Aamsanchar

१० दिनदेखि सिन्धुलीको सुनकोसीमा गरिएको तालाबन्दी खुल्यो

Author Image
बुधवार, असार २५, २०८२

सिन्धुली –  विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर १० दिनदेखि सिन्धुलीको सुनकोसी गाउँपालिकामा गरिएको तालाबन्दी खोलिएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको समन्वयमा बसेको सर्वपक्षीय बैठकबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा लगाइएको ताला खोलिएको हो ।

सुनकोसी गाउँपालिका–३ मा रहेको प्रगतिशील नमुना माविका प्रअ सरिता चौलागाईंलाई अनियमितता र भुक्तानीको विषयलाई लिएर स्पष्टीकरण सोधेको भन्दै दश दिनअघि सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा तालाबन्दी गरेका थिए । उक्त विषयमा आवश्यक छानबिन गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रतिवेदन तयार पारेर नियमनकारी निकायमा यथाशीघ्र पेस गर्ने गरी सहमति भएको छ ।
उक्त विद्यालयका प्रअ चौलागाईमाथि विद्यालय भवन निर्माण गर्दा भुक्तानी गरिएको रकम हिनामिना गरेको र नियमविपरीत सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा मुद्दा दर्ता भएको थियो ।

सोही विषयलाई लिएर गाउँपालिकामा समेत तीनवटा उजुरी परेपछि प्रअ चौलागाईंमाथि के कसो भएको हो भन्दै गाउँपालिकाको शिक्षासम्बन्धी कार्यविधि २०७५ को (पहिलो संशोधन २०८०) अनुसार स्पष्टीकरण सोधेको थियो । सोही विषयलाई लिएर गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइरालासहितले लगाएको तालाबन्दी खोल्ने र आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिइन् । तालाबन्दी खुलेसँगै गाउँपालिकाको सेवाप्रवाह नियमित रूपमा सूचारु भएको छ ।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर