हाम्रो मस्तिष्कको अगाडिको भाग (फ्रन्ट लोब) मा हुने न्युकर्टेक्स भन्ने भाग ६ सतहमा बाँडिएको हुन्छ । यसले नै थाहा पाउने, अनुभव गर्ने, शरीरका अंगलाई गति निर्देशन गर्ने, भाषा सिक्ने, अर्थ लाउने, विचार प्रवाह गर्ने आदि कुरामा मुख्य भूमिका खेल्छ । धेरै प्रकारका काम गर्ने भएकाले यसको सञ्जाल पनि एकदम जटिल हुन्छ । आरइएमको अवस्थामा ब्रेन स्टेमबाट आइरहने संकेतलाई यसले जोडेर कुनै परिचित दृश्य तथा संवेगमा बदली अर्थ लाउने कोसिस गरिरहेको हुन्छ । त्यो दृश्य पूर्ण कथा, आंशिक कथा, केही मात्र चित्र, राम्रो अनुभव, डरलाग्दो संवेग, जे पनि हुन सक्छ । यदि आरइएमकै अवस्थामा ब्युँझियो भने त्यो कुरा याद हुन्छ। साथै, हाम्रो सचेत मस्तिष्कले त्यसको अझै अर्थ खोज्दै जान्छ र लम्बिन्छ, नत्र सपनामै सिद्धिन्छ ।
सपना पनि प्राणीको बायोलजिकल प्रोसेजको एक आवश्यक प्रक्रिया हो । सपना करिब ९९.५ प्रतिशत आरइएमको अवस्थामा मात्र पूरा हुन्छ । प्राणीले सपना देखेन भने बायोलजिकल प्रोसेजमा अवरोध आउँछ र अन्य विभिन्न शारीरिक, मानसिक र संवेगात्मक रूपले नकारात्मक असर पर्छ । यदि सपना देखिएन भने शरीरमा प्रोटिन पुगेको छैन, प्रोटिनको अनुपात बिग्रेको छ, वा व्यक्तित्वमा उतारचढाव छ भन्ने बुझ्नुपर्छ । थुप्रै अन्वेषणकर्ता, वैज्ञानिक, गणितज्ञ, कलाकार, लेखक आदिले आफ्नो विषयको मूल चुरो सपनामै पत्ता लगाएका पनि थुप्रै उदाहरण छन् । सिलाई मेसिनका आविष्कारक एलिअस होवे हुन् ।
उनले सन् १८८४ ताका मेसिन बनाउँदै थिए । सियोले काम गर्ने तरिका पत्ता लगाइरहेका थिएनन्, यसबारे उनले महिनौंसम्म सोचे । एकरात भने उनले सपना देखे, गाउँलेले टुप्पामा प्वाल भएका खन्ती लिएर उनलाई घेरिरहेको । अनि मात्र उनले सियोको टुप्पोमा प्वाल बनाउनु पर्नेरहेछ भन्ने सुझ पाए । जर्मन वैज्ञानिक केकुलेले बेन्जनको मोलक्युल स्ट्रक्चर पत्ता लगाउन कोसिस गर्दै थिए । यही बेला एकरात उनले सपना देखे– सर्पहरु मुखमा पुच्छर हालेर गुजुल्टिएको । यही सपनाबाट उनले अग्र्यानिक कम्पाउन्डजस्तै लाइनर स्ट्रक्छर होइन कि बेन्जनको सर्कल स्ट्रक्चर हुँदो रहेछ भन्ने ज्ञान पाए । चर्चित उपन्यास फ्रान्केनस्टेनकी लेखिका म्यारी शेलीलाई पनि सपनामै आफ्नो कथाको विषयवस्तु, प्लटको संकेत मिल्थ्यो । गल्फ खेलाडी ज्याक निकलसले सपनामै गल्फ क्लब समाउने नयाँ तरिका देखेको थिए । उनले सपनाअनुसार गल्फ क्लब प्रयोग गरेपछि गल्फ गेममा क्रान्ति आएको मानिन्छ । त्यस्तै, बिथोविन, पाउल म्याकक्यार्टेनी, बिली जोएल लगायत थुप्रै संगीतकारले आफ्नो संगीतको ज्ञान सपनामा पाएका थिए । धर्मग्रन्थहरूमा पनि प्रशस्तै छन्, सपनाका कुराहरू ।