Aamsanchar

सम्पादकीय : वेठी रोपाईंको नाममा राजनीति, परम्पराको सौन्दर्यमा सस्तो प्रदर्शन

Author Image
सोमवार, असार १६, २०८२

नेपाली समाजमा कृषिको महत्व केवल खाद्य उत्पादनमा सीमित छैन, यसले हाम्रो संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई पनि सँगालेर ल्याएको छ। त्यसैको एक जीवित उदाहरण हो — वेठी रोपाईं। सामूहिक श्रम, आपसी सहयोग र आत्मीय सम्बन्धको प्रतीक यस परम्पराले नेपाली कृषिलाई केवल अर्थतन्त्रको विषय बनाइरहेको छैन, सामाजिक समरसताको बलियो जरा पनि बनेको छ। तर अहिले, यस पवित्र परम्परामा राजनीति घुसेको छ — र त्यो चिन्ताको विषय हो।

आजकल वेठी रोपाईंको कार्यक्रम भन्दा बढी “शो“ हुन्छ। खेतमा रोपाईं गर्न होइन, फोटो खिच्न, भाषण गर्न र माला थाप्न मानिसहरू जाने गरेका छन्। आयोजकहरू नौमती बाजा बजारमा घुमाएर संस्कृति देखाए जस्तो गर्छन्, तर रोपाईंका वास्तविक उपकरण — हल, जुवा, घुम, पटाहा, दाते — कार्यक्रम स्थलमै हुँदैनन्। खेतको माटो स्पर्श नगरी परम्परा संरक्षणको भाषण ठोकिने गर्छ। यो शैलीले संस्कृति होइन, दृश्य प्रचार मात्र जन्माइरहेको छ।

यस्ता कार्यक्रममा महिलाहरूको योगदानको न त चर्चा हुन्छ, न त श्रमको सम्मान। जसको घरमा रोपाईं भइरहेको हुन्छ, उनीहरूकै आवाज दबिन्छ। त्यस ठाउँमा नेताहरूको माइक ठूलो हुन्छ, तर किसानको पीडा, श्रमिकको गुनासो र वास्तविकता सानो बनाइन्छ।

वेठी रोपाईं आजको समयको आवश्यकता होइन भन्ने बहस गर्न सकिन्छ। कृषिको यान्त्रिकीकरण भइसकेको छ। तर परम्परा संरक्षणको नाममा गरिने गतिविधि सांस्कृतिक शिक्षा र चेतना जगाउने हुनुपर्छ। पुराना कृषि उपकरणको प्रदर्शन, परम्परागत रोपाईं शैलीको नमूना, र कृषकसँग साक्षात्कार हुने कार्यक्रम बनाउनु पर्छ।

मालाले होइन, माटोले संस्कृति जोगिन्छ। भाषणले होइन, बुझाइले परम्परा बाँच्छ। वेठी रोपाईंको वास्तविक रूप जनतामाझ पु¥याउने हो भने, आयोजकहरूले नाटक होइन, निष्ठा प्रदर्शन गर्नु आवश्यक छ।

नेपाली माटो, संस्कृति र श्रमको सम्मान गर्न हामी सबै गम्भीर बनौं। वेठी रोपाईंको नाममा राजनीति होइन — किसानको पसिना र परम्पराको गहिरो सम्मान गरौं।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर