काठमाडौंँ । गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५ जना वाद्यवादकसहित प्रत्यक्ष रुपमा गीतहरु प्रस्तुत गरिएको थियो । गीतकार संघ नेपालको आयोजनामा भएको ‘गीतकार टेक तामाङ सांगीतिक साँझ –२०८२’मा डेढ दर्जन गायक गायिकाले प्रत्यक्ष रुपमा गाएका थिए । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा भएको सांगीतिक साँझमा स्रोता दर्शकहरुको भीड सम्हाल्न गाह्रो भएको थियो । कार्यक्रममा उपस्थित स्रोता दर्शकको भीडलाई सहज बनाउन हलको ढोकासँगै बाहिर पनि एलइडी राखेर प्रत्यक्ष देखाइएको थियो ।

गीतकार तामाङका रचनामा केन्द्रित रहेर चर्चित गायक गायिकाहरुले प्रस्तुति दिएका थिए । गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरिएको थियो । नेपाल मेरो घर–किरण प्रधान, आमा– शिव परियार, स्वर्ग सुख– डेबिट शंकर, मीठा मीठा बोली–रुपक चौधरी, जित्नेहरुको पनि– सत्यराज आचार्य, आफ्नै धड्कन– स्वरुपराज आचार्य, मन पर्छ–संगीता राना प्रधान, अल्झिरह्यो याद–प्रदीपराज पाण्डे, नजिक यति भएर पनि र जन्मिखेली – कन्काइष्ट राई, तिमी सागर–सञ्जय तुम्रोक र सुमिना लो, तिमीलाई पराईको र अँगालोमा बेरिरहुँ– अन्जु पन्त, मै खुकुरी–सञ्जय तुम्रोक, माथि माथि लेकमा–रेश्मा बमजन, जोर मादलको तालैमा–अस्मिता अधिकारी, स्वर्ग झैं सैलुङ्ग–प्रल्हाद तिमिल्सिना र सुमिना लोले प्रस्तुत गरेका थिए । गायक गायिकाले सांगीतिक प्रस्तुत दिँदै जाँदा दर्शकदीर्घामा वान्समोरको आवाज गुन्जिरहेको थियो । दर्शकहरु गीतसँगै झुमेका थिए ।





गीतकार संघ नेपाल र भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ गीतकार टेक तामाङ सांगीतिक साँझले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको गीतकार तामाङले बताए । उपस्थित स्रोता दर्शकलाई स्वागत गर्दै गीतकार तामाङले औपचारिक रुपमा २०५० सालदेखि सांगीतिक यात्रामा लागेको भए पनि सांगीतिक साँझले पूर्णता दिएको बताएका थिए । ‘मेरो सांगीतिक साँझ मान्यजन, संगीतप्रेमी शुभचिन्तहरुको उपस्थितिले ऐतिहासिक बनेको महसुस गरेको छु’ गीतकार तामाङले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले गीतकार तामाङलाई शुभकामना दिँदै गीतकारको सांगीतिक साँझ ऐतिहासिक बनेको बताए । गीति लेखनमा सक्रिय रहेका तामाङ सुरक्षा सेवामा पनि उत्तिकै नेतृत्वदायी भूमिकामा रहेका कारण पनि गीतहरुले मातृभूमि प्रतिको भाव बोक्न सफल भएको बताए ।
‘टेक तामाङ सांगीतिक साँझ –२०८२ ’ ले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रम व्यवस्थापन समितिका संयोजक बसन्त वित्यासी थापाले बताए । थापाले ‘स्रष्टाहरुको नैतिक, बौद्धिक र प्रतिलिपि अधिकार स्थापित गर्न, सर्जकलाई प्रोत्साहन एवं सम्मान गर्न निरन्तर क्रियाशील रहनुका साथै स्रष्टाहरुलाई उर्जा प्रदान दिन एकल एवं सामूहिक साँझ गर्दै आएको पनि बताए ।
अतिरिक्त प्रहरी महानिरीक्षक समेत रहेका गीतकार टेक तामाङको सांगीतिक साँझमा राजनीतिक, साहित्यिक, सांगीतिक, न्यायिक, व्यवसायिक, शैक्षिक, प्रशासनिक, सुरक्ष निकाय लगायतका क्षेत्रहरुका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा टेक तामाङद्वारा रचित सोल्टिनी र माथि माथि लेकमा गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमलाई आवाजका दुनियाँका साथी दिनेश डिसीले संचालन गरेका थिए भने कार्यक्रम सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।
कार्यक्रमलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नका लागि कार्यक्रम व्यवस्थापन तथा समन्वय समिति पनि गठन गरिएको थियो । गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार बसन्त बित्यासी थापाको संयोजकत्वमा गठन भएको समितिको सदस्यहरमा अशोककुमार राई, सुमन पण्डित ‘बैरागी’ टिका राई (शिव), कन्काइष्ट राई, शशी लुमम्बु, सुशील केसी, अर्जुन बहादुर घलान र गोपालचन्द्र राई रहेका थिए ।
कार्यक्रममा एनस्लेक्स नेपाल, रेन एजुकेशन, देवर्सी एजुकेशन, सिताराम दूध, एमआइ मोबाइल, सिजी मोटर्स, टाइगो इभी, ग्लोबल आइएमई बैंक, सिताश्री ग्याँस, मोडल मल्टिपल कलेज जनकपुर, जिपिएन सेक्युरिटी फोर्स, लुलु इन्टरनेशनल, केबिएन मिटसप, रोयल बी एण्ड बी मिट सेन्टर, मनकामना बेभरेज, सिताशरण होटल जनकपुर, आश्री ज्वेलर्स, एक्टिभ प्रेस लगायतले कार्यक्रमलाई प्रायोजन गरेका थिए ।

