

काठमाडौँ – हरिशयनी एकादशीका अवसरमा कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ।

जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत नदी तटमा बिहानैदेखि स्नान गर्नेको मेला लागेको हो। मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रूपमा रहेको मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम पनि राखिएको छ।

त्यसैगरी, पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशको सिसमानामा रहेको शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढाटाढाबाट श्रद्धालु आइपुगेका छन्। मोदीवेणीमा स्नान गर्न पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौँका सङ्ख्यामा श्रद्धालु आउने गर्छन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालु आएका छन्।


मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारका रूपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरेबराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ। हरिशयनी एकादशीका अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकीर्तनसमेत आयोजना गरिएको छ ।
कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन छ ।

