Aamsanchar

कनकाई नगर अस्पतालमा स्वास्थ्य सेवा सुधार, नागरिकहरूको  आकर्षण बढ्यो 

Author Image
सोमवार, असार २४, २०८१


बिर्तामोड ।  झापाको कनकाई नगरपालिका नगर अस्पतालमा सेवा लिन आउने सर्वसाधारणहरूको भिड बढ्न थालेको छ । नगर अस्पतालमा विशेषज्ञ डाक्टरहरूको  नियमित सेवा थप भएपछि कनकाई नगर अस्पतालमा सेवाग्राहीको आकर्षण बढेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को बैशाख मसान्त सम्म ५९ हजार ७७ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । जसमा अन्तरङ्ग सेवा ६ सय ६१, प्रसूति ४० र इमर्जेन्सी सेवा ९ सय ८७ जनाले लिएका छन् ।

कनकाई नगर अस्पतालमा १५ वर्ष मुनिका ५ हजार २ सय २६ र १९ हजार १ सय ७६ जना ज्येष्ठ नागरिकहरूले स्वास्थ्य सेवा लिएका छन् ।
कनकाई नगर अस्पतालमा इन्टरनल मेडिसिन, बाल रोग, स्त्री रोग, हाडजोर्नी, प्रसूति, मानसिक रोग विशेषज्ञ सेवा प्रवाह हुँदै आएको छ भने निकट दिनबाट क्यान्सर रोग स्क्रिनिङ सेवा पनि उपलब्ध हुने अस्पतालकी प्रमुख डाक्टर विद्या पोखरेलको भनाई छ । 

उच्च स्तरीय ल्याब सहित भिडियो एक्स्रे को पनि सुविधा रहेको कनकाई नगर अस्पतालमा सरकारले तोकेको १५ वटा बेड रहेको छ ।  सेवाग्राहीको सङ्ख्या बढ्दै जान थालेपछी अब कनकाई नगर अस्पतालमा बेड थप गर्नुपर्ने अवस्था बनेको छ । हिजोका दिनमा नगर अस्पतालमा स्वास्थ्य सेवा लिन नजाने र नचाहनेहरू आजभोली नगर अस्पतालमै सेवा लिन थालेका छन् । सरकारी अस्पतालमा सेवा विस्तार र राम्रो सँग सञ्चालन नगरिँदा चर्को शुल्क तिरेर अन्यत्र डाक्टर भेट्न र औषधिउपचार गर्न जानु पर्ने बाध्यतामा परेका कनकाईका नागरिकहरू अब भने कनकाई नगर अस्पतालमा स्वास्थ्य सुविधा र व्यवस्थापन पक्षमा सुधार आएपछि आफ्नै नगरको अस्पतालमा उपचार गर्न थालेको भनेर सेवाग्राही ओम पाठकले अस्पतालको सेवाप्रति खुसी व्यक्त गरेका छन् ।  

विगत अढाई वर्ष अघि सम्म प्राथमिक उपचार केन्द्र र रेफर सेन्टरको रुपमा मात्र रहेको यो स्वास्थ्य संस्था अहिले भने सुविधा युक्त बनेको छ । कनकाई नगर अस्पतालमा सेवा प्रभावकारी बन्दै गएपछि नगर अस्पतालमा कनकाई नगरवासी मात्र होइन छिमेकी पालिकाहरू,  झापा गाउँपालिका बाह्रदशी गाउँपालिका, शिवसतासी, अर्जुनधारा र बिर्तामोड नगरपालिकाका छिमकी भूभागबाट पनि सेवा लिन आउनेगरेको सङ्ख्या बढ्दै गएको अस्पताल सञ्चालन समितिका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिए ।  

कनकाई नगरपालिकाले नागरिकको आधारभूत सेवा अन्तरगत स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । नगरपालिका, प्रदेश र सङ्घीय सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवा कनकाई नगर अस्पतालमा प्रभावकारी ढङ्गले सेवा प्रवाह भइरहेको कनकाइ नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । 

नागरिकको लागि अतिजरुरी अनिवार्य सेवामा स्वास्थ्य सेवा पर्दछ । कनकाई नगरपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर गरेका स्वास्थ्य सुधारका कामहरू प्रशंसा योग्य रहेको छ । तर कनकाई नगर अस्पतालको यति मात्र सेवाबाट नागरिकहरूले पूर्ण रुपमा सुविधा पाउन सक्ने अवस्था अझै बनिसकेको छैन । थप स्वास्थ्य सेवा उपलब्ध गराउन कनकाई नगरपालिकाले अझ प्राथमिकताको साथ ध्यान जान जरुरी हुन्छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)