Aamsanchar

नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दियाे

Author Image
आइतवार, असार १५, २०८२

काठमाडौं – ओपनर प्रसिद्ध जैशीको शतकीय पारीमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कोलालाम्पूरपस्थित सेलाङ्गोर ट्रफ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनायो।

 

नेपालका लागि व्याक्तिगततर्फ ओपनर प्रसिद्ध जैशीले सर्वाधिक १३२ रनको शतकीय पारी खेले। उनले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गरे।

 

प्रसिद्धले रौनक श्रीवास्तवसँग तेस्रो विकेटका लागि १४८ रनको शतकीय साझेदारी गरेका थिए। पहिलो विकेटका लागि ओपनरद्वय प्रसिद्ध र परिमार्जन यादवले १३० रनको शतकीय साझेदारीसहित नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

परिमार्जनले ७१ रनको पारी खेले। रौनक श्रीवास्तवले ८८ र जोए थाथाले ५७ रनको अर्धशतकीय पारी खेले। तीन ब्याटरको अर्धशतक र प्रसिद्धको शतकको साथमा नेपालले बलियो स्कोर बनाएको हो।

नेपालले ४८ ओभरमा ५ विकेट गुमाउँदै ४०० रन पूरा गरेको थियो। त्यसपछिको २ ओभरमा २० रन जोड्यो। सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे।

इन्डोनेसियाका लागि केतुत डर्मा पुत्राले सर्वाधिक २ विकेट लिए। काभिन निरज चड्डा, महेन्द्र युद्ध प्रतामा र रयान रिजाले १–१ विकेट लिए।

समूह ´ए`मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो।

आजको खेलमा नेपालले इन्डोनेसियालाई पराजित गरेको खण्डमा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्नेछ।

नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर