Aamsanchar

भोजपुरकाे दावामा खानेपानी पहुँच

Author Image
शनिवार, असार १४, २०८२

भोजपुर – भोजपुर नगरपालिका-४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यहाँ ५० घरमा ‘एक घर-एक धारा’ निर्माण गरेपछि स्थानीयलाई सहज भएको हो।

दावा बजार क्षेत्रमा रहेको पानीको हाहाकारलाई ध्यानमा राख्दै आयोजना निर्माण सम्पन्न भएपछि यहाँको पानीको समस्या हल भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल प्रधानले जानकारी दिए। आयोजना सम्पन्न पश्चात यहाँका ५० घरमा धारा जडान गरेर पानी वितरण भइरहेको उनको भनाइ छ।

‘दावा खानेपानी आयोजना सञ्चालनमा आएको छ”अध्यक्ष प्रधानले भने, ‘यो आयोजनाबाट ५० घरमा पानी जडान गर्न सफल भएका छौँ। अहिले यो क्षेत्रमा पानीको समस्या छैन।’

दावा बजार खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीयको वषौँदेखिको पानीको समस्या अन्त्य भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताए। यहाँ कार्यालयको करिब ६० लाख रुपैयाँ लागतमा आयोजना निर्माण गरिएको प्रमुख ठाकुरको भनाइ छ। यो आयोजनाको मुख्य लाइन चार किलो मिटर र वितरण लाईन ४।५ किलोमिटर रहेको कार्यालयले जनाएको छ।

‘दावा खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ’, प्रमुख ठाकुरले भने, ‘आयोजना सञ्चालन पश्चात यहाँका नागरिकको वषौँदेखिको पानीको समस्या हटेको छ। हामीले यो आयोजनाको थलगत अनुगमन पनि गरेका छौँ।’ पानीको समस्या समाधानको लागि जिल्लाका विभिन्न ठाउँमा खानेपानी आयोजना निर्माणको काम धमाधम भइरहेको प्रमुख ठाकुरको भनाइ छ।

दावा बजार खानेपानी आयोजना सञ्चालनमा आएपछि घण्टौँ लगाएर पानीको जोह गर्नु पर्ने समस्यमाबाट मुक्त भएको स्थानीयबासी लक्ष्मी भण्डारीले बताइन्। आधा रातदेखि लाइनमा बसेर टाढाको धारा, कुवाबाट पानी ल्याउनु पर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ।

Views: 75

प्रतिक्रिया (०)