Aamsanchar

बिर्तामोडको हरियाली पार्क रमणीय बन्दै 

Author Image
मङ्गलवार, असार ४, २०८१

बिर्तामोड । झापाको एक व्यापारिक केन्द्रको रुपमा स्थापित भइसकेको बिर्तामोड शहर देखि करिव चार किलो मिटर पूर्व तर्फ मुख्य राजमार्ग नजिकै रहेको छ हरियाली पर्यटकीय स्थल । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा पर्ने हरियाली सामुदायिक वन उपभोक्ता समितिद्वारा व्यवस्थापन हुँदै आएको हरियाली पर्यटकीय स्थल आन्तरिक पर्यटकहरूको एक उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।
सामुदायिक वन क्षेत्रको ४.८२ हेक्टरमा फैलिएको हरियाली पर्यटकीय स्थल २०७६ सालदेखि निर्माण प्रारम्भ भएको थियो ।

क्रमश वर्षहरूमा स्थानीय पालिका, प्रदेश र संघीय सरकारबाट प्राप्त विभिन्न शीर्षकको बजेटबाट एक पछि अर्को भौतिक निर्माणकार्य हुँदै आएको यस पर्यटकीय स्थल औपचारिक रुपमा भने २०८० मंसिर ७ गतेबाट सञ्चालनमा आउन थालेको हो ।

पर्यटकीय स्थल निर्माणका लागि हाल सम्म करिव ८२ लाख रुपैयाँ सरकारले लगानी गरिसकेको छ ।

पर्यटकीय स्थलको गुरुयोजना भने करिव २५ देखि ३० करोडको रहेको छ । गुरु योजना अनुसार हालसम्म एउटा गोलाकारको विशाल पोखरी निर्माण भइसकेको छ । त्यसैगरी पार्क प्रवेश द्वार, बनभोज स्थल, तिन स्थानमा इन्टरनेट जडान, शौचालय हरु, बालबालिकाका लागि पिङ, फलैचा, खानेपानी, विजुली बत्ती जडान लगायतको काम भएको छ ।

पर्याप्त बजेट अभावका कारण पार्क निर्माणले द्रुत गति लिन नसकेपनि आन्तरिक पर्यटकहरूलाई घुमफिर गर्न भने पर्याप्त ठाउँ तयार भएको छ । गुरुयोजना अनुसार अब यस स्थलमा ४०–८० फिटको सभाहल निर्माणको योजना अघि सारिएको छ ।

त्यसैगरी पार्कलाई अझ व्यवस्थित र  रमणीय बनाउन ओभर बृज, रोटेपिङ, सेल्फी जोन, टिकट काउन्टर, पानी फोहोरा, पार्किङ जोन, पखेरीमा डुङ्गा, व्यवस्थित चिडियाखाना, मन्दिर, बगैंचा, सांस्कृतिक सङ्ग्राहालय, ज्येष्ठ नागरिक पार्क, घोडचडीको लागि घोडा, बाल उद्यान, देवी थान, ट्रि हाउस लगायतका पूर्वाधार बनाउने हरियाली सामुदायिक वनको गुरु योजनामा पर्दछ ।
बिर्तामोड –६, अर्जुनधारा ११ र मेचीनगर नगरपालिका १३ नम्बर वडाको संगम स्थलमा रहेको हरियाली पर्यटकीय स्थल तीनवटै पालिका वासीको लागि र देशका सबै जिल्लाका मानिसहरू पूर्वपश्चिम मुख्य राजमार्गहुँदै आवतजावत गर्ने हुँदा यो पर्यटकीय स्थलमा पर्यटकको अभाव नहुने देखिन्छ ।

निर्माणाधीन अवस्थामा रहेको यस पार्कमा ७ महिनाको अवधीमा ३ हजार भन्दा धेरै आन्तरिक पर्यटकहरूले हरियाली पार्क अवलोकन गरिसकेको व्यवस्थापन समितिका उपाध्यक्ष केदार खतिवडाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर