Aamsanchar

वर्षायाममा कनकाई नगरका खोला क्षेत्र कति सुरक्षित !

Author Image
सोमवार, असार ११, २०८०

झापाको कनकाई नगरपालिका प्राकृतिक श्रोतले सम्पन्न नगरमा पर्छ । समाजको भौतिक विकासमा प्रत्यक्ष लाभ लिन सकिनेमा त्यहाँका नदीहरू पर्दछन् । नदीजन्य बस्तुको उत्खनन कनकाईको एक मुख्य आन्तरिक आर्थिक श्रोतको माध्यम पनि हो । कनकाई भएर बग्ने झापाकै ठूला खोलामा कनकाई माई र विरिङ पर्दछ । त्यसैगरी साना खोलाहरू सन्का, वीरसिंह, नुनमाटी, बागे, सानोमाइ,  सुरुंगा र घाग्रा खोला कनकाईको भूगोल हुँदै बगिरहेका छन् ।

माई र विरिङ १२ महिनै बग्छन् भने अरु खोलाहरू वर्षायाममा मात्र उर्लिने गरेका छन् । यि खोलाहरू कनकाईलाई  भूगोल विभाजन गर्दा उपहार स्वरुप प्रात भएको प्राकृतिक सम्पत्ति पनि हुन । नगरका लागि ति खोलाहरू हिउँद महिनामा विकासका संवाहक हुन भने वर्षायाममा विपत निम्त्याउने विनाशकारी हुन ।

विगतका वर्षायाममा यि खोलामा आउने बाढीका कारण ठुलो क्षेत्रफल खेती योग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ घरहरूको विनाश भएको घटना स्थानीयको लागि अझै ताजै रहेको छ ।  युगौँ देखि बग्दै आएका यि खोलाले ठूला साना धेरै क्षति गरिसकेका छन् ।

वर्तमान अवस्थामा पुरानो पीडा सम्झदै स्थानीय जानकार जंगबहादुर विश्वकर्मा भनछन ‘२०३६ सालमा विरिङमा ठुलो बाढी आयो । मुख्य राजमार्ग देखि उत्तर तर्फको पश्चिमी क्षेत्र पूर्ण रूपले डुबान र कटानमा पर्यो । त्यसपछिका वर्षहरूमा आएको चरणवद्ध बाढीले खोला तटीय क्षेत्रलाई नराम्रो सँग प्रभावित पार्यो ।

सबै भन्दा धेरै प्रभाव हालको कनकाई ८ स्थित रमाइलो त्रिवेणी बस्तीका नागरिकहरूले सहनु पर्यो । त्यो वेला करिव १ सय ५० घरहरू खोलाले बगाएको थियो । त्यसै गरि विरिङ पुलको दक्षिणी भूभाग र अन्य खोला क्षेत्रमा रहेका धेरै घरहरू बगेको र कयौं पशुचौपाया र मानिसको काल बनी सकेको यि खोलाहरू अहिले भने शान्त बन्दै गएका छन् ।’

वर्षेनी आउने बाढीका कारण हालको त्रिवेणी बस्तीमा कसैले पनि घर बनाउने आँटै गरका थिएनन् तर अन्न फल्ने र घर भित्र्याउन पाउने आसमा बालुवामा खेती गर्नेक्रम निरन्तर चल्दै आयो । पछिल्लो ८ वर्ष यता देखि एक पछि अर्को गर्दै ६ दर्जन भन्दा धेरै घरहरू त्रिवेणी टोलमा निमार्ण भइसकेका छन ।  घरहरू बने सँगै एक दशक अघिको बगर यतिबेला रमाइलो बस्ती बनेको छ ।

विरिङ खोलामा कनकाई नगर लगायत विभिन्न  योजना अन्तरगत तटबन्धन गर्ने काम भएपछि  विस्थापित गाउँले नयाँ स्वरुप पाएको हो ।

विरिङ पुल उत्तर अहिले सयौं मिटर तटबन्धको काम सम्पन्न भई सकेको छ । अझै क्रमागत रुपमा नदी नियन्त्रणको काम हुदैछ । त्यहाँका मानिसहरू ढुक्कले निदाउन सक्ने बनेका छन् ।

विरिङ नदीले कनकाई क्षेत्रमा १२ किलो मिटर दूरी ओगटेको छ । विरिङमा आउने बाढी र कटानबाट वडा नं। १, ८,६ र ७ नं। वडावासीहरू वर्षेनी बाढी पीडित बन्दै आएका थिए ।  अब भने त्यहाँका नागरिकहरू त्रास मुक्त बन्दै गएका छन् । विरिङ नदीमा हाल सम्म ८ किलोमिटर तटबन्धको काम भएको छ ।

कनकाई नगर क्षेत्रका ९ वटा खोलाहरू रहेका छन । ति खोलाहरूको कुल लम्बाइ  साढे चालीस किलो मिटर रहेको छ । जसमा उच्च जोखिम क्षेत्रमा १२ किलो मिटर पक्की, स्पर तारजाली, ढलान  गरेर तटबन्धन भएको छ भने २ किलोको मिटर माछीकाँडे बार र करिव २ सय वटा भन्दा धेरै स्पर निर्माण भइसकेको छ ।

माई खोलाको पूर्वी भाग कनकाईमा पर्दछ । कनकाईको २,३ र ४ नं। वडा भएर बन्ने माई खाला ४ किलो मिटर दुरीको रहेको छ । त्यहाँ पुल उत्तर २ किलो मिटर र दक्षिण तर्फ ५ सय मिटर तटबन्धन भएको छ । वडा नं. २ मा रहेको सन्का खोला करिव १ किलो मिटर लम्बाइ बनेर बगेको छ । उक्त खोलामा दुइ तर्फ गरेर ५ सय मिटर पक्की ढलान तटबन्ध भएको छ ।  २ नम्बर वडामै रहेको वीरसिंह खाला को लम्बाइ ५ सय मिटर रहेको छ । त्यस खोलामा २ सय मिटर तटबन्ध र २ वटा पक्की कलभर्ट निर्माण गरिएको छ । सोही वडामा रहेको नुनमाटी खालाको लम्बाइ करिव ५ सय मिटर रहेको छ । सो खोलाको उच्च जोखिम ठाउँ हरूमा २ सय मिटर तटबन्धनको काम भएको छ ।

कनकाई १ र २ मा रहेको बाघे खोला सोझ्याउने काम भएको छ । उक्त खोलाको लम्बाइ ८ किलो मिटर रहेको छ । वडा नम्बर २,३,१,५,६ र ७ का नागरिकलाई बर्सेनी तर्साउँदै आएको सुरुंगा खोलाको लम्बाइ करिव साढेसात किलो मिटर रहेको छ भने त्यस खोलामा उच्च जोखिम ठाउँमा तटबन्धन र बाँकी ठाउँमा खोला सोझ्याएको छ । वडा नम्बर ५ हुँदै बग्ने सानो माई खोलालाई सोझ्याएको छ । त्यस खोलामा ३ वटा कलभट निर्माण गरिएको छ ।

२०७४ साल यता कनकाईमा खोला नियन्त्रणको लागि नगरपालिकाले ९ करोड, जनताको तटबन्धन कार्यक्रमबाट ८ करोड, जिल्ला सिँचाइको १ करोड, तराईमधेस चुरे संरक्षणको १ करोड ५० लाख, कनकाई नहर व्यवस्थापन समितिको ५० लाख रुपैयाँ गरि जम्मा २० करोड रुपैयाँ लगानी भइसकेको छ ।

खोला तटबन्धन सँगै नगर पालिकाले एक सय फिट चौडाको खोला किनारै किनार बाटो बनाउने काम पनि गर्दै आएको छ । नगरपालिकाको संरचना हुनुभन्दा अर्थात २०७४ साल अगाडि कनकाई क्षेत्रका खोलाहरूमा जम्मा ६ सय मिटर तटबन्धन भएको थियो ।

झापाका अन्य पालिका भन्दा कनकाईमा नदी तटबन्धको काम उल्लेखनीय रुपमा भएको छ । तर यती कामले मात्र नदी तटीय क्षेत्रका नागरिकहरू ढुक्क सँग रहनसक्ने अवस्था बनेको छैन ।
तटबन्धको काम क्रमश रुपमा भएको छैन, यसरी गरिएको कामले एकातिर सुरक्षित भएपछि अर्को तिर बाढी पस्न सक्ने जोखिम रहेको र माछीकाँडे बारमा ठुलो लगानी भएको तर त्यस काम भरपर्दो नहुने भनेर स्थानीय विश्वस्त बन्न सकेका छैनन् ।

कनकाई नगर पालिकाको पहिले र अहिले राजेन्द्रकुमार पोखरेल नै निर्वाचित मेयर छन । उनी भनछन ‘नदी तटबन्धनको काम सोचेभन्दा राम्रो परिणाम प्राप्त भएको छ । सबै ठाउँमा एकै पटक बजेट अभावको कारण काम गर्न सकिएको छैन ।’

कनकाईमा आंशिक रुपमा भएको नदी तटबन्धनका कारण रमाइलो त्रिवेणी बस्ती जस्तै अन्य ठाउँमा पनि बस्ती बस्न सुरु भएको छ । नदी तटीय क्षेत्रमा घरहरू,  उद्योगहरू स्थापना भएका छन् । वर्षा याममा निर्धक्क भएर कृषकहरूले बाली लगाई रहेका छन् । छ बर्ष अघि धान उत्पादन गरेर घरमा भित्राउनु भाग्यमानी ठान्ने गर्दथिन् सो ठाउँका नागरिकहरू । नदी तटबन्धको कारण अहिले ७० बिघाभन्दा धेरै बगर खेती योग्य बनिसकेको छ भने सयौँ बिघा खेती योग्य जमिन सुरक्षित रहेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर