Aamsanchar

‘हामीले खोजेको सुख हो, पाउँछौं–दुःख’

‘भइरहेको आनन्द नलिएर त्यसलाई पछि सार्दै वर्तमानमा चिन्ता, तनाव अनि दुःख झेल्ने हाम्रो प्रवृत्ति छ’

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

आजको व्यस्त समयमा मानिसको जीवन अस्तव्यस्त बनिरहेको छ । आफ्नै लागि समय छैन मानिससँग । आखिर के पाउन, केका लागि मानिस दौडिरहेको छ ? के पाइरहेको छ ? जीवनको महत्वपूर्ण कुरा के हो ? हामी हाम्रो जीवनमा के चाहन्छौं, कस्तो जीवन चाहन्छौं ? सवाल सामान्य छ । यसको जवाफ छ– खुशी, शान्ति, सन्तुष्टि, आनन्द । हामी सबै चाहन्छौं– सुख, शान्ति, समृद्धि, खुशी, स्वस्थ जीवन, प्रेम, आनन्द आदि । यी सबै कुराले परिपूर्ण भएको बन्ने हाम्रो चाहना हो । जीवन रहेसम्म यिनकै पछि दौडन्छौं हामी । तर, आज न हामीले चाहेको बन्न सकिरहेका छौं, न त खोजेकै कुरा पाएका छौं । अर्को सवाल उठ्छ– कहाँ छ खुशी, शान्ति, आनन्द, सन्तुष्टि ? एकछिन सोचौं त जवाफ भेटिन्छ– आफैभित्र । हामी सबै भन्छौं– यी चीज त आफैभित्र छ, आफ्नै मनमा छ । जब आफैभित्र यी वस्तु छ भने हामी किन दुःखी, अशान्ति, असन्तुष्ट, बेखुशी ? मनमै छ, आफैभित्र छ, तर हामी बाहिर खोजिरहेका छौं, पाइरहेका छैनौं– यो आजको यथार्थ हो ।

हामीले खोजेको सुख हो, पाउँछौं– दुःख । खोजेको शान्ति हो, हुन्छ अशान्ति, खोजेको खुशी हो भेटिन्छ चिन्ता, तनाव । खोजेको स्वस्थ जीवन हो भइन्छ रोगी । प्रेम, आनन्द चाहिएको छ, मिल्छ घृणा र तनाव अनि अशान्ति । चाहिएको समृद्धि हो, तर जहिले अभाव, असन्तुष्टिको जीवन । किन यसो भइरहेको छ भने– सुख, शान्ति, समृद्धि, खुशी, स्वस्थ, प्रेम, आनन्द मनभित्र छ भने दुःख, अशान्ति, चिन्ता, तनाव, रोगका कारण, घृणा, अभाव, असन्तुष्टिको चिन्तन पनि मनभित्रै छ । हामी खुशी, सुख अरुबाट प्राप्त होस् भन्ने चाहन्छौं । त्यो सत्य होइन । आफ्नै मनभित्रको, आफूले चाहेको चीज हामीले प्राप्त गर्न सकेका छैनौं । आफैलाई चिन्न सकेका छैनौं । स्वयम्ले आफैंभित्रबाट यी चीज प्राप्त गर्न सक्नु आजको आवश्यकता हो ।

दुःखको मूलकारण नकारात्मक सोच हो । यहीकारण हामी तनाबमा हुन्छौं । फलामलाई उसकै खियाले समाप्त पार्छ । हामी मान्छेलाई कसैले केही बिगार्न, समाप्त पार्न सक्दैन । हामीलाई समाप्त पार्ने एउटै कुरा छ त्यो हो– आफैभित्र बिग्रिएको विचार, खराब सोच । बार–बार नराम्रो कुरालाई मनमा ल्याउनु दुःखको मूल कारण हो । नराम्रो सोच–विचारले हामीलाई दण्डित गरिरहेको छ, समाप्त पारिरहेको छ ।

हरेक क्षणमा, प्रसंगमा, स्थानमा हामीले आनन्द लिन सक्नुपर्छ । भइरहेको आनन्द नलिएर त्यसलाई पछि सार्दै वर्तमानमा चिन्ता, तनाव अनि दुःख झेल्ने हाम्रो प्रवृत्ति छ । मानिस आज भौतिक सम्पत्ति जोड्न व्यस्त छ । एउटा सामान्य मानिसले राम्रो ठाउँमा एउटा घडेरी होस् भन्ने चाहन्छ, त्यो भएपछि एक तले घर बनोस् भन्छ । घर पनि भएपछि तला थप्ने, मोटरसाइकल, कार गाडी, सामान्य मोवाइलबाट आइफोन यस्तै–यस्तै । समय अनुसार यो सामान्य कुरा हो । भौतिक सम्पत्तिको लक्ष्य राखेर वर्तमानमा प्राप्त भएको खुशीलाई उपभोग नगरी ‘अब यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो’ भनेर अन्ततः भौतिक जीवन नै सकिन्छ ।

आफूभन्दा धनी, अब्बल अर्कोलाई देखेपछि मानिसमा डाह, दुःख पैदा हुन्छ । मेरो पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने चाहना राख्छ । त्यो प्राप्त भएपछि फेरि त्योभन्दा माथिको‘ यस्तै–यस्तै । एक तोला गहना लगाएकी महिलाले अर्काको तीन तोलाको देख्दा त्यति नै चाहिन्छ, घरमा कचकच शुरु हुन्छ । तीन हजारको साडी लगाएकीलाई अर्कोको १५ हजारको देख्दा त्यस्तै लगाउन पाए हुन्थ्यो भन्ने सोच मनमा आउँछ । पुरुषमा पनि यस्तै–यस्तै सोचले घर गरेको हुन्छ । आफ्नो हैसियत अनुसार जे छ । त्यसैले सुहाएको छ, तर त्यो उसलाई थाह हुँदैन, महशुस गर्दैन र आफैलाई अरुका सामू कमजोर, घृणित, असक्षम सावित गरिरहेको हुन्छ, सोचिरहेको हुन्छ । पैदल हिँड्नेलाई साइकल, त्यो भन्दापछि साथीले बाइक कुदाउन थाले अब म पनि किन्छु, त्यो पनि भएपछि साथी कारमा देख्छ र ऊ पनि एउटा कार किन्न पाए हुन्थ्यो भन्छ । किन्छ पनि– देखाउँदा राम्रो होला तर किस्ता तिर्ने बेलाको तनाव र अशान्तले कारबाट पाउने सुख, आनन्द कहाँ अनुभूति गर्न सक्छ र उसले रु

यसरी आफूसँग नभएको र नराम्रो कुराको कल्पना, सम्झना, ती वस्तु प्राप्त गर्ने लोभ, लालसा, उपभोग गर्ने विलासी सोचले हामीलाई दुःखी बनाएको छ । यो सबै सोचको कारण हो । यही तरिकाले अघि बढ्दा हाम्रो सोचले हामीलाई खुशी, सुख दिन सक्दैन । लिन जान्दैनौं हामी, खोज्छौं मात्र । आफूमा भएको कुरा लिइरहेका छैनौं । भएको चिजमा रमाउन जानेनौं, नभएको खोजेर दुःख पाइरहेका छौं । संसारमा आज लाखौंको आँखा छैन, कतिको हात खुट्टा छैन, कति मृत्यु शय्यामा छटपटाइरहेका छन् । हामीसँग आँखा, हातखुट्टा, स्वस्थ जीवन छ । तर, पनि नहुनेहरु कति रमाइरहेका छन् हामी सबै हुनेहरु दुःखी बनिरहेका छौं । फरक यति हो उनीहरुले जीवन बुझेका छन्, जे छ त्यसमै रमाएका छन्, तर नभएको कुरा खोज्ने हाम्रो सोचका कारण हामी रमाउन सकेका छैनौं । अब रमाउन, आनन्द लिन सिकौं । आफैंभित्र, परिवारभित्र, समाजभित्र खुशी र शान्ति खोजौं ।

सामान्य मोबाइल सेट होस् या त एक लाखभन्दा बढीको आईफोन । दुबैको काम सम्पर्क, कुराकानी गर्ने हो । तर, राम्रो मोबाइल भएन, किन्न पाए हुन्थ्यो, कसैले दिए हुन्थ्यो भनेर हामी मनलाई दुःखी बनाइरहेका हुन्छौं । होला– लाखको मोवाइलमा फङ्सन, एप अप्सन धेरै होला । तर, तिनको आवश्यकता आफूमा कति छ, त्यसमा भर पर्छ । एक सयको घडी र एक लाखको डायमण्ड जडित घडीले पनि दिने समय नै हो । घुम्ने २४ घण्टा मात्र हो । महँगो घडीले एक घण्टा तन्काएर २५ घण्टा समय बनाउन सक्दैन । दुबैले दिने एउटै समय हो । घडीले केबल समय दिन्छ, तर तोकिएको समय र ठाउँमा पुग्नुपर्ने हामी आफै हो । घडी पुग्दैन, पुगेर पनि हाम्रो काम बन्दैन ।

विश्वका धनी विलगेट्स हुन् या त शक्तिशाली मानिएका अमेरिकाका राष्ट्रपति दुबैले पाएको समय एक दिनमा २४ घण्टा मात्र हो, त्यति नै समय हामीले पनि पाएका छौं । कल्पना गरौं उनीहरु कति व्यस्त होलान्, तर त्यो भन्दा व्यस्त त हामी छौं । किनभने हाम्रो जीवन अस्तव्यस्त छ । जसको जीवन अस्तव्यस्त छ, उसको जीवन व्यस्त हुन्छ । गेट्स र अमेरिकाका राष्ट्रपतिले समयको सही व्यवस्थापन गरेका छन्, हामीले सकेका छैनौं । हामीलाई मोबाइल आए जति कल उठाउनैपर्छ, जस्तै महत्वपूर्ण बैठक कार्यक्रममा सहभागी भइरहेको किन नहोस्, अनि बोलाए जति ठाउँ पुग्नैपर्छ । अनावश्यक व्यस्तता देखाउँछौं– यहाँ जानु छ, उहाँ जानु छ, यसो गर्नुछ, उसो गर्नुछ भनेर ।

यसले स्वयम्को जीवन त अस्तव्यस्त, तनाव, चिन्ता र दुःखदायी छ नै त्यसको कारण परिवार मै अशान्ति, तनाव छाएको हुन्छ । हामी आत्तिन्छौं मात्र । म त्यहाँ नपुग्दा के हुन्छ रु के त्यो कार्यक्रम नै असफल हुन्छ ? म के गरिरहेको छु, किन गर्दैछु, कसका लागि हो मेरो यो समय र काम रु यसबाट के उपलब्धि हुन्छ ? मूल्यांकन गरौं । जानै छ भने ठीक छ जाऔं । समयको सही व्यवस्थापन गरौं । सम्झिसक्दा दौडने होइन योजनाबद्ध २४ घण्टा बिताऔं । तसर्थ, एकै दिन १० ठाउँ भ्याउने होइन, मैले समय कहाँ दिने भन्ने कुरा महत्वपूर्ण हो ।
हुन त हामी मध्ये कतिपय यो अमूल्य समय टीभी हेरेर, घुमेर, खाएर, नाचेर, खेलेर, फेसबुक चलाएर, गफ गरेर, अर्काको कुरा काटेर बिताइरहेका छौं । समयको महत्व बुझिएन र समयमै कुनै पनि काम पूरा गरिएन भने त्यो समय फर्केर आउँदैन, आउँछ त केबल पश्चताप, हुन्छ केवल दुःख । तसर्थ, समयको महत्व बुझेर आफूलाई उपयोगी काममा समर्पित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । आफैभित्र हेरौं– मनभित्र के चलिरहेको छ ? भित्र म आनन्दित, शान्त छु, छैन रु हेरौं । बाहिर नहेरौं– बाहिर अशान्ति छ, चोरी, डकैती, बलात्कार, कालोबजारी जस्ता विकृति छ । भित्रको कुरा बिर्सिएर बाहिरको मात्र सोच्यौं भने यसले हामीलाई दुःखी बनाउँछ ।

हामी हरेक कुरा, घटना, पक्ष, व्यक्तिको नकारात्मक पक्ष केलाउन थाल्छौं, त्यसमै गहिरिन्छौं, विभिन्न अनुमान लगाउँछौं । अनि त्यही अनुसार अभिव्यक्ति र कर्म गर्छौं । अरुलाई दोषारोपण गर्छौ, आफू सर्वज्ञान सम्पन्न ठान्छौं । हैसियतभन्दा माथिको कुरा, अहंकार, आडम्बरमा रमाइरहेका छौं । जानेको होस नहोस्, चाहिएको होस् नहोस् बाठो भएर अघि सरेर सल्लाह दिइहाल्छौं । झिंगा जसरी घाउमा मात्र बस्छ, हाम्रो बुद्धि त्यस्तै खराब र नकारात्मक सोचमा मात्र केन्द्रित भइरहेको छ । यस्तो सोचबाट हामी आफ्नै जीवनमा नराम्रो पक्ष आमन्त्रण गरिरहेका छौं, अनि जीवन नराम्रो भइरहेको छ । यसको उपाय या उपचार भनेको आफूसँग नभएको, नदेखेको कुराको चिन्तन नगर्नु नै हो । भएकैमा रमाऔं । जस्तो सोच छ जीवन त्यस्तै बन्छ । राम्रो सोचौं, राम्रो बनौं ।

हामीले आफैभित्र भएको चीज क्षमता, खुशी, आनन्द देख्न सकेका छैनौं । यो कुरा गरिरहँदा फेरि पनि हामी बिग्रेका होइनौं, बिग्रेको हाम्रो स्वभाव र संस्कार हो । सोच्ने तरिका र बोल्ने शैली विग्रेको छ । जरुरी छ– सोच, विचारमा सुधारको । स्वभाव र संस्कारमा परिवर्तनको । अरुको प्रगतिमा दुःखी हुने, रिस, डाह गर्ने हाम्रो प्रवृत्ति छ । खुट्टा तान्ने प्रवृत्ति छ । खुट्टाको ठाउँमा हात तान्ने र अघि बढ्ने संस्कार विकास हुने हो भने के परिवर्तन असम्भव छ रु हामी अरुको दुःख–दर्दमा खुशी हुन्छौं । दुःख, पीडा दिन्छौं । कसैको कारण अरु कसैको आँखामा आँशु आइरहेको छ भने कसैले पीडा पाइरहेको छ भने त्यो भन्दा पापी आत्मा अरु हुन सक्दैन । निर्णय तपाई हाम्रै सोचमा छ कि पापी बन्ने या परोपकारी । अर्कोतर्फ कसैको बोली, व्यवहार, घटना, परिस्थितिबाट हामी जिन्दगीभर दुःखी, पीडाबोध गर्छौं । त्यो दुःख दिनेवाला कहाँ पुगिसक्यो, तर हामी त्यसकै बारे सोचेर पीडित भइरहन्छौं । अरुको गल्तीमा दुःखी हामी हुन्छौं, पीडा हामी खप्छौं । मनमा बोक्छौं । यो पनि सोच कै उपज हो ।

आज गाडी र त्यसको पार्टस् फेरे झैं हामी न आफ्नो शरीरको अंग फेर्न सक्छौं, न त छोराछोरी, बुबाआमा, दाजुभाइ, दिदीबहिनी नै । फेर्न सक्छौं त केवल सोच, स्वभाव, संस्कार । यति फे¥यौं भने सकारात्मक सोच, असल स्वभाव र संस्कारले सुख, शान्ति, आनन्द, सन्तुष्टि, स्वस्थ जीवन सबै दिन्छ । हामीसँग आर्थिक क्षमता छ भन्दैमा पसलमा गएर एक किलो खुशी, दुई किलो आनन्द, पाँच किलो शान्ति दिनुहोस् न साउजी भनेर किन्न पाइँदैन । र, यो किन्न पनि पर्दैन । सोच बदल्ने हो भने तौलनै नसक्ने गरी आफैबाट प्राप्त गर्न सक्छौं । सोच परिवर्तनबाट आफू मात्र होइन परिवार, समाज, राष्ट्र र विश्व परिवर्तन गर्न सकिन्छ । यथास्थितिमा यो सम्भव छैन ।

हरेक कामको समय व्यवस्थापनसँगै सकारात्मक सोच, स्वभाव र संस्कार परिवर्तन गर्ने हो भने हरेक मानिसले सुख, शान्ति, समृद्धि, आनन्द, प्रेम, खुशी प्राप्त गर्न सक्छन् । हामीले आफूभित्रका यी चिजलाई स्वअनुभूति गर्न सक्नुपर्छ । जसबाट विस्तारै सकारात्मक सोच शक्तिको विकास भई हाम्रो जीवनमा खुशीको वहार आउँछ र सफल र खुशी बनाउँछ । यो सबै प्राप्त हुने मुख्य स्रोत भनेको राजयोग मेडिटेशन हो । परिस्थिति जस्तोसुकै भए पनि मनस्थिति ठीक ठाउँमा राख्न सक्नु तथा हमेशा सकारात्मक सोचेर शान्तिसँग हिँड्न सक्नु नै यथार्थमा मेडिटेशन हो । खुशी, सन्तुष्टि अरुले दिने होइन हामीभित्र चल्ने विचारमा भर पर्छ । चाहन्छौं खुशी तर चिन्तन अर्काको गर्छौ, दुःखको चिन्तन गर्छौं ।

आज मानिसले कमाइ र इज्जतलाई नै गलत बुझेको छ । धनको कमाइ मात्र कमाइ, पुण्यको कमाइलाई कमाइ ठान्दैन मानिस । इज्जत के हो रु यसको व्याख्या आ आफ्नै छ । राम्रो खानु, राम्रो लगाउनु, ठाँट देखाउनु कतिले इज्जत ठान्छन् । इज्जत भनेको बोली, व्यवहार, संस्कार, सत्कर्म हो । हामी हर कोही जे सामान पनि ब्राण्डेड खोज्छौं, तर आफ्नै जीवन ब्राण्डेड बनाउने कहिल्यै सोच्दैनौं । जीवनमा सबैभन्दा महत्वपूर्ण काम भनेको आफ्नो मनलाई सुन्दर बनाउनु हो । संसारको सबैभन्दा ठूलो निर्माण आफैलाई निर्माण गर्नु हो । यसका लागि आज हामी जे गरिरहेका छौं । अब हाम्रो कर्मको शुद्धीकरण जरुरी छ । त्यसका लागि हामीले आफ्नो सोच र विचारको शुद्धीकरण गर्नुपर्छ । त्यसका लागि मनको शुद्धीकरण गर्नुपर्छ । मनको शुद्धीकरणका लागि साधना गर्नुपर्छ । मनको शुद्धीकरण नगरेसम्म कहीँ खुशी मिल्दैन । मनको शुद्धीकरणबाट राम्रो सोच, विचार, भावना जन्मन्छ । राम्रो सोच, विचार, भावना भए दुःख हुँदैन ।

अर्को प्रश्न आउन सक्छ कि जीवनमा खुशी, आनन्द के ले दिन्छ ? धेरैले भौतिक सुखले भन्लान् । तर, ती सबै कुराले परिपूर्ण व्यक्ति पनि खुशी र आनन्दित हुन सकेको छैन । हाम्रो आफ्नो कारण कसैको बिग्रन लागेको जीवन सुन्छ, रोइरहेको अनुहार मुस्कुराउन थाल्छ भने वास्तवमा खुशी र आनन्दित पनि त्यसले तुल्याउँछ । सबैभन्दा ठूलो पुण्य यही हो । तसर्थ, पुण्यको मार्गमा अघि बढौं । जीवनको जस्तोसुकै पलमा पनि आन्तरिक खुशी खोसिन नदिऔं, राम्रो खोजीभन्दा पनि खुद आफै राम्रो बनौं । तसर्थ, यसको थालनी आजैबाट गर्ने कि !

(प्रस्तुत उत्प्रेरक लेख वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेसँगको कुराकानीका आधारमा गिरीले तयार पारेका हुन् ।)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर