पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शनलगायतको तयारी भएको स्थानीय सुरेश भट्टराईले जानकारी दिए । वडाध्यक्ष डुरन देवानको संयोजकत्वमा पदयात्राको स्थानीय व्यवस्थापन समितिसमेत गठन गरिसकिएको छ ।
पुस २४ देखि २६ सम्म निसान पदयात्रा हुँदैछ । नेपाल एकीकरणताका तत्कालीन श्रीनाथ पल्टनले पूर्वी सीमा विजय गरेर नागरीगढीमा गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको हो ।
यसरी गाढिएका निसान सुगौली सन्धीपछि फर्काएर ल्याइएको थियो । फर्काएर ल्याउँदा बाटामा छोटो र लामो अवधि राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । नेपाल–भारत पूर्वी सीमा मेचीबजारबाट २४ गते बिहान पदयात्रा शुभारम्भ गरिने पदयात्रा आयोजक समितिले जनाएको छ ।
करिब सय जना सहभागी हुने पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णेडाँडामा त्यस दिन आउने छ । पुस २५ मा पूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिनेछ । उद्घाटनपछि पुनः सुरु भएको पदयात्रा निसान राखिएको अर्को स्थान माइजोगमाईको नामासालिङस्थित हात्तीटार आउनेछ ।
२६ गते बिहान नामसालिङ हात्तीटारबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माइस्थानमा आउनेछ ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन् । निसान पदमार्ग ४१।१ किलोमिटरको छ ।