Aamsanchar

बचेका छन् केही सिपालु, तर नयाँ पुस्ता चुपचाप

Author Image
आइतवार, असार २२, २०८२

पोखरा – पोखराका ८० वर्षीय कृष्णप्रसाद अधिकारी जनै बनाउने सीप पछिल्लो पुस्ताले नसिक्दा चिन्ता गर्न थालेका छन्।

उनीसँगै ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै ठाउँमा बसेर नियमपूर्वक जनै बनाउन व्यस्त हुन्छन्।

नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाइन्छ। यो वर्ष जनैपूर्णिमा साउन २४ गते परेको छ।

उनीहरू जनै बाट्न दिउँसो पोखरा महानगर(३२ स्कुलटोलस्थित पुरानो गाउँको चौतारोमा जम्मा हुन्छन्। उनीहरूसँग जनै बनाउन सिक्नका लागि फाट्टफुट्ट अरू पनि आउँछन्। उत्सुकलाई सकेसम्म बुझाउने गरेको ८० वर्षीय अधिकारीले बताए। राम्रोसँग बुझ्न र सिक्न भने समय लाग्ने उहाँको भनाइ छ।

आफूहरूले बनाएका जनै बेच्नेभन्दा पनि आफ्ना घरपरिवारमा वर्षभर चाहिने जनै पुर्‍याउने उनीहरूको लक्ष्य छ। अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन। जनै बनाउन सुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगालिन्छ।

सँगाल्नका लागि कतुवाको प्रयोग हुने बताउँदै उनले काँचो धागो बाटेपछि जनैको डोरा तयार गरिने जानकारी दिए। यसरी बनेका डोरालाई तीनपटकसम्म पट्याएपछि त्यसमा शिखा पारिन्छ। शिखालाई ‘ब्रह्म ग्रन्थि’ भनिन्छ।

नियमपूर्वक बनाएर संस्कार गरिएका जनै मात्रै लगाउनुपर्ने बताउँदै उनले त्यसको आफैँमा विशिष्ट सांस्कृतिक महत्त्व रहेको उल्लेख गरे।

“मेरो नौ वर्षको उमेरमा व्रतबन्ध भएको हो, त्यस यता मैले आफूले बाटेको जनैमात्रै लगाउने गरेको छु”, उनले भने, “बुबाबाट सिकेको जनै सीप १० वर्षको उमेरदेखि आफैँले बनाउँछु।” आफ्ना परिवारका सदस्य एवं वर्षभरि आवश्यक पर्ने जनै आफैँले बाटेर तयार गर्ने गरेको उनको भनाइ छ।

६९ वर्षीय गोविन्द कोइरालाले पनि आफूले सात वर्षमा व्रतबन्ध गरेदेखि आफैँले बाटेर बनाएको जनै लगाउने गरेको बताउँछन्। नियमपूर्वक जनै बनाउन समय लाग्ने बताउँदै उनले दिनमा बढीमा १० जोरसम्म मात्रै बनाउन सकिने बताए। नियम पुर्‍याएर बाटिएका जनैको मूल्य बजारको तुलनामा धेरै पर्ने उनको भनाइ छ। पछिल्ला पुस्ताले जनै बनाउन नजान्दा उनले चिन्ता व्यक्त गरे।

६७ वर्षीय कृष्णराज अधिकारी बाटेर बनाइएका जनै लगाउनु उपयुक्त हुने सुझाव दिन्छन्। हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्दै यसको पुस्तान्तरण आवश्यक रहेको उनले बताए।

विधिपूर्वक बनाई संस्कार गरिएका जनैको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई सीप सिकाउँदै नियमपूर्वक बाटिएका जनै लगाउनुपर्ने बताए।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर