कैलाली – पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् ।
डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिए ।
‘मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ । नदीमा जलस्तर बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका हुन्’, उनले भने । उनका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन् ।
डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन् ।
उनले भने, ‘भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्दछन् । यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन् ।’
यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका श्रेष्ठले बताए । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने उनको भनाइ छ । ‘यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ’, उनले भने ।


