Aamsanchar

झापा : जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका लागि कोरियामा रहेका नेपालीको आर्थिक सहयोग

Author Image
शनिवार, असोज ११, २०८२

झापा । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा झापामा सहिद भएका परिवार र घाइतेहरूको उपचार तथा सहायताका लागि कोरियामा रहेका नेपालीहरूले मानवीय सहयोग सुरु गरेका छन् ।
कोरियामा क्रियाशील एमआरआर कोरिया टिम को अगुवाइमा नेपाली समुदायले संकलन गरेको सहयोग रकम नेपालमा रहेका सदस्य तथा सामाजिक अभियन्तामार्फत प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ । अभियान संयोजक शरद जोशीका अनुसार, यो पहल कुनै औपचारिक दायित्व होइन, पीडामा परेकाहरूलाई हात थाप्ने मानवीय जिम्मेवारीका रुपमा गरिएको हो ।

पहिलो चरणको सहयोग
झापा जिल्लामा पहिलो चरणमा १ जना सहिद परिवार र ९ जना घाइतेलाई कुल ३ लाख २० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
सहिद दिनेश राजबंशीको परिवारलाई – रु ५०,०००
८ जना घाइतेलाई – जनही रु ३०,०००
सुमित शाहलाई – रु २०,०००

सहयोग पाउने घाइतेहरूमा कनकाईका सुशन रणपहेँली र रिजन दाहाल, सूर्योदयका राजेश पोर्तेल, दमकका सुरेश खड्का, झापा गाउँपालिकाका मस्ताकिन मियाँ, हल्दिवारीका अनिश श्रेष्ठ, बिर्तामोड–५ का सुनिल तामाङ र अर्जुनधारा कप्तानवारीका विवेक दनुवार रहेका छन् ।

अभियानको निरन्तरता
एमआरआर कोरिया टिमका सदस्य विपिन आचार्यका अनुसार दशैंपछि दोस्रो चरणमा अन्य घाइतेहरूको अवस्था अध्ययन गरी थप सहयोग वितरण गरिनेछ । गम्भीर प्रकृतिका घाइतेलाई विशेष प्राथमिकताका साथ सहयोग पुर्याइने पनि उनले जानकारी दिए ।

सामाजिक अभियन्ताको भूमिका
सहयोग रकम वितरणमा बिर्तामोड–५ का शरद जोशी, कमल–५ का विपिन आचार्य र दमक–४ का दिवाकर गुरुङ सक्रिय रूपमा संलग्न छन् । उनीहरूले सहयोगलाई पारदर्शी, निष्पक्ष र प्रत्यक्ष प्रभावितसम्म पुग्ने सुनिश्चितता दिलाउने प्रतिबद्धता जनाएका छन् ।

जेनजी आन्दोलनका क्रममा झापामा तीनजनाको ज्यान गएको र सयभन्दा बढी घाइते भएको घटनापछि कोरियामा रहेका नेपालीहरूले देखाएको सेवाभावले परदेशमा रहे पनि मातृभूमि र आफ्ना दाजुभाइ–दिदीबहिनीप्रति आत्मीयता गहिरो रहेको प्रमाणित गरेको छ ।

Views: 186

प्रतिक्रिया (०)