

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन्।

बिहीवार काठमाडौंमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले जनवादी क्रान्तिको क्रममा मार्क्सवादको प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको बताए।

अहिले समितिको प्रतिवेदनउपर भइरहेको छेडखानी त्यस्तै रहेको जिकिर गरे। निजामती विधेयकमा कुलिङ पिरियडबारे बोल्दै उनले देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो रहेको टिप्पणी गरे।


आफू सरकारमा रहँदा आफू प्रत्येक पटक समाजवादतर्फ नै लैजाने बल गरेको दाबी गरे। अध्यक्ष दाहालले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको दाबी गरे। नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै समाजवादको जग बसाल्न कम्युनिष्टहरूले नै शुरु गर्नुपर्ने बताए।

