Aamsanchar

अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापित

Author Image
बिहिवार, पौष ४, २०८१

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीवार अर्जुनधारा नगरपालिकामा आयोजित विशेष समारोहमा अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र जापानको तोनो सिटीका मेयर काजुहिको ताडाले औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

जापानको ११ सदस्यीय प्रतिनिधिमण्डल, जसको नेतृत्व मेयर काजुहिको ताडाले गरेका थिए, नगरप्रमुख बलदेवसिंहको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको थियो। भ्रमणका क्रममा कृषि, स्वास्थ्य, र विभिन्न क्षेत्रहरूमा सहकार्यका लागि योजना तयार पारिएको छ।

कूटनीतिक समन्वयमा थप महत्व
कार्यक्रममा संघीय सांसद र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको क्षेत्र रहेकोले संघीय सरकारसँग समन्वयात्मक कार्यक्रमहरू अगाडि बढाउने गरप्रमुख बलदेवसिंह गोम्देनले  विशेष प्रतिबद्धता व्यक्त गरेका छन् । दुवै नगरपालिकाले द्विपक्षीय साझेदारीलाई स्थानीय तथा संघीय स्तरमा विस्तार गर्न सहमति जनाएका छन्।

सांस्कृतिक आदान–प्रदान र स्वागत समारोह
जापानी टोलीलाई अर्जुनधारा नगरपालिकाले परम्परागत नौमती बाजा र सांस्कृतिक कार्यक्रममा सहभागी गराउँदै स्वागत गरेको थियो। सांस्कृतिक प्रदर्शनहरूले नेपाली पहिचानलाई उजागर गर्दै मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाएको छ।

जापानी टोलीका सदस्यहरूमध्ये तोनो सिटी काउन्सिलका अध्यक्ष तसुतोमु ताडा, उपाध्यक्ष हिरोसी किकोची, उद्योग विभागका निर्देशक मानमी सासाकी, र अन्य उच्चस्तरीय अधिकारीहरू सामेल थिए।

कृषि र स्वास्थ्य क्षेत्रमा सहकार्य
भ्रमणको क्रममा कृषि र स्वास्थ्य क्षेत्रका परियोजनाहरूमा द्विपक्षीय सहयोग गर्ने समझदारी कायम भएको छ। यी क्षेत्रहरूमा प्रविधि हस्तान्तरण र ज्ञान आदान–प्रदान गरेर दुवै नगरपालिकाको विकासमा योगदान पु¥याउने लक्ष्य राखिएको छ।

यो समझदारीले नेपाल–जापान सम्बन्धमा स्थानीय तहको महत्वपूर्ण भूमिका उजागर गरेको छ। दुई नगरपालिकाबीचको यो सम्बन्ध दिगो विकास र आपसी सहकार्यका लागि दीर्घकालीन आधार बन्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर