Aamsanchar

बिर्तामोडका १ सय २४ ठाउँमा सीसी क्यामरा,  ४३ ठाउँको फुटेज प्रहरी सँग आँउदैन 

Author Image
आइतवार, भदौ १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड सहरका गौडा गौँडामा सीसी क्यामरा जडान गरिएको छ भने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । सडक क्षेत्रमा खुला र गोप्य रुपमा जडान गरिएको सीसी क्यामराका कारण सवारी दुर्घटना छानविन, चोरी, तस्करी र विभिन्न आपराधिक गतिविधि गर्नेहरूलाई पक्राउ तथा निगरानी गर्न सीसी क्यामरा जडानले इलाका प्रहरी कार्यालयलाई  अनुसन्धान गर्न सघाउन पुर्याएको थियो ।
सहरका चोकचोकमा सीसी क्यामरा जडान भएपछि स्थानीय व्यवसायी सर्वसाधारणहरू चैनको निद्रा लिन थालेका थिए । क्यामरा जडान भए पछि बिर्तामोड मुख्य चोक गल्लीहरूमा चोरी तथा  आपराधिक घटनाहरू घट्ने क्रममा  कमी आएको स्थानीयहरुको भनाई छ ।

चाडवाड नजिकिए सँगै चोरीका घटनाहरू बढ्ने गरेको पाइएको छ । यस वर्ष पनि चाड पर्वहरूनजिकि सकेको छ । बिर्तामोडमा चोरीका घटनाहरू बढ्न थालेको छ । बिर्तामोडमा खासगरि मोटरसाइकल चोरीको घटना दर उच्च रहेको छ । चोरीको घटना बढेपछि पीडितहरू अनुसन्धान गरिदिन भन्दै इलाका प्रहरी कार्यलयमा पुग्ने गरेका छन् । प्रहरी कार्यालयमा बिर्तामोडका केही मुख्य ठाउँ र गल्लीहरूमा राखिएको  तीन दर्जन भन्दा धेरै सीसी क्यामराको फुटेज भने देखिदैन ।

घटनाको वास्तविकता पत्ता लगाउन, अनुसन्धानको प्रमुख माध्यम बनेको सीसी क्यामराहरू कतिपय महत्वपूर्ण ठाउँमा बिग्रिएर थन्किएको महिनौँ भइसक्यो । आर्थिक श्रोत नभएका कारणले मर्मत तथा परिवर्तन गर्न नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश विष्टले बताए ।

बिर्तामोडका मुख्य चौबाटो चोकहरूमा १ सय २४ वटा सीसी क्यामरा जडान गरिएको छ । स्थानीय सामाजिक सङ्घसंस्था लगायतको सहयोगमा जडान गरिएको सिसि क्यामराहरू मध्ये ४३ वटा क्यामराहरू पूर्ण रूपले नबन्ने गरि खराब भएको छ । त्यसैगरि मर्मत सम्भारको पर्खाइमा रहेको ८१ वटा क्यामराहरू जेनतेन चालु अवस्थामा रहेका छन् । ति क्यामराहरू तत्काल मर्मत नगर्ने हो भने केही महिना पछि बिर्तामोड सीसी क्यामराको निगरानी बाहिर रहेको सहर बन्ने निश्चित भएको छ । यस सँगै बिर्तामोडमा सुरक्षा चुनौती बढ्न सक्ने भएकाले छिटो भन्दा छिटो बिग्रिएको क्यामरा परिवर्तन तथा मर्मत गरिनु पर्ने बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले माग राखेका छन् ।  उनले भने ‘बिर्तामोडका व्यवसायी र नागरिकको जनधनको सुरक्षाको लागि प्रहरी प्रशासनले कडा निगरानी गर्न आवश्यक छ । बिग्रिएको सीसी क्यामरा मर्मत तथा परिवर्तन गर्नको लागि स्थानीय सरकार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईको ध्यानाकर्षण गराएको छु । केही दिनमा जिल्लाका तीनवटै सुरक्षा प्रमुखसहित बिर्तामोडमा सीसी क्यामरा व्यवस्थापन गर्नको लागि सर्वपक्षीय छलफल आयोजना गर्ने छु ।’

बिर्तामोडमा यतिको धेरै सङ्ख्यामा सीसी क्यामरा बिग्रिएको कुराले बिर्तामोडका अगुवा व्यवसायी र समाजिक अभियन्ताहरू सुरक्षाको विषय प्रति गम्भिर बनेका छन् । यसै सन्दर्भमा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमलीले सीसी क्यामरा चालु अवस्थामा राख्नको लागि सरोकार पक्ष सँग माग रहेका छन् ।  उनले भने बिर्तामोड कोशी प्रदेश कै एक व्यवसायिक केन्द्र हो, बिर्तामोडको बढदो चहलपहल, अवैद्ध रुपमा भित्रिएका विदेशी नागरिकहरु विर्तामोडको शान्तिसुरक्षाको बाधक बन्न सक्छन्, वेलैमा हामीले सचेत बन्नु पर्ने हुन्छ । चाडवार्डमा  शान्ति सुरक्षा कायम राख्न कम जनशक्ति भएको प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको  देखेका छौ। प्रहरीले आग्रह, समन्वय गरे सीसी क्यामरा जडानको लागि हिजोको दिनमा पनि सहयोग गरिएको थियो अब पनि गर्ने छौं ।’

सीसी क्यामरा मार्फत बिर्तामोड मुख्य बजार देखि बाहेक चारपाने, रामचोक, माहानन्द चोक, नयाँ बसपार्क, बुट्टाबारी, गरामनी, सुरुंगा, लक्ष्मीपुर क्षेत्रलाई प्रहरीले सीसी क्यामरा मार्फत निगरानी गर्दै आएको छ ।
जडान गरिएको क्यामराहरू स्थानीय सरकारी कार्यालय, बिर्तामोड नगरपालिका, सहकारीहरु, सुन मार्के समिति, स्थानीय व्यवसायीहरु, प्रदेश सरकारलगायतले सीसी क्यामरा जडानमा आर्थिक सहयोग गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर