बिर्तामोड । पूर्वी नेपालको वाणिज्यिक केन्द्र बिर्तामोडमा स्वास्थ्य र पर्यटन क्षेत्रलाई एकीकृत गर्ने महत्त्वाकांक्षी अभियान अन्तर्गत दोस्रो संस्करणको हेल्थ टुरिजम मार्ट हुने भएको छ। कार्यक्रम संयोजक तथा नाट्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष शेखर ढकालका अनुसार, तयारीको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ।

आज (शनिबार) बिर्तामोड स्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रमले स्वास्थ्य सेवा प्रदायकदेखि होटल व्यवसायीसम्मका सहभागीहरूले साझा मंच पाउने छन । उक्त कार्यक्रममा हालसम्म ४८ वटा स्टल बुक भइसकेका छन् भने कूल ५१ वटा स्टल रहनेछन्।

नाट्टा कोशी प्रदेशका महासचिव नविन खरेलका अनुसार, बुक भएका स्टलमध्ये २३ वटा अस्पताल, तीन ल्याब, दुई कलेज, ११ होटल, पाँच होमस्टे, दुई पार्क, एक धार्मिक संस्था र एक एअरलाइन्स कम्पनी सहभागी छन्।

८ लाख रुपैयाँको अनुमानित बजेटमा सम्पन्न हुने यो एकदिने महोत्सवमा अवलोकनकर्तालाई निःशुल्क प्राथमिक उपचार, औषधि वितरण तथा विशेषज्ञ सल्लाह दिइनेछ। त्यस्तै, रक्तदान कार्यक्रम र कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनी पनि विशेष आकर्षण बन्नेछ।
विषयगत छलफल र रणनीतिक सहकार्य
कार्यक्रममा सीमापार स्वास्थ्य पर्यटन र झापाको स्वास्थ्य पर्यटनको सम्भावनालाई लिएर विशेषज्ञबीच प्यानल छलफल हुनेछ। यसले भारत, बंगलादेश, भुटानलगायतका छिमेकी राष्ट्रलाई पूर्वी नेपालमा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने सम्भावनालाई टेवा पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रम संयोजक ढकालका अनुसार, हेल्थ टुरिजम मार्टले अस्पताल, क्लिनिक, आयुर्वेद केन्द्र, ट्राभल एजेन्सी र होटल व्यवसायीबीच सहकार्य र नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको छ। स्थानीय सरकार र निजी क्षेत्रबीच नीति निर्माण र कार्यान्वयनको प्रारम्भिक आधार निर्माण गर्न समेत यस कार्यक्रमले योगदान दिनेछ।
रोजगारी, आम्दानी र दिगो विकासको सम्भावना
मार्टले स्वास्थ्य र पर्यटन क्षेत्रलाई एक अर्काको पूरक बनाउँदै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ। होटल, यातायात, रेस्टुरेन्ट, उपचार केन्द्रलगायत क्षेत्रहरूमा रोजगारी र आय आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
यस कार्यक्रममा सञ्चारकर्मी, योजनाकार, पर्यटन विज्ञ, बिर्तामोड नगरका प्रतिनिधि र स्वास्थ्य तथा पर्यटन क्षेत्रका व्यवसायीहरूको सहभागिता रहने छ।
संस्थागत सहकार्य
नेपाल पर्यटन बोर्डको आयोजना, पर्यटन कार्यालय काँकरभिट्टाको सहआयोजनामा हुने उक्त कार्यक्रम बिर्तामोड नगरपालिका, नाट्टा कोशी प्रदेश, होटल व्यवसायी संघ झापा र पर्यटन पत्रकार मञ्च झापा को सहकार्यमा सम्पन्न हुँदैछ।
कोशी पर्यटन वर्ष मनाइरहेको अवसरमा बिर्तामोडमा आयोजना हुन लागेको हेल्थ टुरिजम मार्ट पूर्वी नेपाललाई ‘हेल्थ टुरिजम हब’ का रूपमा चिनाउने दिशामा महत्त्वपूर्ण बन्ने आयोजकहरूको विश्वास छ।

