

झापा । लामो समयदेखि लागूऔषधको कालो धन्दाबाट अकूत सम्पत्ति आर्जन गरेका झापा बिर्तामोडका भानुभक्त खरेलमाथि अब सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून पनि लागू हुन सक्ने देखिएको छ ।
तर प्रश्न उभिएको छ— यति गम्भीर प्रकरणमा प्रहरीले अझै किन स्पष्ट कारबाही प्रक्रिया थाल्न सकेको छैन ?

कसरी बन्यो अपराधबाट समृद्धिको साम्राज्य ?
खरेलले वर्षौंदेखि लागूपदार्थको कारोबार गर्दै आएकै आधारमा आफ्नो आर्थिक जालो विस्तार गरेका छन्। स्रोत अनुसार, लागूपदार्थबाट कमाइएको पैसा मार्फत उनले बिर्तामोड र आसपासमाः बहुमूल्य घर–जग्गा खरिद गरेका छन्, महँगा गाडी चलाएका छन्, व्यापार र निर्माणमा लगानी गरेका छन्, र ‘सफा’ देखिने धनसम्पत्तिको भित्री जरा ‘कालो कारोबार’ हो भन्ने स्थानीय स्तरमा खुलेर चर्चा हुँदै आएको छ ।
तर खरेल मात्र होइन, यस्ता नशा व्यापारीहरू अब “समाज सुधारक” को रूप धारण गर्दै राजनीतिक र सामाजिक तहसम्म पुग्न थालेका छन्।
कानुन छ, तर लागू छैन — किन?
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ स्पष्ट भन्छ — “जो–कोहीले लागूऔषध, हतियार तस्करी, भ्रष्टाचार, अपहरण, हुण्डी जस्ता गैरकानुनी बाटोबाट आर्जन गरेको सम्पत्तिमाथि जफत, छानबिन र सजाय हुने छ ।” यसअघि यस्ता कसुरमा सम्पत्ति शुद्धीकरण विभागले मात्र मुद्दा चलाउँथ्यो। तर कानुन संशोधन भइसकेको छ — अब प्रहरी स्वयंले अनुसन्धान गर्न, फाइल तयार गर्न, र जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सक्छ ।
प्रहरी उच्च स्रोतको भनाइ अनुसार, इलाका प्रहरी कार्यालय अनारमनीसँग खरेलविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अगाडि बढाउने अधिकार छ ।

किन मुद्दा दर्ता गरिएको छैन?
किन मुख्य अभियुक्त फरार हुँदा पनि सम्पत्ति जफत प्रक्रिया थालिएको छैन? भन्ने प्रश्न आमसंचारले इलाका प्रहरी कार्यालय अनामनीका प्रमुख डिएसपी विजय श्रेष्ठलाई प्रश्न गर्दा अनुसन्धान भईरहेको जवाफ दिएका छन ।
कामदार पक्राउ — तर मालिकलाई संरक्षण ?
हालसम्म प्रहरीद्वारा ठूलो परिमाणमा लागूपदार्थसहित खरेलका कामदार सार्वजनिक गरिएका छन्। तर मुख्य कारोबारी — खरेल अझै फरार छन्।
यो के हो? — कारबाहीको नाममा ’शो’ मात्र? कानुनको प्रयोग साना माछाका लागि मात्र? समाजको आक्रोश छ । सामाजिक अगुवाहरु भन्छन् अब चुप लागेर बसिन्न, भानुभक्त खरेलजस्ता लागूऔषध कारोबारीले न केवल कानून तोडिरहेका छन्, उनीहरूलेः सयौं युवालाई नशाको दलदलमा धकेलेका छन्, सयौं घरपरिवार बर्बाद पारिदिएका छन्, र नाफाको लालचमा समाजको मेरुदण्ड तोडिदिएका छन्।
तर तिनै अपराधी खुलेआम समाजमा प्रभाव जमाइरहेका छन् भने, यो कानूनमाथिको अपमान हो।
अब जनस्तरबाट कडा आवाज उठ्दैछ— “खरेलजस्ता डनमाथि सम्पत्ति शुद्धीकरण ऐन अनुसार हदैसम्मको कारबाही होस भनेर माग उठिरहेको छ ।
नेपाल औषधि व्यवसायी संघ झापाले विज्ञप्ति मार्फत खरेललाई कनुन दायरामा ल्याउनु पर्ने माग राखेको छ । व्यवसाय गर्दा आफ्नो पेसाको मर्यादा, व्यसायको नैतिकता र सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै औषधि ऐन २०३५ को विपरित हुनेगरी कार्यनगर्न सबै औषधि व्यसायीहरुलाई सचेत गरिएको छ । संघ का अध्यक्ष जीवन खड्काले भने ‘आरोपित खरेल उपर सुस्मरुपमा छानविन र अनुसान्धान गरेर प्रहरीले आफ्नो कर्तव्य निवाह गर्नु पर्ने हुन्छ ।’
‘प्रशासन अबपनि गम्भिर नभए, प्रश्नहरू अझै उठिरहनेछन् खरेलमाथि सम्पत्ति शुद्धीकरण मुद्दा प्रक्रिया अघि बढाउनु पर्ने भन्दै सम्पत्ति कहिले जफत हुन्छ ? प्रहरी किन अझै निष्क्रिय देखिन्छ? कसले संरक्षण गरिरहेको छ यस्तो डनलाई ?’ अध्यक्ष खड्काले भने ।
सम्पत्ति शुद्धीकरणको कानून किताबमै सीमित रहने कि अपराधीलाई साँच्चिकै थिच्ने हतियार बन्ने ?अब निर्णयको घडी प्रहरी प्रशासनसामु छ ।

