तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा परीक्षणस्वरूप सुरु गरिएको अङ्गुर खेती सफल भएपछि स्थानीय किसानहरूमा उत्साह थपिएको छ । ‘घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टर’ले दुई वर्षदेखि ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुर खेती गर्दै आएको छ ।

सञ्चालक कुमार कार्कीका अनुसार सुरुमा परीक्षणका लागि ल्याइएका ३२ प्रजातिका अङ्गुरमध्ये धेरैजसो प्रजातिले राम्रो उत्पादन दिएका छन् । पहिलो वर्षमा ९ हजार किलो अङ्गुर उत्पादन भएकोमा यस वर्ष उत्पादन दोब्बर हुने अनुमान गरिएको छ । फार्ममा हाल ९ हजार ५ सय बिरुवा रोपिएको छ ।

स्विट्जरल्याण्डबाट आयात, नेपालमै सफल उत्पादन

कार्कीले स्वीट्जरल्याण्डबाट प्रतिविरुवा ७ सयदेखि १ हजार रुपैयाँसम्ममा खरिद गरी ल्याइएको जानकारी दिए । “नेपालमा अङ्गुर खेती सफल हुँदैन भन्ने पुरानो धारणा अब बदलिएको छ”, उनले भने । “मैले पर्यटन क्षेत्रमा काम गर्दै आए पनि अनुसन्धानात्मक रूपमा कृषि क्षेत्रमा लागेर अङ्गुर खेती सुरु गरेको हुँ ।”


तनहुँको फार्मसँगै कार्कीले धादिङको थाँक्रे गाउँपालिका–१० स्थित जुङेखोलामा पनि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा रोपेर १५ वर्षदेखि अङ्गुर खेती गर्दै आएका छन् । हाल धादिङमा ३८ करोड ५० लाख रुपैयाँ लगानीमा वाइन उत्पादनसमेत भइरहेको छ ।
‘पातले बन् वाइनरी’को वाइन बजारमा
कार्कीका अनुसार कम्पनीको वार्षिक वाइन उत्पादन क्षमता तीन लाख लिटर रहेको छ । ‘पातले बन् वाइनरी’ नामक वाइन ब्रान्ड बजारमा ल्याइएको छ । फार्ममा हाल स्थायी रूपमा ४ जना र ज्यालादारी रूपमा २० जनाले रोजगारी पाएका छन् ।
स्थानीय सरकार र विज्ञको उत्साह
घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले सफल परीक्षणपछि अङ्गुर खेतीको विस्तार गर्ने योजना रहेको बताए । “यहाँको हावापानी उपयुक्त भएकाले व्यवसायिक अङ्गुर खेतीबाट किसानको आयस्तरमा उल्लेख्य सुधार ल्याउन सकिन्छ,” अध्यक्ष थापाले भने ।
कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले जिल्लामा पहिलोपटक गरिएको अङ्गुर खेतीले उत्साहजनक परिणाम दिएको बताए । फार्मका प्राविधिक सान्नानी तामाङका अनुसार बिरुवा रोपेको एक वर्षमै फल लाग्ने र फागुनमा फूल फुलिसकेपछि असारमा फल टिप्न सकिनेछ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अङ्गुर फार्मलाई कृषिअनुसन्धान र पर्यटकीय आकर्षणको थलोका रूपमा विकास गर्न सकिने बताए । छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आफूहरूले पनि त्यहाँ अङ्गुर खेतीको सम्भाव्यता अध्ययन गरिरहेको बताए ।

