आजकै दिन ४९ वर्ष अघि (२०३३ पुष १६ गते) आठवर्षे लामो भारत निर्वासनबाट मृत्युदण्ड समेतको पर्वाह नगरी आफ्ना सहकर्मीसहित राष्ट्रिय मेल मिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएको दिन । यस दिन (पुस १६) लाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा देश विदेशमा मनाउने गरेको छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दुइतिहाइ बहुमतसहित प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको मन्त्री परिषद र संसद विघटन गरि शाही सेनाको बलमा प्रजातन्त्रको हत्या काम भयो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन् बिपी, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरु माथि देशद्रोहको मुद्दासमेत लगाएर जेल हाल्नुभयो । बिपीलाई जेल हालिएको आठबर्ष पछि २०२५ कात्तिक १४ गते बिपी कोइरालालगायतका नेताहरू जेलमुक्त हुनुभयो । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते बिपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरू आफूहरूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै स्वदेश फर्किनुभयो ।

नेपाल तरुण दलको महाधिवेशन उद्घाटनमा सरिक भइरहेको अवस्थामा २०१७ साल पुस १ गत नेपाली काङ्ग्रेसका सभापति समेत रहनु भएका बिपीलाई पक्राउ गरि सुन्दरीजल जेल लगियो र प्रजातन्त्रलाई कू गरियो । भागेर, देश छोडेर हिँडेका राजाहरूलाई स्वदेश फर्काएर राजगद्दीमा राख्ने काँग्रेस र नेपाली जनताको अधिकारप्रति राजाहरूको बारम्बारको आक्रमणकै कारण ज्ञानेन्द्र शाहको पालामा आइपुग्दा नेपालबाट २४० वर्षे इतिहासको विरासत खण्डित गर्दै राजतन्त्र र राजसंस्था समाप्त भयो । विश्वको राजनैतिक इतिहासमा अत्याचार गर्नेहरुको अन्त्य यसरी नै हुँदै आएको छ, हुन्छ ! र गणतन्त्रको बिउ त राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र खोसेर काङ्ग्रेसलाई दमन गर्दै कांग्रसको काउण्टरमा दरबारिया दानापानीमा रोयल कम्युनिष्ट उत्पादन गरेर रोपेका थिए । यस्तो दरबारिया षडयन्त्रको चक्रब्यूहमा परेको नेपाली काङ्ग्रेसले त्यही राजतन्त्रसँग देश बचाउन मेलमिलापको हात अघि बढायो ।

काङ्ग्रेस इतिहासदेखि नै मेलमिलापको पक्षमा

नेपाली काङ्ग्रेसले आफ्नो स्थापनाकालदेखि नै क्रान्ति र शान्तिको मार्ग पहिल्याएको पाइन्छ । मध्ययुगिन दाशतापूर्ण जहानीयाँ राणा शासनकालको अन्धकार युगमा जनतामा चेतना भर्ने र समानताका लागि संघर्ष गर्ने कांग्रेसीहरुको त्यो परिवेशको राजनैतिक चेतलाई क्रान्तिकारीहरुको उत्साहपूर्ण बलिदानको रुपमा लिइन्छ । नेपालीलाई रैतीबाट नागरिक बनाउन हतियारबन्द क्रान्ति गरेको नेपाली काङ्ग्रेसले भागेर नेपालस्थित भारतीय दुतावासको शरण हुँदै दिल्ली पुगेका राजा त्रिभुवनको राजगद्दी पुनस्र्थापना र राणाहरुलाई पनि देश छोड्न नपर्ने बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरे स्वदेशमै बस्न दिने नीति अंगिकार ग¥यो । यही नीतिका कारण भारतको दिल्लीमा नेपाली कांग्रेस, तत्कालीन राजा श्री ५ त्रिभुवन र राणाहरुका बीचमा त्रिपक्षीय सम्झता भएपछि नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा गरियो । नेपालमा प्रजातन्त्र आएपछि राजाको समेत प्रतिनिधि रहने गरी तत्कालीन श्री ३ माहराज मोहन शम्सेरको नेतृत्वमा बीपी कोइराला गृहमन्त्री रहेको मन्त्री मण्डल पनि गठन भयो । राणहरुको श्री ३ पदवी खोसियो, राजाले मात्र श्री ५ लेख्न पाउने अधिकार रह्यो । यो घटना पनि क्रान्तिका बीचमै पनि शान्ति र बढी रक्तपात नहोस् भन्नका खातिर एउटा मेलमिलापको नीति थियो । प्रजातन्त्रमा कसैको हार हुँदैन भन्ने एउटा बलियो उदाहरण हो, २००७ सालको त्रिपक्षीय सम्झौता पनि ।



