Aamsanchar

जीवनस्तर उठेको हो कि ! पश्चिमा सिको ?

हिउँद लागेसँगै हाम्रो दिनचर्या, कार्यसंलग्नताआचरण–बिरचणमा फेरबदल आउनु प्रकृतिजन्य पक्ष हो । वातावरणीय उपस्थिति र समग्र प्रकृतिले हामीलाई गर्मीबाट जाडोतिर उन्मुख गराएको हुन्छ, क्रमशः डोहोराएको हुन्छ । जीवजिवाणुमा यसको प्रभाव र असर प्राकृतिक पक्ष हो । मानिस यसबाट टाढा, अलग्यैअछुतो रहन सक्दैन । मानव जीवनको विकासकालक्रम सँगसँगै विकसित उँधौली र उँभौली जस्ता प्रागैतिहासिक महत्त्वका सांस्कृतिक पर्वहरू पनि यसबीचमा पर्दछन् । हिमश्रृङ्खलाको चिसो, सिरेटो जाडो छल्न न्यानो स्थलको खोजिमा उँधो अर्थात् समथल भू–भागतिर आउने र मानवमैत्री वातावरण बन्दै गएपछि अर्थात् वातावरण अनुकूल भएपछि फेरि आफ्नो कार्यस्थलतिर लाग्ने, अर्थात् उँभो लाग्ने अर्थमा स्थानीय जनजीवनले यसलाई ग्रहण गर्दछ । दशैँ, तिहारदेखि लिएर फगुवा हुँदै चैते दशैँसम्मका दर्जनौँ चाडपर्वहरू हिउँद समयावधिमा पर्दछन् ।
मानवीय आस्थालाई उजागर गर्ने कैयौँ चाडपर्वहरूका आ–आफ्नै महत्त्वहरू छन् । जीवन दर्शनको ठाउँबाट विषयगत उत्खनन, उपादेयता, असर, प्रभाव आदिका दृष्टिकोणले अध्ययन अनुसन्धान गर्ने हो भने कुनै एकमात्र चाडपर्वको एकमात्र होइन, अनेक विषयगत महत्त्वहरू छन्, असाधारण महत्त्वहरू छन् । यसलाई मान्ने र मनाउने पनि हाम्रा आ–आफ्नै मौलिक र विकसित तौरतरिकाहरू छन् । मूलतः मानवीय श्रम र प्रकृतिप्रतिको निर्भरतालाई अभिव्यक्त गर्ने यी चाडपर्वहरूले हामी सबैलाई सामाजिक–सांस्कृतिक सहचार्यमा आधारित रहँदै एक ठाउँमा जोडेको छ, सामाजिक उत्तरदायित्वभित्र प्रस्तुत हुनुपर्ने इमान र निष्ठासाथ हामीलाई लामबद्ध ढंगले उभ्याएको छ । प्रतिफलस्वरुप आमरूपमा मानिस सांस्कृतिक र सामाजिक हिसावले परस्पर प्रगाढ सम्बन्धले उनिएको छ, सहयोग आदानप्रदानले बाँधिएको छ, सद्भाव र सहिष्णुवत् व्यवहारले निर्देशित छ र विविधतामा एकताको भावमिश्रित दिनचर्याका साथ संगठित छ । समुच्यमा हाम्रो समाज र सामाजिक उपस्थितिभित्र हुर्र्किएको संस्कृति अतुल्य छ, साँच्चिकै समृद्ध छ ।

वनभोज : सहचार्य
मानवमैत्री प्रकृति, वातावरणीय अनुकूलता र एकाग्र–शान्त स्थानको खोजिमा वनभोज विकास भएको पढ्न पाइन्छ । वनभोज अर्थात् वनमा हुने भोज, वनमा गरिने भोज । वनमा उपलब्ध खाद्यवस्तुको उपयोगसँग यसको प्रचलन विकास भएको अध्ययन अनुसन्धानमा पाइन्छ ।
आदिम समाजदेखि सामान्तवादी उत्पादन प्रणालीमा आधारित समाज र यसको विकासक्रम आफैमा वनभोजमय थियो । पूंजीवादको विकासक्रमपछि मानिस क्रमशः यान्त्रिक भयो, यान्त्रिक जीवनशैली र यान्त्रिक उपकरणमैत्री भयो । उपभोग र विलासिता असीमित बनेसँगै कार्यव्यवस्ता असाधारण भयो । मानिसको पछिल्लो समय कार्यस्थलमा संलग्नता कारण दिनचर्या नै उकुसमुकुस बन्ने स्थिति विकास भयो । यतिबेला कार्यस्थलमा संलग्न मासिन तीर्थाटन जाने, अध्ययन भ्रमण गर्ने, मनोरञ्जन भ्रमण गर्ने, आफ्नो अत्यन्तै व्यस्त र यान्त्रिक जीवनबाट केही हदसम्म टाढा रहने, प्रकृतिसँग रमाउने र प्राकृतिक छाँटको नजिकै हुने उद्देश्यबाट निर्देशित रहँदै आएको छ । आफ्नाआफन्तसँग नजिकै रहने, परिवारसँग समय बिताउने, सहधर्मीसँग पारस्पारिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ वनभोज वार्षिक कार्यतालिकाको एउटा अभिन्न अंग बन्यो ।
महाभारतकालमा यसका पात्रहरूले पनि वनभोज आयोजना गर्ने गरेको दृश्यचित्र टेलिभिजनमा देख्न पाइन्छ, इतिहासमा पढ्न पाइन्छ । सचित्र आख्यान यसमाथि हुने गरेका छन् । वनभोजसँग अन्तरसम्बन्धित कैयौँ सन्दर्भहरू छन् । यसलाई मसिनो ढंगले पढ्दा– पारस्पारिक आनन्द लिन, प्रसन्नता बढाउन, सुदृढ सम्बन्ध अभावमा विकास भएको मानसिक थकान हटाउन, सहधर्मीबीच सहअस्त्विमा आधारित रहँदै विगतप्रति समिक्षा गर्न, आगतका चुनौति चिन्न, चिर्न र चिर्नका लागि संगठित योजना निर्माण गर्न वनभोज प्रयुक्त रहँदै आएको देखिन्छ । राजनीतिक संस्कार निर्माण गर्न यसको सांस्कृतिक स्वच्छताको कुरा गर्ने हो भने नेपालको राजनीतिक परिवर्तनको इतिहासको एउटा पक्षलाई अध्ययन गर्दा हरितालिका तीज, वनभोज, देउसीजस्ता पर्वले सामाजिक जागरणको लहर सिर्जना गरेको, प्रगतिशील पराकम्पन उत्पन्न गरेको र राजनीतिक संगठन निर्माणमा प्रत्यक्ष योगदान गरेको पक्ष पनि दिउँसोको घाम झँ छर्लङ्ग छ ।
यो एउटा महत्त्वपूर्ण कालखण्ड र सामाजिक योगदानको क्षेत्रबाहिर आज हिउँद लागेसँगै झण्डै फागुन महिनान्तसम्म आयोजित हुने वनभोजको स्थान कहाँ छ ? यसको महत्त्व खोजिनु र मौलिक मूल्यमान्यता सहित संरक्षण गरिनु आवश्यक छ ।

मनोरञ्जन : शिक्षा
वनभोज– सामान्यतः घरबाट अलिक टाढा, बाहिरफेर, पाखापखेरा, खुला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि रमणीय स्थानहरूमा गएर खानेकुरा खाँदै गरिने मनोरञ्जनात्मक कार्यक्रम हो । प्रारम्भिक दिनमा वनभोजमा संलग्न रहन चाहने मानिसहरू वनमै उपलब्ध हुने खाद्यवस्तु खोजतलास गर्ने, बनाइतुल्याइ खाने, संलग्न मानिसमाझ पारस्पारिक दायित्व जुटाउँदै बजार गर्ने, स्वयं सहकार्य गर्दै सात्विक गुणले युक्त मीठामीठा परिकार पकाएर खाने र नाचगान गर्ने आदि गरिन्थ्यो ।
यद्यपि उपयुक्त वन अभावले हो वा खानाको परिकार पारखीजन अर्थात् क्याटरिङ सेवासुविधा अभावले हो, हिजोआज वनभोज रिसोर्ट र होटलसम्म पुग्ने गरेको पनि सुनिन्छ, देखिन्छ र यदाकदा भेटिन्छ । वनमा उपलब्ध हुने कन्दमुल अर्थात् फलाहारबाट आरम्भ भएको वनभोज आजपर्यन्त यहाँसम्म आइपुग्दा रिसोर्ट र यहाँ सजिएका जलाहारमा परिणत भएको मात्र छैन, योसँग जोडिएका कतिपय विकृति–विसङ्गतिलाई समेत ढाकछोप गर्ने तहमा पुगेको छ । कहाँ रह्यो मनोरञ्जन रु कहाँ पुग्यो मनोरञ्जन ? सुक्ष्म अध्ययन हुन र गर्न जरुरी छ ।

वनभोज अहिले एक नाममा मात्र होइन, अनेक नाम र व्यानरमुनि संगठित भएको छ । राजनीतिक दलबल, सामाजिक संघसंगठन, वित्तीय संघसंस्था, शिक्षालय मात्र होइन, कैयौं धर्मानुरागीहरू, कीर्तन भजनमण्डलीहरू, विभिन्न सन्दर्भले जोडिएका सखासखीहरूले वनभोज आयोजन गर्ने गर्नुभएको छ । देशभित्र घरबासमा मात्र होइन, देशबाहिर प्रवासमा पनि हितचित्त मिल्दा साथीभाइले वनभोज आयोजना गर्ने गर्नुभएको छ । पारस्पारिक भेटघाट र सम्बन्ध विकासमा वनभोजले निकै ठूलो योगदान गरेको म आफैंले कैयौंपटक अनुभूति गरेको छु । विभिन्न नाउँमा गठित समाज, पेशागत संगठन, व्यवसायिक संस्था, पत्रकार, कलाकार आदिको पनि आफ्नै छनौटअनुसारको वनभोज हुने गरेको छ । परस्पर भेटघाट, चिनजान र आपसी सद्भाव साटासाटको बातावरण सिर्जना गर्दै उत्पन्न खुशी बाँड्न योभन्दा प्रयुक्त अरु केही हुँदै हुँदैन ।
एउटा मानिस उसको सामाजिक र सांस्कृतिक सम्बन्धका कारणले थुप्रैपटक थुप्रै ठाउँमा वनभोजमा सामेल भइरहेको हुन्छ । यो कति उपयुक्त छ ? कति अनुपयुक्त ? समाजको सामाजिक अर्थव्यवस्थाका दृष्टिकोणले हेरिनुपर्छ कि पर्दैन ? मैले नबुझेको विषय यहाँनेर हो ।

अर्थराजनीति : अवस्था
विगतमा झण्डै दशकभर भदौ महिना लागेदेखि तीज लाग्थ्यो । कहिले के नाउँमा तीज रु कहिले कसको आयोजनमा तीज ? महिनाभरि तीज । कतिपय तीजमा खाने नखाने पदार्थ ओसारपसार रु तामसिक वस्तुको प्रयोग र सेवन । ठाउँ फेरिफेरि लगाउनुपर्ने लत्ताकपडा, गरगहना र श्रृङ्गारका सामग्रीका लागि सिमानाका भारतीय बजारमा तीजको रौनक हुन्थ्यो । भारतीय बजारमा नेपालीका लागि तीज विशेष अफर हुन्थ्यो । तीजलगायत चाडपर्वहरू हाम्रा हुने तर यससँग जोडिएको अर्थराजनीति अरुको निगरानी, नियन्त्रण र पकडमा हुने स्थितिमा थियो ।
यस्तै केही समययता वनभोजको प्रभाव बढेको छ । वनभोजसँगै आयतित कतिपय गलत रवैयाले समाजमा के छाप छाड्दैछ ? के प्रभाव पार्दैछ रु यसबारे अध्ययन गर्ने मनसायले ‘जीवनस्तर उठेको हो कि ! पश्चिमा सिको रु’ आमसञ्चार फेसबुकमा एउटा स्टाटस राखेँ । धेरैले चासोपूर्वक लिनुभयो । कतिपयले सकारात्मक टिप्पणी गर्नुभयो, कतिपयले फोनमार्फत आफ्ना राय राख्नुभयो । केही साथीहरूले फ्रीमा जलाहार गर्न नपाएको झोंकमा स्टाटस आयो भन्ने अर्थमा प्रतिउत्तर दिनुभयो । कसैले यसप्रति लाइक गरेर आफ्नो समर्थन जनाउनुभयो । जसले जे–जति जान्यो, उति लेख्ने हो, उति नै पस्कने हो । समय दिएर लेख्नुभयो, आफ्नो विवेक उर्जा र उर्वरतासाथ पस्कनुभयो । सबैप्रति हार्दिक सम्मान छ ।
हिउँदभर वनभोज, बाटाघाटा छेउका वनपाखामा वनभोज, कैयौं प्रकारका ब्यानरमुनि वनभोज, एउटा मानिसको धेरैपटक धेरै ठाउँमा वनभोज । प्रत्येक खुशीका लागि खुशी साट्न र खुशी बाँड्न साथीभाइको सन्ध्याकालीन बसाइँ र खाजाको परिकार पनि कम देखिँदैन । कसरी धान्न सकिएला ! कसरी उठ्न सकिएला ! अर्थराजनीतिका दृष्टिकोणले हामी पनि पश्चिमा ह्याप्पी फ्राइडेको तहमा पुगेका हौँ कि सिको ? मेरो चासो, जिज्ञासा र अध्ययन गर्न चाहेको रुचिकर विषय यो मात्र हो ।

झ्वाट्ट हेर्दा– मानिसमा खुशी बढेको छ, संगठित भएको छ र सामुहिकतामा रमाउने प्रचलन विकास भएको छ । यो राम्रो पक्ष हो । वनभोजका नाउँमा राजनीतिक, सामाजिक, सांस्कृतिक आदि विभिन्न समूहहरू उत्साहित देखिन्छन् । यो पनि अर्को असाधारण राम्रो पक्ष हो । तथापि, नेपालीको औसत आयआर्जन वृद्धिसँगै आएको खुशी हो त ? नेपालीको अर्थराजनीतिमा फेरबदल आएको हो त ? जीवनस्तर पश्चिमाशैलीको ह्याप्पी फ्राइ–डे जस्तै मनोरञ्जनले भरिएको हो त ? वा यसनिम्ति भरथेग गर्न सकिने तहमा उसको जीवनस्तर उक्सेको हो त ? म अनुत्तरित छु, र अन्यौलमा पनि ।
अर्थराजनीतिका दृष्टिकोणले अध्ययन गर्दा– मूलतः कोरोना महामारीपछि देशको अर्थव्यवस्था चौपट भएको आँकडा आइरहेको छ । विज्ञहरू भन्नुहुन्छ– अर्थव्यवस्था लयमा फर्किन सकेको छैन, उठ्न सक्ने तागत लिएर थिग्रिन सकेको छैन । औसत एउटा घरगृहस्थबाट एकजना जीविकोपार्जनको लागि देशबाहिरको श्रमबजारमा छ । देशभित्रै गरिखाएको मानिसलाई दाल, भात, तरकारी, अचार सहित केही परिकार थप्न धौधौ परेको छ । पढाइ, लेखाइ, औषधीउपचार समेत प्रभावित बनेका छन् । तथापि, कहाँबाट पुग्दो यो खुशी साट्ने पैसा ? कहाँबाट जुट्दो हो खुशी ल्याउने क्षण पैसा ?

उपसंहार : कर्तव्य
स्थिति के हो भने उपभोक्तावादी बजारियाले अभ्यासले हाम्रा आयोजनहरूलाई तामझामपूर्ण बनाएको छ । तामझामपूर्ण हाम्रा आयोजनहरूले पर्यटन प्रवर्धन त गरेको होला तर हामीले मान्ने मनाउने संस्कार, संस्कृति, चालचलन र यसका स्थापित मान्यतामा विभेद सिर्जना भएको छ । वर्ग, समुदाय, जाति, लिंग र भूगोल विशेषको पहिचानलाई साझा होइन, अलगथलग गरिदिएको छ । हाम्रा साझा संस्कार, संस्कृति, चाडपर्वहरूलाई मान्न मनाउन समुदायको रोजाइले भन्दा पनि बजारको पहुँचले निर्धारण गर्दै लगेको छ । बजारको पहुँच हावी हुँदै गएपछि यी हाम्रा साझा संस्कार, संस्कृति, चाडपर्वहरू स्थापित राजनीतिक र सामाजिक प्रणालीको अभिन्न अंग बन्नभन्दा अनुकूलता र प्रतिकूलताको भाषा र परिभाषामा व्याख्या विश्लेषण हुन थालेको छ । आफ्नोपनको भाषा, आफ्नोमनको शैली र जीवनदर्शनका हिसावले हामी धेरै नै आयतित हुँदै गएका छौँ, मूल्यमान्यताहरू खण्डित हुँदै गएकाछन् । मानमनितो र मानमर्दन सामान्य हुँदै गएको छ ।
विचारणीय पक्ष त के भने संस्कार, संस्कृति, चाडपर्वहरू हाम्रा तर मान्ने मनाउने तौरतरिकको प्रतिस्पर्धात्मक दौडसँगै उत्पादन र उपलब्धताको बजार देशबाहिरबाट नियन्त्रित छ । शहर र विदेशको बसाइँ र बसाइसराई बढेसँगै शहर वा परदेशमा भएका परिवारजनको तनाव संस्कार, संस्कृति र चाडपर्वहरू मान्न मनाउनमा धौ–धौ पर्दै आएको छ । सामान्य ढंगले जीवननिर्वाहका लागि देशबाहिरको श्रमबजार चाहर्नुपर्ने हाम्रो नियतिलाई शैलीगत विकृति–विसङ्गतिका कारण एकदमै निरस र खल्लो बनाएको छ । आयतित जीवनशैलीको कसरी व्यवस्थापन होला ! इच्छाएको वस्तु भोग गर्न सक्ने आर्यआर्जन अभावको जगमा उभिएको वर्तमानले ल्याउने समय कस्तो होला ! समाजमा एकाएक संशय र त्रास बढेको छ । झकिझकाउ लाग्ने वनभोज जीवनशैली, यहाँबाट प्राप्त हुने रौनक, कतिपय नयाँपनका विकृति र विसङ्गति, स्मार्ट दिनचर्या कसरी सकिएला थेग्न ? गम्भीर बनाएको हुनुपर्दछ ।

तरुणतन्नेरी पुस्ता कहालीलाग्दो संख्यामा दिनहुँजसो बिदेशिएको छ । वैदेशिक रोजगारीमा आश्रित घरपरिवारजन बाहिरबाट अन्नपात किनेर खान्छ । यसबाट बचाएर वा कटौति गरेर वनभोजलगायत क्षेत्रमा भोज र मौज गर्छ । वनभोजलगायत भोज क्षेत्रमा चाहिने वस्तु सुपरमार्केटमा छ । अपवादबाहेक देशबाहिर उत्पादित वस्तुले सुपरमार्केट भरिएको छ । हाम्रो आधुनिक जीवनशैलीका नाममा खाद्यसंस्कृतिमा व्यापक फेरबदल आएको छ । यो फेरबदलले सुपरमार्केट खोज्छ । हाम्रो खुशीको विषयवस्तु सुपरमार्केटमा कैद छ । फलतः वनभोज पनि सुपरमार्केटबाट निर्देशित छ ।
खानेकुराबारे हाम्रो सोच र शैली फेरिएको छ । परम्परागत सकारात्मक सोच पुरातन भएको छ । ज्ञान ओझेल पारेको छ । मूल्यमान्यता पाखण्ड सावित गरिएका छन् । विविधतापूर्ण, सन्तुलित र पोषणयुक्त खाना खानेभन्दा पनि तत्कालको स्वादको बखान र बहकाउमा बजार हामीमाथि नै मडारिएको छ । स्थानीय अन्नपात, दुधदुधजन्य परिकार विस्थापित भएको छ । हाम्रो विकसित जीवनशैलीले विषयुक्त खाना, हावापानी र वातावरणलाई अशान्त बनाएको छ । स्वयंमा तनाव, असुरक्षा, भय र डरका कारण स्वयंलाई शारीरिक र मानसिक दुर्घटनाको शिकार बनाएको छ । विद्यमान समाजलाई हुनेखाने र हुँदाखानेमा विभाजित गर्दै लगेको छ । भेदभाव अन्त्य होइन, मानिसको पूर्ण स्वतन्त्रता र समानताको पक्षलाई समेत नियन्त्रणमा लिएको छ । हिन र लाचार बनाएको छ । वयस्कबीच परस्पर विवाह र सम्बन्धविच्छेदका आधारहरू सिर्जना गरिदिएको छ ।
हाम्रा मूल्यमान्यता विस्थापित नहोउन् ! पश्चिमा जीवनशैली अनुसरण गर्ने होडमा स्थापित हाम्रा साझा मूल्यमान्यता, संस्कार, संस्कृति, चाडपर्वहरू तहसनहस नहोउन् !पछिल्लो समयमा आयतित हाम्रो जीवनशैलीप्रति स्वयंमा सजग, सतर्क र सावधानी अपनाउँदै अघि बढ्न जरुरी छ ।
माघे सङ्क्रान्ति २०८० को अवसरमा सम्बद्ध सबैलाई हार्दिक मंगलमय शुभकामना !

 बास्कोटाः अन्तर्राष्ट्रिय जनलेखक संघ अन्तर्राष्ट्रिय कमिटी उपाध्यक्ष हुनुहुन्छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर