

काठमाडौँ — नेपालस्थित पाकिस्तान दूतावासले ७९औं पाकिस्तान स्वतन्त्रता दिवसको अवसरमा दूतावास प्रांगणमा झण्डा फहराउने समारोह आयोजना गर्यो। पाकिस्तानका राजदूत महामहिम अब्रार ए. हाश्मीले नेपाली मित्रहरू, यहाँको पाकिस्तानी समुदायका सदस्यहरू तथा दूतावासका अधिकारी र परिवारको उपस्थितिमा राष्ट्रिय झण्डा फहराए।

यस वर्षको उत्सव “मरका-ए-हक” मा पाकिस्तानको हालैको सैन्य तथा कूटनीतिक विजयको भावना मिसिएको थियो। पाकिस्तानका शीर्ष नेताहरूका सन्देशमा सन् १९४७ मा राष्ट्र निर्माणमा भएको साहस, एकता र बलिदानको स्मरण गर्दै विगत ७८ वर्षमा चुनौतीहरू पार गरेको दृढताको प्रशंसा गरिएको थियो।


राष्ट्रपति महामहिम आसिफ अली जरदारीले राष्ट्रपिता मोहम्मद अली जिन्ना र पाकिस्तान आन्दोलनका कार्यकर्ताहरूको बलिदानको स्मरण गर्दै राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न एकताको आह्वान गर्नुभयो। प्रधानमन्त्री महामहिम मोहम्मद शाहबाज शरीफले विपरीत परिस्थितिमा पनि अर्थतन्त्र, खेलकुद, रक्षा र प्रविधिमा हासिल भएका उपलब्धिहरूको प्रशंसा गर्नुभयो। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महामहिम मोहम्मद इसहाक दारले “मरका-ए-हक” मा पाकिस्तानको सिद्धान्तपरक भूमिकाको प्रशंसा गर्दै काश्मीर मुद्दाप्रतिको दृढ समर्थन दोहोर्याउनुभयो।


समारोहमा सम्बोधन गर्दै राजदूत हाश्मीले राष्ट्रका अग्रजहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै मुलुकको रक्षा गर्नेमा पाकिस्तानी सेनाको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले शान्ति, समृद्धि र एकताप्रति पाकिस्तानको प्रतिबद्धता दोहोर्याउनुभयो। कार्यक्रम अन्त्यमा स्वतन्त्रता र ‘आजादी’को रक्षा गर्न जीवन अर्पण गरेका सहिदहरूको आत्माको चीरशान्तिको लागि विशेष प्रार्थना गरिएको थियो।

