Aamsanchar

हिमाली गाउँमा समावेशी शिक्षा : दुई सय विद्यार्थीका लागि निःशुल्क आवास

Author Image
बिहिवार, असार २६, २०८२

ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–१ मा रहेको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा विज्ञानदेखि कानुनसम्मका विषय निःशुल्क पढाउने भएको छ । प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमका अनुसार यहाँ विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन विषयको पढाइ हुन्छ ।

एक सय छात्र र एक सय छात्रा गरी दुई सय विद्यार्थीले बस्ने सुविधा पनि निःशुल्क पाउने गौतमले बताए । विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रवास भवन छन् । विद्यार्थीलाई निःशुल्क पढाउन हिमाली छात्रबासका नाममा संघीय सरकारले २० जनालाई सहयोग गर्छ । गाउँपालिकाले पनि निःशुल्क शिक्षाका लागि केही रकम छुट्याएर सहयोग गर्दै आएको छ ।

‘पहिला टीका गुरुङ अध्यक्ष हुँदा सबै विद्यार्थीको शुल्क गाउँपालिकाले दिन्थ्यो,’ सिनाम माविका शिक्षक तुलसी पोख्रेलले भने, ‘पछिल्ला वर्ष गाउँपालिकाले शिक्षा क्षेत्रका लागि जम्मा १० लाख छुट्याएको छ, सबै विद्यालयलाई वितरण गर्दा हाम्रोमा पनि केही रकम आइपुग्छ ।’ गाउँपालिकाबाट प्राप्त रकम विद्यालयको शुल्क अनुसारचाहिँ नभएको विद्यालयले जनाएको छ ।

यहाँ तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ र आईएसईएजी विषयको पनि पढाइ हुन्छ । एसईईमा नन ग्रेडिङ ल्याउनेका लागि १८ महिने सिभिल इन्जिनियरिङ र कृषितर्फ जेटीएको पढाइ हुँदै आएको छ । सिभिल इन्जिनियरिङ र आईएससीएजीका लागि पनि प्रतिसेमेस्टर १२ हजार ५ सय मात्रै शुल्क रहेको विद्यालयले जनाएको छ ।

जेटीए पढ्नका लागि १५ हजार रुपैयाँ भए पुग्छ । प्रधानाध्यापक गौतमका अनुसार विद्यालयमा विज्ञान, गणित, अंग्रेजीका विषयगत शिक्षकको पूरा दरबन्दी भएको र प्राविधिक विषय पढाउने शिक्षक विद्यालयमै राख्दा ११ र १२ निःशुल्क पढाउन सकिएको हो ।

भएका शिक्षकलाई अतिरिक्त रकम दिएर विद्यालयले पढाइमा प्रयोग गर्दै आएको छ । संघीय सरकारले यसलाई नमुना विद्यालय घोषणा गरेको छ । यसले विज्ञानका लागि लाइब्रेरी, भवन लगायतको सहयोग पुगेको छ ।

छात्रवास र विद्यालय भवनका लागि भारतीय दूतावास र गाउँपालिकाले सहयोग गरेका छन् । हिमाली छात्रबासमा छनोट भएका २० जनाले चाहिँ खाना पनि निःशुल्क पाउने गौतमले बताए । बाँकी विद्यार्थीले खाने मात्रै व्यवस्थापन गरे शुल्क तिर्नु पर्दैन ।

 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रतिनिधिसभाकी सांसद उर्मिला थेवे छन् । प्रधानाध्यापक गौतम नेपाल शिक्षक संगठनको कोशी प्रदेश अध्यक्ष तथा शिक्षक महासंघ ताप्लेजुङको जिला अध्यक्ष हुन् ।

यहाँ पढ्नका लागि कोशी प्रदेशको ओखलढुंगा बाहेकका सबै जिल्ला तथा मधेश प्रदेशबाट समेत ठूलो संख्यामा विद्यार्थी पढ्न आएका छन् । छिमेकी देश भारतको सिक्किमबाट समेत विद्यार्थी यहाँ भर्ना भएका छन् ।

यहाँ स्नातक तहसम्म अध्ययन हुन्छ । छात्रवास हुनुभन्दा अघिसम्म पनि यहाँका गाउँलेले विद्यार्थीलाई बस्न निःशुल्क कोठा दिने गरेका थिए । निःशुल्क कोठाका लागि गाउँलेले सामूहिक निर्णय नै गरेका थिए ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर