Aamsanchar

लम्पी स्किनबाट झापामा १० हजारभन्दा बढी गाईगोरु सङ्क्रमित

Author Image
बिहिवार, असार २६, २०८२

झापा – लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्र झापामा १० हजारभन्दा बढी गाईगोरु सङ्क्रमित भएका छन्।

केही महिनायता संक्रमित १४२ गाईगोरु मरिसकेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ। हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ।

जिल्लामा सबैभन्दा बढी यो रोगको सङ्क्रमण मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकामा देखापरेको उनले बताए। उनले गर्मी बढेसँगै लम्पी स्कीन रोगको सङ्क्रमण फैलिरहेको बताए। “यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ”, उनले भने, “रोग नियन्त्रणका लागि किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ।”

उनले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीबाट ७७ हजार ५ सयवटा खोप जिल्लामा आएको बताए। यो रोग लागेका गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा पानी बग्ने र पाक्ने गर्दछ।

केन्द्रकी प्रमुख भट्टराईले विगतमा खोप लगाएका गाईगोरुमा सो समस्या नदेखिएको बताइन्। उनले चालू आर्थिक वर्ष २०८१।० ८२ मा गाईभैँसीमा देखिने बाँझोपन निवारणका लागि जिल्लाका ७२ वटा फार्ममा पुगेर अवलोकन गरी एकीकृत शिविर सञ्चालन गरेको बताइन्।

यसैगरी सोही अवधिमा प्राकृतिक विपद्बाट पशुधनमा भएको क्षतिका १३ निवेदन आएको उनले बताइन्। सोही निवेदनका आधारमा कार्यालयले रु। ६ हजारदेखि ७८ हजारसम्म राहत दिँदै आएको उनले जानकारी दिइन्।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर