Aamsanchar

कोशी प्रदेशमा हाल सम्म २९ प्रतिशत मात्र धान रोपाइँ

Author Image
शुक्रवार, असार २७, २०८२

विराटनगर –  अन्नको उर्वरभूमि मानिने कोशी प्रदेशमा असारको तेस्रो सातासम्म २९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । वर्षाको अभावमा प्रदेश भरीमा असार २२ गतेसम्म २९ प्रतिशत मात्र धान मात्र रोपाइँ भएको हो ।

प्रदेशमा सबैभन्दा बढी मध्यपहाडको जिल्लामा ४१ दशमलव ८७ प्रतिशत रोपाइँ भएको छ । तराईको जिल्लामा २५ दशमलव ५४ प्रतिशत र उच्च पहाडमा २५ दशमलव २५ प्रतिशत धान रोपाइँ भएको छ ।

 

कृषि विकास निर्देशनालय विराटनगर कोशीका अनुसार गत वर्षको असार २२ गतेसम्म ३४ दशमलव ४३ प्रतिशत धान रोपाइँ भएको थियो । मध्यपहाडमा धान खेती हुने ६७ हजार ७ सय १७ क्षेत्रफलमध्ये ४१ दशमलव ८७ प्रतिशत धान रोपाइँ भएको हो । मध्यपहाडमा २८ हजार ३ सय ५१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशीका बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार तराईका तीन जिल्लामा १ लाख ९३ हजार २ सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ४९ हजार ३ सय ६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । जुन धान खेती हुने क्षेत्रफलको २५ दशमलव ५४ प्रतिशत हो ।

 

उच्च पहाडमा २५ दशमलव ५० प्रतिशत धान रोपाइँ भएको छ । १५ हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ९ सय २२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । उच्च पहाडी जिल्लाको सोलुखुम्बुमा २६ दशमलव ९३ प्रतिशत धान रोपाइएको भएको छ । ताप्लेजुङमा ५ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमा धान खेतिहुँदै आएकोमा २९ दशमलव ४३ प्रतिशत धान रोपाइँ भएको छ ।

संखुवासभामा १ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै आएकोमा २४ प्रतिशत धान रोपाइँ भएको छ । त्यसैगरी मध्यपहाडी जिल्ला ओखलढुंगामा ३ हजार ८ सय ३ हेक्टर क्षेत्रफलमध्ये ४२ दशमलव ८८ प्रतिशत धान रोपाइ्ँ भएको हो ।
भोजपुरमा १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै आएकोमा हालसम्म ५८ प्रतिशत धान रोपाइँ भएको छ । धनकुटामा ४ हजार ९ सय ३८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म १७ प्रतिशत, तेह्रथुममा ६ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमध्ये ३३ प्रतिशत, उदयपुरमा १३ हजार ३ सय ८० हेक्टरमध्ये ३१ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै खोटाङमा १० हजार १८ हेक्टर मध्ये ५७ प्रतिशत रोपाइँ सम्पन भएको छ ।

पाचँथरमा ५ हजार ८ सय ४९ हेक्टर क्षेत्रफलमध्ये ५९ प्रतिशत, इलाममा ११ हजार ६२ हेक्टर क्षेत्रफलमध्ये ३० प्रतिशत धान रोपाइँ भएको छ । झापामा २१ प्रतिशत धान रोपाइँ भएको छ । झापामा ७५ हजार ४ सय ५९ हेक्टर क्षेत्रफलमध्ये १५ हजार ८ सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । मोरंगमा ३१ दशमलव ५० प्रतिशत धान रोपाइँ भएको छ । मोरंगमा ६९ हजार ८ सय १७ हेक्टरमध्ये २१ हजार ९ सय ९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । सुनसरी भने २४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सुनसरीमा ४८ हजार ९ हेक्टर मध्ये ११ हजार ५ सय २२ हेक्टरमा धान रोपाइँ भएको हो ।

मलको चरम अभाव
उत्पादनमा सबैभन्दा अब्बल रहेको कोशी प्रदेशमा धान खेतीका लागि चाहिने रासायनिक मलको चरम अभाव भएको छ । धान खेतीका लागि चाहिने रासायनिक मल डीएपीको लागि नेपाल सरकार र कृषि सामग्री कम्पनी लिमिटेडले गरेको व्यवस्थाअनुसार सप्लायर्सले उपलब्ध नगराउँदा चासो नै दिएको छैन ।

धानखेतीको लागि चाहिने डीएपी किसानलाई चाहिएको बेला सप्लायर्सले उपलब्ध नगराउँदा किसानले मल पाउन नसकेको विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख नरेशकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा रासायनिक मल बढी बिक्री वितरण गरे पनि अहिले अभाव भएको हो ।

गत आर्थिक वर्षमा युरिया ११ हजार ३ सय ४२ टन, डीएपी ८ हजार ९२ टन, र पोटास ८ सय १ टन विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बिक्री वितरण गरेकोमा चालु आर्थिक वर्षमा १३ हजार ७ सय १ टन युरिया, १० हजार ८ सय १९ टन डीएपी र ११ सय ७८ टन पोटास विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बिक्री वितरण गरेको छ । ‘गत वर्ष मुख्य सिजनमा पर्याप्त डीएपी थियो’, प्रमुख सापकोटाले भने, ‘ तर यस पटक गत वर्षभन्दा बढी बिक्री वितरण गरे पनि मुख्य सिजनमा डीएपी आएन ।’ असार भित्र ६ हजार टन मल आउनुपर्नेमा सप्लायर्सले मात्रै २२ सय टन डीएपी उपलब्ध गराएको उनले बताए ।

तत्काल डीएपी आउने सम्भावना नरहेको बताउँदै उनले भने, ‘ साउनको दोस्रो वा तेस्रो हप्ता आउने भन्नेबारे पनि अन्योलता नै रहेको छ ।’ यद्यपि युरिया किसानको लागि चाहिने बेला नै आउने सम्भावना रहेको बताए । साउनमा १२ हजार टन आउने उनले जानकारी दिए । निर्धारित गरेको असारमा आउने मलसहित साउनको मल एकै पटक आउने सम्भावना रहेको उनको भनाइ थियो ।

किसान मकै खेतीतिर केन्द्रित भएकाले अत्यधिक मल मकै खेतीमा प्रयोग गरेको बताइएको छ । काबुभित्रको मलको समस्या विभिन्न परिस्थितिले बाहिर गएको प्रादेशिक प्रमुखले दाबी गरे । अन्तर्राष्ट्रिय बजारबाट आउने मल विभिन्न देशहरूमा भइरहेको युद्धका कारण पनि आउन नसकेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत मलको मुल्य अहिले अकासिएको बताइएको छ । सो कार्यालयले कोशी प्रदेशसहित मधेस प्रदेशका सिराहाको लहान र सप्तरीको राजविराजस्थित रहेको कार्यालयलाई निर्धारण गरेको कोटाअनुसार रासायनिक उपलब्ध गराउँदै आएको छ ।

विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयकाले पहाडको तेह्रथुम, भोजपुर र संखुवासभासहित मोरङलाई रासायनिक मल बिक्री वितरण गर्ने गरेको छ । प्रदेश मल वितरण व्यवस्थापन समितिद्वारा निर्धारित कोटासम्बन्धी स्थानीय तहले बिक्रेतालाई गरेको सिफारिसको आधारमा बिक्री वितरण गर्ने गरेको उनले बताए । स्थानीय तहले विगतको बिक्री, खेती योग्य भूमिको बाली सघनताका आधारमा कोटा निर्धारण गरेर सिफारिस गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।

धान खेतीका लागि प्रदेशमा अनुमानित करिब ३० हजार टन रासायनिक मलको आवश्यकता हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले इलाम, बिर्तामोड, सुनसरीको इटहरी, धनकुटा, गाईघाट, विराटनगरसहित मधेस प्रदेशको राजविराज,
लाहानसहित ६ स्थानमा रहेको कम्पनीको कार्यालयले ८ सय वटा सहकारी मार्फत रासायनिक मल किसानलाई बिक्री वितरण गरिँदै आएको बताइएको छ । सरकारले ०५५ सालदेखि किसानलाई मलमा अनुदान दिँदै आएको छ ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर