

बिर्तामोड । झापाको बिर्तामोडमा एक कार्यक्रममा उपस्थित व्यक्तिहरू छिन छिनमा हास्ने, घरी घरी सुकसुकाउने, एकछिन चिच्याउने, अनि बेला बेला मौन बन्थे । यसरी एउटा कार्यक्रममा तिनै व्यक्तिहरूले विभिन्न मानवीय स्वभाव प्रर्दशनी गर्दा कसैले आफूलाई अर्ध र कसैले पुरै पागल भएको अभिव्यक्ति पनि दिएका थिए ।
वास्तवमा उनीहरू कुनै स्वास्थ्य अस्वस्थको कारणले त्यस्तो गरेका भने थिएनन् । गजलको संसारमा डुब्दा उनीहरूमा त्यस्तो भाव झल्किएको थियो । श्रोता सहभागीहरू गजलका शब्द अनुसार वा वा भन्दै हास्ने , चिच्याउने, सुकसुकाउने र भावुक बनेका थिए ।

आज (शनिबार) नेपाल गजल प्रतिष्ठानको आयोजनामा आयोजित ‘गजल मुशायरा’ मा सहभागी गजलकारहरूले वाचन गरेको गजल सुनेर श्रोताहरू दंगदास बनेका थिए ।
दिउसो २ बजे बाट वाचन सुरु भएको ‘गजल मुशायरा’ बेलुका ६ बजे सम्म लगातार सञ्चालन भएको थियो । सङ्गीतको तालमा वाचन भएका गजलहरूले झापामा गजलको क्षेत्रमा नयाँ आयाम थपिएको उपस्थितहरूको भनाई रहेको छ ।



त्यसैगरी सहभागी तर्फबाट गजलकारहरू युवराज खतिवडा, विजय योजित, खगेन्द्र दाहाल र आयोजक तर्फबाट भोजराज घिमिरेले गजल वाचन गरेका थिए ।
गजललाई मिठास दिन प्रत्यक्ष वाद्यवादनको पनि व्यवस्था गरिएको थियो । गजल मुशायरा’ मा विजय दङ्गालले गजललाई गायनको माध्यमबाट प्रस्तुत गरेका थिए । वाद्यवादन तर्फ दिनेश घिमिरेले तबला र लक्ष्मण ओलीले गितार बजाएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली गजल समाज, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्सको सहकार्य रहेको थियो ।
नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा गजल वाचन तथा कार्यक्रमको सञ्चालन झापाली गजलकार खगेन्द्रा खुशीले गरेको वीरता रिडर्सका अध्यक्ष तीर्थ सिग्देलले जानकारी दिए ।
गजल मुशायरा गजल भित्रको एक विधा रहेको र यस विधा पछिल्लो समययता श्रोताले धेरै मन पराउने गरेकाले झापामा गजल मुशायरा आयोजना गरिएको सिग्देलले बताए ।

कार्यक्रमका लागि ग्लोबल आइएमई बैंक, एक्सल बैंक, बेल्स मोडल स्कुल लगायत संस्थाहरूले प्रायोजन गरेका थिए । कार्यक्रमको ट्राभल पार्टनर सनराईज ट्रान्सपोर्ट एण्ड टुरिष्ट सर्भिस, अनलाईन पार्टनर साहित्यपोष्ट र मिडिया पार्टनर इ-खवरपाटी रहेको थियो ।

