सँगै हिँडेका दिनको अवस्था
अभावको गर्त र दर्द पीर
बिर्सेर उन्मत्त हुँदै छ वीर
सामन्त हुन् शोषक शत्रु ठान्थ्यो
साम्राज्यको वृत्त म तोड्छु भन्थ्यो
वर्गीयताको गहिरो छ खाडल
सम्याई पार्नेछु सबै बराबर
भन्दै हिँडेको चतुरे कहाँ छ ?
विलासको मन्जिलमा पसेछ
मौका परे बेच्दछ मातृधर्ती
निर्लज्ज पाखन्ड छ देशद्रोही
भेडा बन्यौँ कि सब ब्याड राख्दा
गरौँ समीक्षा अब धान रोप्दा
लाग्दैन घोगा बिउ फेर्नुपर्छ
चक्रीय बाली अब गर्नुपर्छ
किरा विदेशीहरू सल्बलाए
चिराचिरा पार्न दिमाग भाँडे
सारा युवाको सपना बिगारे
जम्मै चमेराहरु नाच्न थाले
म मिर्ग ठान्थेँ तर दुष्ट ब्वाँसो
झुक्याउँदै घुम्छ दलेर ध्वाँसो
विश्वास आदर्श सबै डढायो
योद्धाहरूको बलिदान खायो
विपन्नता भोट र ओष्ठमा छ
सम्पन्न साहूसँग (कोष्ठ)मा छ
चरित्र नै चित्र विचित्र लाग्छ
आख्यानको स्याल समान लाग्छ
साथी तिमी बौद्धिक हो कि दास ?
ढोगेर जुत्ता किन गर्नु आश ?
सचेत नै बन्छ समान लास !
भविष्य फल्ने छ सधैँ विषाद !
हिमाल, पाखा र मधेसलाई
जुत्ता बनायो सब देशलाई
सम्पूर्ण नेतृत्व छ देशघाती
पछाडि ढुक्दै छ तथापि साथी
दलीय दुर्गन्ध सधैँ नछोपौँ
सङ्कीर्ण व्यामोह सधैँ नबोकौँ
विवेक ताला अब खोल्नुपर्छ
सचेत सामूहिक बोल्नुपर्छ ।
लेखक अर्जुनधारा– ८ , झापा निवासी हुन ।