Aamsanchar

चारपाने बेलडाँगी खेल मैदानमा घाँस रोप्नको लागि शनिबार वृहत श्रमदान कार्यक्रम हुने 

Author Image
शुक्रवार, साउन १८, २०८१

चारपाने । झापा बिर्तामोड नगरपालिका २ बेलडाँगी स्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानको स्तरोन्नतिको लागि जनश्रमदान अभियान सञ्चालन हुँदै आएको छ ।
चारपाने भेट्रान क्लब र एकता स्पोर्टिङ क्लबको संयोजनमा खेल मैदान स्तरोन्नतिको काम सुरु भएको हो ।

गत हप्ता खेलमैदानमा ट्रयाक्टर लगाएर जोतिएको थियो । जोतिएको ठाउँमा तीन दिन देखि घोडेझार रोप्ने काम भइरहेको छ । झार रोप्ने कार्यमा चारपाने भेट्रान्स र एकता स्पोर्टिका सदस्यहरू, वीर अमरसिंह माविका विद्यार्थीहरूले श्रमदान गर्दै आएका छन् । ज्यालादारीमा दैनिक १५ जना खेतालाहरू  पनि खटाइएको चारपाने भेट्रानका अध्यक्ष माधव खरेलले जानकारी दिए ।

१ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा रहेको खेलमैदानलाई दुई वर्ष अगाडि विद्यालयले स्थानीय एकता स्पोर्टिङ क्लबलाई प्रयोग गर्न र खेल मैदान संरक्षण गर्नेगरी जिम्मा दिएको थियो ।

वीर अमरसिंहको खेलमैदान बेलडाँगी क्षेत्रको एक गौरवको रुपमा रहेको छ । यस मैदानमा जिल्ला स्तरीय फुटबल प्रतियोगिताहरू आयोजना हुँदै आएको थियो । विगत दुईवर्ष अघि सम्म राम्रो घाँसे मैदान रहेको यो मैदान क्रमश वर्षायामको पानीले माटो बगाउँदै लगेपछि ढुङ्गा निस्किन थालेपछी हाल खेल मैदान खेलखेल्न अयोग्य मैदान बनेको थियो । खेलाडी बालबालिकाको लड्दा ढुङ्गाले चोटपटक लाग्न थालेपछी मैदान मर्मत तथा स्तरोन्नतिको काम थालिएको एकता स्र्पोटिङ क्लबका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

मैदान स्तरोन्नतिको लागि  विभिन्न व्यक्ति तथा संस्थाहरूले आर्थिक तथा भौतिक सहयोग गरेका छन् ।

क्रसर तथा निर्माण व्यवसायी केदार गिरीले मैदान सम्याउन ग्रेडर सहयोग गरेका थिए । ग्रेडरमा लाग्ने तेलको लागि बिर्तामोड नगर पालिका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी सुरसिंह विष्टले १७ हजार, चारपाने भेट्रान्स सदस्यबाट २५ हजार रुपैयाँ सहयोग जुटेको छ । एकता स्पोर्टिङ क्लबले करिव ८५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मैदान स्तरोन्नति गर्न श्रमदान बाहेक घाँस खरिदमा २५ हजार, घाँस रोपाहार ज्याला ६० हजार अन्य विविध खर्च गरेर करिव तीन लाख रुपैयाँ खर्चहुने बताइएको छ ।

भोलि शनिवार वृहत श्रमदान कार्यक्रम गरेर घाँस रोप्ने सूचना गरेर श्रमदानमा सहभागी हुन स्थानीय सबैमा चारपाने भेट्रान्स र एकता क्लबले आव्हान गरेको छ । बिहान ६ बजे देखि श्रमदान सुरुहुने बताइएको छ ।

स्वस्थ जीवनको लागि मात्र होइन, राष्ट्रको लागि पनि खेल भन्ने भनाई स्थापित भइसकेको छ । बालबालिकाको शारीरिक विकासको लागि खेलकुदको महत्व धेरै रहने गर्दछ । जहाँ खेल मैदान बनाइएको हुन्छ सो क्षेत्रका बालक देखि अधबैंसे उमेर समूहका मानिसहरू अरुको तुलनामा स्वस्थ, सामाजिक, व्यवहारिकअनुशासित हुनेगरेको देखेर, बुझेर  खेल मैदानको प्रयोग र संरक्षणको जिम्मा समुदायलाई दिइएको वीर अमरसिंह माविका प्राचार्य यदुनाथ अधिकारीले आमसञ्चारलाई बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर