Aamsanchar

साउदीमा गैरकानुनी रूपमा बसेका नेपालीसहित १९ हजार ९ सय ८९ आप्रवासी श्रमिक पक्राउ

Author Image
आइतवार, भदौ २, २०८१

काठमाडौं । साउदी अरबले गैरकानुनी रूपमा बसेका नेपालीसहित अन्य विदेश श्रमिक धरपकड अभियानलाई तीव्रता दिएको छ । गृह मन्त्रालयले ८ देखि १४ अगस्टसम्म साउदी अरेबियाभरि बसोबास, श्रम र सीमा सुरक्षा कानुनको पालना नगर्ने १९ हजार ९ सय ८९ आप्रवासी श्रमिक पक्राउ गरेको छ ।

जसमा रेसिडेन्सी कानुन उल्लंघन गर्ने ४ हजार ५ सय १९ सीमा सुरक्षा र २ हजार ८ सय ६२ श्रम कानुन उल्लंघन गरी १९ हजार ९ सय ८९ उलंघनका मुद्दा दर्ता भएको छ । रेसिडेन्सी नियमको उल्लंघन, सीमा सुरक्षा उल्लंघन र श्रम कानुन अपराधलगायत विभिन्न उल्लंघनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न अभियानलाई तीव्र पारिएको साउदीको गृह मन्त्रालयले जनाएको छ ।

राज्यमा ९ सय १३ व्यक्तिको अवैध प्रवेशलाई सुरक्षाकर्मीले रोकेको मन्त्रालयले जनाएको छ । यसबाहेक, अवैध रूपमा राज्य छोड्न खोज्ने ३४ जनालाई पक्राउ गरिएको जनाइएको छ भने उल्लंघन गर्नेलाई ओसारपसार गर्ने, आश्रय दिने र काममा लगाउने काममा संलग्न रहेको आरोपमा नौ जनालाई सुरक्षा बलले पक्राउ गरेको जनाइएको छ । मन्त्रालयले गैरकानुनी सीमा नाकाबाट सहजीकरण गर्ने वा सहभागी गराउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।

यी दण्डमा १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ । देशका सुरक्षा बलहरूद्वारा गरिएको क्र््याकडाउनले राज्यका सबै क्षेत्रमा कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ । उनीहरूले जनतालाई राज्यभरि तोकिएका आपत्कालीन सम्पर्कहरूमार्फत कुनै पनि संदिग्ध उल्लंघनको रिपोर्ट गर्न आग्रह गरेको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

९६ नेपालीलाई एक्जिट भिसा
साउदीमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ९६ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ९६ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूका लागि स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रोसेस निःशुल्क हुने दूतावासले जनाएको छ ।

यसका लागि एक पैसा पनि तिर्नुपर्दैन । साथै, यस्ता घटनालाई कम गर्न दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ । आजको राजधानीमा समाचार छ । 

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर