काठमाडौं ।

जेनजी आन्दोलनको नाममा सुरु भएको प्रदर्शन पछिल्लो चरणमा अराजकतामा बदलिएको छ । विरोधका क्रममा केही समूहले नेपाल प्रहरीका कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका छन् । सुरक्षा स्रोतका अनुसार, राजधानीसहितका शहरी क्षेत्रमा रहेका प्रहरी कार्यालयहरूमा व्यापक क्षति पुगेको छ ।

प्रहरी कार्यालय खरानी

प्रहरीका एक वरिष्ठ अधिकारीका भनाइमा, हाल धेरै प्रहरी कार्यालयमा न त पोसाक बाँकी छ, न त हतियार, वाकीटकी वा गस्ती सवारीसाधन । मुद्दाका मिसिल र आवश्यक कागजात पनि जलाइएका छन् ।
“अब प्रहरीसँग बाँकी छ भने एउटै कुरा हो—फेरि उठ्नुपर्ने अठोट,” उनले भने ।


मनोबल गुम्नु ठूलो क्षति
सुरक्षा अधिकारीहरूका अनुसार, भौतिक सम्पत्ति नष्ट भए पनि त्यसलाई पुनः व्यवस्थापन गर्न सकिन्छ । तर प्रहरीको मनोबल खस्किनु नै सबैभन्दा ठूलो चुनौती हो । उनीहरूका भनाइमा, यस्ता आक्रमणले प्रहरी मात्र नभई नागरिक सुरक्षामै गम्भीर असर पारेको छ ।
पद जिम्मेवारी हो, व्यक्ति होइन
अधिकारीहरूले स्पष्ट पारेका छन्, “पद वा जिम्मेवारी कुनै व्यक्तिको सम्पत्ति होइन, यो नागरिक सेवाका लागि हो । व्यक्ति खराब हुन सक्छ, तर संस्थागत पहिचानलाई दोष दिन मिल्दैन ।”
यसरी आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरूलाई आन्दोलनकारी नभई दुष्कर्मीको रूपमा कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
सर्वसाधारण त्रसित
कान्तिपुर चोकमा पसल चलाउने एक व्यापारी भन्छन्, “आन्दोलनको नाममा सडकमा उत्रिएका व्यक्तिले प्रहरीलाई मात्र होइन, हामी व्यवसायीलाई समेत असुरक्षित बनाइदिएका छन् । भोलि हाम्रो सुरक्षा कसले गर्ने ?”
त्यस्तै, सिंहदरबार नजिक बसोबास गर्ने एक सर्वसाधारणले भने, “राज्यका संवेदनशील संरचना जलेर खरानी हुँदा हामीले सुरक्षा हराएको महसुस गरेका छौं ।”
सरकारको तयारी
गृह मन्त्रालयले यस्ता गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्ने जनाएको छ । मन्त्रालयका अनुसार प्रभावित प्रहरी कार्यालयहरूको पुनर्निर्माण, सुरक्षाकर्मीलाई आवश्यक उपकरण आपूर्ति र मनोबल उच्च राख्ने गरी विशेष योजना तयार हुँदैछ ।
जेनजी आन्दोलनको नाममा फैलिएको अराजकताले राज्यका संरचना मात्र नभई सुरक्षा संयन्त्रको आधारलाई चुनौती दिएको छ । खरानी बनेका कार्यालय र ध्वस्त भवनहरू अहिले सुरक्षा पुनःस्थापनाको कठोर परीक्षा बनेका छन् ।

