

वीरगन्ज – वीरगन्ज महानगरपालिका-२८ बगहीमा शुक्रबार दिउँसो ट्याक्टर पल्टिएर दुर्घटना हुँदा दुई किशोरको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बगही गाउँकै पन्ना पटेलका छोरा १७ वर्षीय आकाश पटेल र राजेश पटेलका छोरा अन्दाजी १७ वर्षीय गोलु पटेल रहेका छन्।

दुर्घटनामा वीरगन्ज–२८ मै पर्ने इनर्वा गाँउका अन्दाजी १८/१९ वर्षका जयकुमार मण्डल घाइते भएका छन्। वडाध्यक्ष सुर्युग महतो धानुकका अनुसार भेडाहा खोलाबाट माटो लिएर बगगी गाँउको खेतर्फ जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर शुक्रबार दिउँसो २ बजेतिर अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको हो।



आफैं अनियन्त्रित भइ खसेको ट्याक्टरले च्यापिएर चालक आकाश र उनीसँगै सवार रहेका गोलुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए। घाइते जयकुमारको भने उपचार भइरहेको उनले बताए।
दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले मृतक दुवै किशोर शव मुचुल्का उठाएर पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको तथा घटना बारे अनुसन्धान गरिरहेको भट्टले बताए।

