन्, त्यति नै उनीहरूका अनुभव र ज्ञान पनि बढ्दै जान्छ । र, यी अनुभवजन्य ज्ञानहरू उनीहरूको जिन्सद्वारा छोराछोरीमा सारिन्छन् । त्यसैले देख्नमा के आउँछ भने–जेठा, माइला भन्दा कान्छा कान्छी बढी चलाख हुन्छन् । अतः प्रौढ आमाबाबाबाट जन्मेका कन्फ्युसियसले पनि जन्मजात ज्ञानगुण वाकेर आए भन्न करै लाग्छ । र, यस कुराबाट हाम्रो पुस्ताले प्रेरणा लिएर प्रयोगमा उतार्न सक्छ ।
प्रसङ्ग बदलौँ, वैज्ञानिकहरू झण्डै २ सय वर्षदेखि अत्यन्त सफल हुने मान्छेको विशेषता बारे खोजी गर्दै आइरहेका देखिन्छन् । सफल हुने सबै मान्छेको एउटा विशेषता निर्विवाद रूपमा आएको देखिन्छ । त्यो हो– अध्ययनशीलता । उनीहरू सानै उमेरदेखि आफ्नो विषयवस्तुमा केन्द्रित रही जिन्दगीभर अध्ययन र अनुन्सन्धान चालू राख्छन् । यहाँनेर विश्वविख्यात चिनीयाँ भनाइ सार्थक हुन आउँछ– कोक्रोदेखि कात्रो सम्म पुग्दा पनि ज्ञानको खोजी जारी राख । यो भनाइको मूर्त रूप हुन्– कन्फ्युसियस । पछिल्लो समयमा अन्वेषकहरूले ठोकेरै भनेका छन्– रिडर्स आर लिडर्स अर्थात् पढुवा नै अगुवा हुन् । भन्न पर्दैन, कन्फ्युसियस चिनीयाँ समाजका कालजयी अगुवा बनेका छन् ।
कन्फ्युसियसलाई यत्रो उचाइ प्रदान गर्ने अर्को खम्बा हो, उनको संगीत –प्रेम । आफ्नै आमाको उत्प्रेरणाबाट उनी संगीत क्षेत्रमा आएका हुन् । जब –जब दिमाग विचार र कर्मको बोझबाट थाक्छ, मान्छे त्यसबाट भाग्न जाँडरक्सीदेखि नकारात्मक कुराको सहारा लिन्छ र त ऊ पतन हुन्छ । तर, कन्फ्युसियसले यस दुष्प्रभावबाट बच्न सङ्गीतको सहारा लिए । जुन एक किसिमको ध्यान –साधन नै हो । उनले भन्न भ्याएका छन् कि, सङ्गीतमा डुब्नुबाट यस्तो आनन्द जन्मिन्छ, जुन अरू कुनै सांसारिक कुराबाट सम्भवै छैन ।