Aamsanchar

´प्रहरी हुँ` भन्दै अपहरण तथा लुटपाट गर्ने पक्राउ

Author Image
सोमवार, असार १६, २०८२

विराटनगर – आफूलाई प्रहरी बताएर अपहरण तथा लुटपाट गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पक्राउ पर्नेमा विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय तासिब अन्सारी छन् ।

घटनामा संलग्न अर्का एकजना फरार रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

प्रहरीका अनुसार, असार ११ गते बिहान ११ः१५ बजेतिर विराटनगर महानगरपालिका–१३ को महतो टोलबाट तीन जनाको समूहले आफूलाई प्रहरी बताएर विक्रमकुमार साहलाई अपहरण गरेका थिए । त्यसपछि उनीहरूले विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेर धम्क्याएर नगद लुटेका थिए ।

पीडित विक्रमका भिनाजु धर्मानन्द साहका अनुसार, विक्रमले सापटी लिएको तीन लाख ६४ हजार रुपैयाँ लिएर घर फर्कंदै थिए । त्यहीबेला अन्सारीसहितको समूहले विक्रमलाई नियन्त्रणमा लिएको थियो । विक्रमलाई पछाडि फर्केर हेरेमा ज्यान मार्ने धम्की दिएर उनीहरू रकम लुटेर भागेका थिए ।

डीएसपी चुडाँलका अनुसार, पक्राउ पर्नेविरुद्ध डाँका मुद्दा चलाउने तयारी गरिएको छ ।

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर