Aamsanchar

टरिगाउँ विमानस्थल विस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यनलाई दिने तयारी

Author Image
मङ्गलवार, वैशाख १८, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले टरिगाउँ विमानस्थल विस्तारका लागि नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने भएको छ ।

उपमहानगरको २१ औँ कार्यपालिका बैठकले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने निर्णय गरेको मेयर टिकाराम खड्काले जानकारी दिए । मेयर खड्काका अनुसार नागरिक उड्यन प्राधिकरणले कपास विकास समितिको जग्गा आफूले पाएमा विमानस्थल बिस्तार गर्न सकिने लिखित आशय व्यक्त गरेको थियो । प्राधिकरणको माग बमोजिम उपमहानगरले टरिगाउँ विमानस्थल देखी दक्षिणतर्फ रहेको कपास विकास समितिको तीन बिगाहा जग्गा हकभोग अधिकार सहित नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्न भूमि व्यवस्था शाखालाई निर्देशन दिएको छ ।

टरिगाउँ विमानस्थलको रनवे हाल ७ सय ५० मिटर मात्रै छ । रनवे कम भएका कारण यहाँ टुइनेटर विमान मात्रै बस्ने गरेका छन् । तर, ती विमानको उडान नियमित छैन् । उडान नियमित नभएपछि दाङ लगायत साविक राप्ती वासी हवाई सेवाका लागि नेपालगन्ज र भैरहवा जान बाध्य छन् ।

तुलसीपुर उपमहानगरले नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएसँगै रनवे बढाएर १८ सय मिटर पु¥याउने लक्ष्य राखिएको उपमेयर स्यानी चौधरीले जानकारी दिइन । उपमेयर चौधरीका अनुसार कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गरी विमानस्थलदेखि उत्तर तर्फको जग्गा अधिग्रहण गरे रनवे १८ सय मिटर बनाउन सकिने डिपिआर नागरिक उड्यन प्राधिकरणले तयार पारेको छ । सोही डिपिआर बमोजिम काम गर्नेगरी तुलसीपुर उपमहानगरले संघीय सरकारबाट बजेट माग गर्ने लगायतका काम अघि बढाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)