Aamsanchar

कोशी प्रदेश स्तरीय पूर्व प्रहरीहरूको वृहत जमघट झापामा सम्पन्न

Author Image
शनिवार, पौष ६, २०८१

बिर्तामोड । झापा जिल्लाको पर्यटकीय स्थल दोमुखामा कोशी प्रदेश स्तरीय नेपाल पूर्व प्रहरी कर्मचारीहरूको पुनर्मिलन तथा वृहत बनभोज कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

पूर्व प्रहरी समाज झापाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सांसद तथा पूर्व प्रहरी गोपालबहादुर गजमेर सहभागी थिए । झापा जिल्ला अध्यक्ष अविचन्द रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट श्रेणीका पूर्व प्रहरी तथा वर्तमान प्रहरी अधिकारीहरूको बाक्लो उपस्थिति रह्यो।

कार्यक्रममा पूर्व प्रहरी नायव महानिरीक्षक उत्तम कार्की, पूर्व प्रहरी उपरीक्षकहरू रेवत थापा, नरेन्द्र उप्रेती, ओजेश ओली, मदन गोपाल सुब्बा र अन्य प्रमुख व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखे । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसी, बिर्तामोड इलाका प्रमुख डिएसपी प्रकाश विष्ट, पूर्व प्रहरी तथा कलाकार कृष्ण शिवाकोटी, र चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीलगायतको उपस्थिति पनि विशेष रह्यो।

कार्यक्रममा १ हजारभन्दा बढी पूर्व प्रहरीको उपस्थिति रहेको थियो। तेस्रो पटक आयोजित कोशी प्रदेश स्तरीय यस कार्यक्रममा स्वागत मन्तव्य पूर्व डिएसपी धनप्रसाद शिवाकोटीले राखेका थिए भने कार्यक्रम सञ्चालन पूर्व प्रहरी इन्दिबर खड्काले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गजमेरले दन्द्धकालका कारण जागिर छोड्न बाध्य भएका पूर्व प्रहरीहरूलाई सरकारले राहत दिनुपर्ने धारणा व्यक्त गरे। उनले उनीहरूको योगदानको कदर गर्दै राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिए।

पूर्व प्रहरी (पूर्व प्रहरी कर्मचारी) हरूको समाज र राज्यप्रतिको अपेक्षा विशिष्ट हुन सक्छ, किनभने उनीहरूले आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा कानून-व्यवस्था र सुरक्षाको क्षेत्रमा बिताएका हुन्छन्।

पूर्व प्रहरीहरूले राज्यबाट उचित पेन्सन, स्वास्थ्य बीमा, र अन्य वित्तीय सहयोगको अपेक्षा रोखका छन् । सेवानिवृत्त भएपछि उनीहरूले आफ्नो सीप र अनुभव प्रयोग गर्न सक्ने रोजगारी वा व्यवसायमा सहायता चाहेका छन् । प्रहरी सेवामा रहँदा गरेको योगदानको कदर समाज र राज्यबाट हुनुपर्ने माग राखेका छन् । उत्कृष्ट सेवा पुर्याउनेलाई सेवानिवृत्तपछि पनि सम्मानजनक पुरस्कारको व्यवस्था हुनु पर्ने, प्रहरी सेवामा रहँदा देखापरेका स्वास्थ्य समस्याको दीर्घकालीन उपचारमा सहयोग हुनुपर्ने, पूर्व प्रहरीहरूको लागि स्वास्थ्य चेकअप र उपचारमा विशेष प्राथमिकता, पूर्व प्रहरी र परिवारका लागि उचित आवास योजना, पूर्व प्रहरीको अनुभवलाई कानुन निर्माण, सुरक्षा नीति, र सुधार कार्यक्रमहरूमा उपयोग गरिनु पर्ने, प्रहरी प्रशासन र पूर्व प्रहरीबीच सुमधुर सम्बन्ध कायम गरिनु पर्ने लगायतका मागहरु वक्ताहरुले राखेका छन् ।

यो कार्यक्रमले पूर्व प्रहरी कर्मचारीहरूको आपसी सम्बन्धलाई मजबुत बनाउँदै आपसी सहयोग र सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिएको आयोजकहरूले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर