Aamsanchar

बिर्तामोडमा दुई महिना देखि सडक पेटीमा नालाको ढक्कन यत्रतत्र, पैदलयात्रीलाई हिँडनै कठिन 

Author Image
सोमवार, भदौ ३१, २०८१

बिर्तामोड । झापाको बिर्तामोड सहरमा किनमेल तथा आवत जावत गर्ने पैदल यात्रीहरू नगरपालिकाको काम प्रति रुष्ट भएका छन् ।
अव्यवस्थित सवारी पार्किङको कारण अवरोधमय बनेको सडक पेटीमा नगरपालिकाले अझ नालाको ढक्कनहरु यत्रतत्र पल्टाएर छोडिदिएको कारण आवतजावत गर्न झन असहज भएको भन्दै सर्वसाधारण पैदलयात्रीहरु नगरपालिका प्रति रुष्ट भएका हुन् ।

धेरै ठाउँ पहिले नाला निर्माण गर्दा नै ढक्कन बनाइएको थिएन । दशकौं वर्ष सम्म घपनी विनाको नालाका कारण दुर्घटनाका घटना घट्ने गरेको र दुर्गन्ध फैलिदै आएको छ ।
गत असारमा आएको अविरल वर्षाका कारण बिर्तामोड –५ मुख्य सडक काँकडभिट्टा रोडको नाला थुनिएको कारण डुबाउ भएको थियो । डुबानका कारण व्यापारीहरूको सामानमा क्षति पुगेको थियो । सहर जलमग्न भएपछि नगरपालिकाले नालामाथि राखिएको ढक्कनहरु खोलेर नाला सफा गरेर पानीको निकास दिएको थियो ।

तत्कालिन अवस्थामा नगरपालिकाले गरेको कामको स्थानीय व्यवसायीहरूले प्रशंसा गरेका थिए । तर यति बेला दुई महिना सम्म नालाको ढक्कन नगरपालिकाले व्यवस्थापन नगरेको प्रति हिजो प्रशंसा गर्ने व्यवसायीहरू पनि अहिले नगरपालिकाको आलोचना गर्न थालेको प्रसाईँ मार्केटका एक व्यापारीले बताए ।

बिर्तामोड मुक्तिचोक पूर्व उत्तर तर्फ करिव ३ सय मिटर नालाको ढक्कन निकालेर नाला सफा गरिएकोमा अझै पुरानो हिकोला, मेघा कम्प्लेक्स्, पुरानो इलाम स्टेन क्षेत्रमा नालाका ढक्कनहरु यत्र तत्र पल्टिएको अवस्था रहेको छ ।

त्यसैपनि साँधुरो सडक पेटीमा पार्किङ, फुटपाथ पसल, कतिपय ठाउँमा निर्माण सामग्री राखिएको छ त्यसमा नालाको ढक्कन पनि पैदल हिड्ने ठाउँमा हुँदा पैदल यात्रीहरूमा हिडन पाउने अधिकार हनन भएको इलामबाट बिर्तामोडमा किनमेल गर्न आएका हरि गुरुङले नगरपालिकाको लथालिङ्गे काम भन्दै आलोचना गरे ।

दशैँ चाडवाड नजिकिएको छ । हर्स र उल्लासको यस अवधिमा कम्तिमा बजार क्षेत्र सफा, व्यवस्थित उपभोक्ता मैत्री बनाइनु पर्ने हो यस तर्फ नगरपालिका, बिर्तामोड उद्योग वाणिज्य सङ्घ, सामाजिक सङ्घसंस्था, उपभोक्ता मञ्च, स्थानीयवासी र व्यवसायीहरू यस विषय प्रति सचेत हुनुपर्ने हो तर त्यस्तो सचेत नबनेको देखियो नारायणगढ चितवनका अर्का पैदल यात्री राजिव श्रेष्ठको भनाई छ ।
कार्यक्रमहरु सभासम्मेलनहरुमा पूर्वकै व्यापारिक, भव्य र सभ्य सहर बिर्तामोड भनेर वाणी वाचन गर्नेहरु पनि यो विषय प्रति मौन छन् । यस्तो अवस्थाको कारण अन्यत्र गएर आफूलाई  बिर्तामोडवासी भन्न लाजलाग्न थालेको एकजना स्थानीयको भनाई छ ।

उता बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष रोहित प्रसाईलाई ढक्कन निकालेर किन नलगाएको भनेरे प्रश्न गर्दा ‘सडक विभागको क्षेत्र अधिकार पर्छ, तत्कालीन विपतको बेला नगरपालिकाको खर्चले पानीको निकास दिएका थियौं । सो पस्चात ढक्कन लगाउन कामदारलाई जिम्मा दिएको छ, धेरै ठाउँमा पुन ढक्कन नालामा लगाई सेकेको छ, कामदारको ठिलासुस्तीका कारण मुख्य ठाउँहरुमा अझै ढक्कन लागेको छैन ।’
उनले थप्दै भने ‘वास्तवमा सडक पेटी व्यवस्थापनको काम सडक विभागले गर्नु पर्ने हो सडक विभाग कर्मचारीलार्ई नाला र सडक व्यवस्थित गर्न धेरै पटक अनुरोध गरियो, जवाफमा अब एसियन परियोजना अन्तरगत काम हुने जवाफ आउछ एसिएन सडक निर्माण कम्पिनीलाई भन्दा अब छिट्टै भत्काउने भन्छन । व्यसायीहरुहरुले पनि आफ्नो पसल अगाडिको ढक्कन हरु व्यवस्थापन गर्न श्रम सहयोग गर्ने भन्नु भएको छ । अब दुई दिन पछि व्यवसायी साथीहरुको सहयोगमा निकालिएको बाकी ढक्कन लगाउने काम सम्पन्न हुने छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर