Aamsanchar

दाङमा बाघको छाला ओखेटोपहार सहित तीन जना पक्राउ

Author Image
आइतवार, असार २२, २०८२

दाङ । दुर्लभ वन्यजन्तु पाटे बाघको छाला ओखेटोपहारसहित तीन जना व्यक्तिहरु पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा दाङको लमही नगरपालिका क्षेत्रमा वन्यजन्तु छालाको अवैध कारोबार भइरहेको जानकारी पाएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले अनुगमन गर्ने क्रममा गढवा गाउँपालिका–६ स्थित खवरी गाउँमा छापा मारेको हो।

अनुसन्धानका क्रममा बिक्रम बुढामगरको घरमा लुकाइएको अवस्थामा रातो प्लास्टिकको जेब्राझोलाभित्रबाट शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाइ र ३ फिट २ इञ्च चौडाइ भएको पाटे बाघको छाला फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा दाङ राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशव राज सेन ठकुरी, गढवा गाउँपालिका–६ खवरीका ४१ वर्षीय बिक्रम बुढामगर, र बर्दिया बारबर्दिया नगरपालिका–४ पदनाहका ३३ वर्षीय अनिल थारु रहेका छन्।

बरामद गरिएको छालासहित तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

Views: 171

प्रतिक्रिया (०)