



दाङ। बबई गाउँपालिकाको वडा नम्बर ३ मा समृद्धि स्वावलम्बी समूहका दिदीबहिनीहरूले बाख्रा उपहार प्रदान गरेका छन्। बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत प्राप्त बाख्राहरूलाई समुहका सदस्यहरूले एकअर्कामा उपहार स्वरूप प्रदान गरेका हुन्।



समूहका सदस्य विष्णुमाया बिक, सुस्मिता चन्द ठकुरी, चित्रा मल्ल, पिउमाली डाँगी, डण्डीकुमारी खत्री र कल्पना मल्लले उपलब्ध गराएका बाख्राहरू समूहका अन्य सदस्यहरू हेमा बिक, मेलिना पुन, प्रतिमा वली डाँगी, शोभा भण्डारी, कमला वली र कल्पना डीसीले प्राप्त गरेका छन्।



यो कार्यक्रम बबई गाउँपालिकाको आर्थिक सहयोग, समाजमा वातावरणीय शिक्षाको विकासमा क्रियाशील सीड संस्थाको समन्वय, र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको हो।

बबई गाउँपालिकामा हालसम्म ६४ वटा स्वावलम्बी समूह गठन भइसकेका छन्। यस परियोजनाले स्थानीय कृषकलाई कृषि तथा पशुपालनतर्फ प्रोत्साहित गरी उनीहरूको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेको छ। बाख्रा उपहार कार्यक्रमले समूह सदस्यहरूबीच आपसी सहयोग र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।